यायोक्खाद्वारा सर्जकहरु पुरस्कृत
काठमाडौँ — किरात राई यायोक्खाले राजधानीमा मंगलबार पत्रकार, संगीतकार र लेखकहरूलाई पुरस्कृत गरेको छ ।
पत्रकार जनकऋषि राईलाई २७ हजार रुपैयाँ रहेको धनकेशर अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार, पत्रकार रीता राराहाङलाई ८ हजार रुपैयाँ रहेको दुर्गादेवी–मोहनसिंह भाषिक पत्रकारिता पुरस्कार प्रदान गरियो ।
अनुसन्धाता डा. खगेन्द्रबहादुर राईले मदनश्वरी राई स्मृति पुरस्कार, चाम्लिङ भाषाका लेखक विजय बलम्तालीले छत्रविष्णु राई कृति सम्मान र गायक/संगीतकार राजुएन राईले किराया संगीत पुरस्कार पाए । यी पुरस्कार जनही १५ हजार रुपैयाँका हुन् । रोजिना राई र संकल्प राईलाई ज्योति केसी अपांगता छात्रवृत्ति दिइयो ।
यायोक्खा महासचिव जीवन हाताचो राईका अनुसार, १८ वटा फरक अक्षयकोषबाट विधागत रूपमा प्रतिभालाई पुरस्कृत तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । ‘यो वर्ष ३ लाख २१ हजार ५ सय रुपैयाँका पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्यौँ,’ उनले भने । त्यस अवसरमा किरात राई सांस्कृतिक कलाकार संघका कलाकारले गीत गाए भने खेलाडी किरण राईले गिनिज बुक अफ वल्र्ड रेकर्डका निम्ति ‘खुकुरी नाच’ प्रदर्शन गरे ।
प्रकाशित : श्रावण २३, २०७५ ०७:२६