सांकेतिक भाषा सिक्न राजधानी

गणेश राई

काठमाडौँ — गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’

Yamaha

साङ्गले बहिरा समुदायको समस्या उजागर गर्ने र दोभाषेको भूमिका निर्वाह गर्ने अवसरका रूपमा सांकेतिक भाषालाई लिएका छन् भने बहिराले आफ्नै क्षमता विकासका निम्ति सांकेतिक भाषा सिक्ने गरेका छन् ।
रिसाल स्वयं बहिरा हुन् तर प्रशिक्षार्थीमध्ये धेरैजना साङ्ग थिए ।

वनस्थलीकी सीता पौड्याल सात वर्षीया छोरी कान नसुन्ने भएकाले उनीसँग कुराकानी गर्न सांकेतिक भाषा सिकेको बताउँछिन् । ‘नानीसित कुराकानी गर्ने र उसको समस्या बुझेर अघि बढाउन सांकेतिक भाषा सिक्दै छु,’ उनले भनिन् ।

भोटेबहालकी १९ वर्षीया दृष्टि सिंहले बुबा (देवेन्द्रमान सिंह) बहिरा भएकाले सांकेतिक भाषा सिकेको बताउँछिन् । ‘मैले सांकेतिक भाषा सिक्नु बुबालाई सहयोग गर्नु हो,’ भर्खरै कक्षा १२ उत्तीर्ण गरेर बीबीए पढ्ने तयारीमा रहेकी उनले भनिन्, ‘मेरी ठूली आमाले बहिरा महिला सिर्जनशील संस्था सञ्चालन गर्नुभएकाले त्यहाँ दोभाषेको काम पनि गर्छु ।’

बालुवाटारकी शान्ति महर्जन दाजु र भाउजूसँग सहज रूपमा कुराकानी गर्न सांकेतिक भाषा सिकेको सुनाउँछिन् । ‘हामीले बहिरा होस्टल चलाएका छौं, त्यहाँ पनि सहयोग गर्दै आएको छु,’ उनले भनिन् ।

रसुवाका रेशम लामा भर्खरै राजधानी झरेर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएका छन् । उनी कान कम सुन्छन् । ‘पछि समस्या होला भनेर अहिलेदेखि सांकेतिक भाषा सिक्दै छु,’ उनले भने ।

रुकुमको मुसिकोट नगरपालिका–१० स्थित प्रभात मावि, दोपाइका शिक्षक खडगबहादुर विक बर्खे बिदामा सांकेतिक भाषा सिक्न राजधानी आइपुगेका छन् । उनी कान कम सुन्छन् । चार वर्षदेखि निजी स्रोतबाट पढाउँदै आएका उनले सांकेतिक भाषा नजान्दा समस्या परेको बताए । ‘अरूलाई पनि सांकेतिक भाषा सिकाउने लक्ष्यसहित सिक्न आएको हुँ,’ उनले भने ।
पर्वतबाट आएकी लक्ष्मी शर्मा पनि कान सुन्दिनन् । उनी भर्खरै नक्सालस्थित बहिरा माविमा कक्षा ११ मा भर्ना भएकी छन् । भाषा प्रभावकारी बनाउन प्रशिक्षणमा सहभागी भएको उनी बताउँछिन् ।

सिन्धुपाल्चोककी तुलसी बजगाईं कक्षा १२ की छात्रा हुन् । सांकेतिक भाषा जानेपछि आफ्नै ठाउँमा फर्केर बहिरा संस्थामार्फत अरूलाई प्रशिक्षण दिने उनको योजना छ ।

नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका अध्यक्ष दीपेन्द्र रुम्दाली राईले भर्खरै सांकेतिक भाषा प्रशिक्षणको ६ महिने कोर्स पूरा गरेका छन् । ‘सहर बजारका बहिराले दोस्रो श्रेणीको नीलो अपाङ्गता परिचयपत्र पाउँछन्,×’ बहिरा व्यक्तिको समस्या उठान गर्न सांकेतिक भाषा जान्नैपर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘परिचयपत्रका आधारमा मासिक ६ सय रुपैयाँ सुविधा पनि लिन्छन् । तर गाउँघरमा बहिराले पाउने सुविधाबारे कुनै जानकारी छैन । उनीहरूकै हक–अधिकारको विषय उठान गर्न सांकेतिक भाषा सिकेको हुँ ।’

साङ्गले बहिरा समुदायको समस्या उजागर गर्ने र दोभाषेको भूमिका निर्वाह गर्ने अवसरका रूपमा सांकेतिक भाषालाई लिएका छन् भने बहिराले आफ्नै क्षमता विकासका निम्ति सांकेतिक भाषा सिक्ने गरेका छन् । २०४५ सालमा स्थापित काठमाडौं बहिरा संघ देशकै एक मात्र नियमित सांकेतिक भाषा प्रशिक्षण दिने संस्था हो । संघले ६/६ महिनाको सांकेतिक भाषा प्रशिक्षण दिने गरेको अध्यक्ष सत्यदेवी वाग्लेले बताइन् ।

पढ्नका निम्ति साङ्गले ६ महिनाको ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यसबापत संघले सांकेतिक भाषा पढाइसँगै जाँच पास गरेमा प्रमाणपत्रसमेत दिन्छ । त्यसले दोभाषेको योग्यता प्रमाणित गर्छ । बहिरा प्रशिक्षार्थीले भने ६ महिनाको एकमुष्ट ३ हजार तिर्नुपर्छ, नसक्नेले नि:शुल्क प्रशिक्षण लिन्छन् ।

‘बजेट अक्षरमै सीमित’
सरकारले यस वर्ष बहिरा समुदाय र सांकेतिक भाषालाई पहिलोपटक बजेट वक्तव्यमा सम्बोधन गरेको छ । तर, बजेट भने छुट्याएको छैन । बजेटको ४३ औं बुँदामा छ, ‘नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान, दोभाषे तालिम र यसको व्यावसायिक विकासलाई प्रोत्साहित गरिनेछ ।’ राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारी आयोगको सिफारिसलाई लिएर बजेटमा सम्बोधन गरिए पनि रकम विनियोजन नगरिएको बताउँछन् । ‘अर्थमन्त्रीले बजेट वक्तव्यको ४३ औं बुँदामा हामीलाई सम्बोधन गरेकोमा खुसी छौं,’ उनले भने, ‘तर अक्षरमा आयो, अंकमा बजेट आएन ।’

महासंघले नेपाली सांकेतिक भाषा अनुसन्धान केन्द्र र दोभाषे तालिम केन्द्र स्थापना हुनुपर्ने माग राख्दै आएको छ । ‘सरकारले हाम्रा माग सम्बोधन गर्नुपर्छ,’ दोभाषे सानु खिमबाजामार्फत अध्यक्ष अधिकारीले भने । ७ सय ५३ वटै स्थानीय सरकारले एक जना दोभाषे व्यवस्था गर्न सके सांकेतिक भाषा प्रवद्र्धन र बहिरा समुदायको मानवअधिकार संरक्षण हुने महासंघ अध्यक्ष अधिकारी बताउँछन् ।

Esewa Pasal

प्रकाशित : श्रावण २४, २०७५ १९:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पूर्वबाट बज्यो बाँसुरी

किराती वाम्बुले राई रस्तीबस्तीमा साउन १५ देखि बाँसुरी/मुरली बजाउने चलनले पुनर्जीवन पाउँदै 
गणेश राई

ललितपुर — साउन १५ लाग्यो कि मोतीलाल राई आफ्नो जमाना सम्झिएर भावुक भइदिन्छन् । उनका कानमा बाँसुरी र मुरलीका ती धुनहरू गुन्जन थाल्छन्, जसलाई उनले त्यो थलो र उमेरसँगै छोड्दै गए ।

पूर्वी पहाड, खास गरी दूधकोसी र सुनकोसी गढतीरआसपासका किराती वाम्बुले राई रस्तीबस्तीमा यो दिनदेखि बाँसुरी बजाउने चलन रहेको सुनाउँदै उनी भन्छन्, ‘हाम्रो पालामा गाई, बाख्राको गोठालो गर्दै एकान्तमा बाँसुरी, मुरली र बिनायो खिप्ने चलन थियो ।‘साउन १५ देखि पाखापर्वत गुन्जाएर बाँसुरी बजाउने परम्परा थियो, तर अब नयाँ पुस्तामा त्यस्तो झल्को पाउन छाडिएको छ ।’


एकाध वर्षयता चन्द्रमामा चाँदीको घेरा देखिन थालेको छ ।


यो लोकपरम्परा पुस्तान्तरण हुन नसक्ने देखिएपछि वाम्बुले राई समाज, नेपाल (वाम्रास) ले ‘बाँसुरी दिवस’ घोषणासहित निरन्तता दिँदै आएको छ । मंगलबार समाजले ललितपुरको महालक्ष्मी–१, इमाडोल नयाँ बस्तीमा दोस्रो पटक बाँसुरी दिवस मनायो । बडाजित राई, जीवन राई र विकास राई (सौगात) ले राम्दले, चाम्दो, लौलौ भाकामा बाँसुरी बजाए । मोतीलाल र विष्णु माइला राईले मादल बजाएर साथ दिए । उता ओखलढुंगाको हिलेपानी भञ्ज्याङ र उदयपुरको कटारी बजारमा सामूहिक बाँसुरी बजाएर दिवस मनाइएको वाम्रास अध्यक्ष गजुरधन राईले जनाए ।


‘हाम्रो परम्परा, लोकसंस्कृति पुस्तौंपुस्तासम्म निरन्तर रूपमा हस्तान्तर, पुस्तान्तरण गर्ने काम गौरवपूर्ण छ,’ अध्यक्ष राईले भने, ‘विकट गाउँमा जन्मेहुर्केका हामी मातृभाषाबाहेक नेपाली भाषा बोल्न नजानेर डोकोमुनि लुकेर बस्ने समुदायका मानिस हौं । अब पुर्खाको नासो सबै मिलेर जगेर्ना गर्नुपर्छ भनेर अघि बढेका हौं ।’


कार्यक्रममा वाम्बुले भाषाका कोशकार अविनाथ राईले बाँसुरी लोकसंस्कृतिबारे अध्ययन, अनुसन्धान र दस्तावेजीकरण महत्त्वपूर्ण हुने बताए । पूर्व इन्स्पेक्टर भुवनसिंह राईले संस्कृतिले समाजलाई चलायमान राख्ने बताए ।


त्यसैगरी, किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष जनक राईले पुर्खाले कृषि कर्म गर्दा बाजागाजा बजाउँदा समय खेर जाने भएकाले धान रोपाइँपछि मात्र बजाउन मिल्ने मान्यताको सिर्जना गरेको बताए । ‘मनोरञ्जन गर्ने परम्परा बाँसुरी परम्परा हो,’ उनले भने, ‘बर्खा मासमा काम गर्नुपर्छ भनेर असार–साउनमा काम गर्न नदिने पुर्खाले परम्परा बसाए । यसको संरक्षणमा जुट्नु सराहनीय छ ।’


लोकमान्यता
किरात समुदायमा सांस्कृतिक मौलिक बाजा ढोल, झ्याम्टा, चमर, सिकिरी आदि हुन् । मनोरञ्जनका साधनमा बाँसुरी, मुरली पर्छन् । किरात राई जातिभित्र २८ भाषा बोल्ने समुदाय छन् । तथ्यांकअनुसार, वाम्बुले (ओम्बुले) भाषा बोल्नेहरू १३ हजार ४ सय ७० जना छन् । युवा संस्कृतिकर्मी बडाजित राईका अनुसार, वाम्बुले राई समुदायमा साउने संक्रान्तिदेखि दुई साता भगवान् गुफा बस्छन् भन्ने मान्यता छ ।


‘त्यतिखेर नङ काट्न, कपाल काट्न हुँदैन,’ उनले सुनाए, ‘महिलाले कपाल कोरेमा भुइँमा नझारी घरको छानोमा सिउरिने चलन छ । ठूलो स्वरले कराउन हुँदैन । ठूलो आवाज आउन कुनै बाजागाजा बजाएर होहल्ला गर्न हुँदैन, देउता रिसाउँछन् भन्ने मान्यता छ ।’ त्यस अवधिमा मादललगायत बाजागाजा केही बजाइँदैनन् ।


साउन १५ लागेपछि कालोमैलो, अँध्यारो हट्छ भनिन्छ । त्यस दिनदेखि किराती वाम्बुले समुदायमा उल्लास छाउँछ । तन्नेरीले निगालो र मालिंगोको टुप्पोलाई बाँसुरी, मुरली खिप्ने र दार काठको ठेडी हालेर बजाउने गर्छन् । अँगेनोमाथि ध्वाँसे बलोमा या खोल्मो छानोमा सिउरिएर जतनसाथ राखेका बाँसुरी, मुरलीले यो दिनउता काम पाएझैँ हुन्छ । एकल वा जोर मुरलीमा घन्किन थाल्छ :
बास्दै हयामु उङ ल्वाङ्मे
नाठोचे लिम्साक उङ ब्लाङ्मे...
(बस है फुपू म गएँ
अर्को साल फर्केर आउँला)
‘हाम्रो परम्परालाई ब्युँताउने प्रयास जारी छ,’ सिंगापुर पुलिस फोर्सबाट अवकाशप्राप्त मोतीलाल भन्छन् ।

प्रकाशित : श्रावण १६, २०७५ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT