कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विमान अपहरण बारे दुर्गा सुवेदीको आत्मकथा सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा ०३० सालकाे विमान अपहरणबारे अनुभूति सार्वजनिक गरेका छन् । उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’ मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु छन् ।

विमान अपहरण बारे दुर्गा सुवेदीको आत्मकथा सार्वजनिक

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन् । पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्‌याउन राष्ट्रबैंकको ३० लाख भारतीय रुपैया लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए । त्यसवापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेल जीवन बिताएका सुवेदी तत्कालीन माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्राधारसमेत बनेका थिए ।

'बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा– मसँग पैसा थिएन अनि हवाइजहाज अपहरणको विचार आयो । म विस्तारमा भनुँ कि नभनुँ ? अहिले छोडिदिऊ, अब मान्छे पनि आइसके’ लेखेका थिए,' सुवेदीले भने, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु ।’


एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन् । कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् । साथै आफ्नी पत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले ल्याएकाे प्रस्ताव बारे पनि पुस्तकमा वर्णन गरिएकाे छ ।

‘विमान विद्रोह’ को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो । ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकालले भनिन्, ‘यो पुस्तकले पाठकहरुलाई इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ ।’

प्रकाशित : श्रावण २५, २०७५ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?