३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छन्द कविताको मानकीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — छन्द कविता स्तरोन्नति, संरक्षणका साथै नयाँ प्रतिभा प्रोत्साहन गर्न अभियान घोषणा गरिएको छ ।

छन्द कविताको मानकीकरण

राजधानीका थापागाउँस्थित लेखन कुञ्जमा छन्द कविद्धय रामप्रसाद ज्ञवाली र देवी नेपालले ‘छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मूर्त रूप दिँदै’ मानकीकरण अभियान घोषणा गरेका हुन् । अभियानअन्तर्गत हरेक महिना तीन कवि प्रस्तुत गर्ने गरी ‘छन्द तरंग’ मासिक सिर्जना वाचन शृंखला सुरु गर्ने बताइएको छ ।

छन्द अभियन्ता नेपालले अभियानको वार्षिक योजना नै सार्वजनिक गरे । उनले छन्द कविताको जागरणमुखी परम्परा प्रस्तुत गर्दै मानकीकरणका लागि हरेक महिना स्तरीय कविता सम्प्रेषण गर्दै जाने, वार्षिक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कारसमेत प्रदान गर्ने बताए । अर्का अभियन्ता ज्ञवालीले आफूहरूले सुरु गरको अभियानले औपचारिक उचाइ प्राप्त गरेको र नयाँ पुस्तासमेत छन्द जागरण अभियानमा समर्पित हुन थालेको दाबी गरे ।

अभियानको प्रशंसा गर्दै प्रा.राजेन्द्र सुवेदीले संस्कृतपछि नेपाली भाषा मात्र शास्त्रीय छन्दको एक मात्र उत्ताराधिकारी रहेको’ दाबी गरे । नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको आधुनिक नेपाली कविताको प्रतिनिधि संग्रहमा छन्द कविहरूले सम्मान जनक स्थान नपाउनु दु:खद रहेको बताइन् । कवि रमेश खकुुरेलले छन्द कवितालाई सबै उमेर समूहमा पुर्‍याउने र यसको महत्त्वबोध गराउन अभियान सार्थक हुने दाबी गरे । कार्यक्रममा कोषराज न्यौपाने, हेमचन्द्र नेपाल, शैलेन्दुप्रकाश नेपालले छन्द कविताको मानकीकरण अभियानको प्रशंसा गरे । ‘छन्द तरंग’ शृंखलाको थालनी भने १५३ औं मोती जयन्तीका सन्दर्भमा भदौ २२ गते नेपाल, ज्ञवाली र प्रभा भट्टराईका कविताबाट कुञ्ज थिएटरबाट गरिने बताइएको छ ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?