कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चार स्रष्टालाई अक्षरमार्ग

कान्तिपुर संवाददाता

काठमाडौँ — अक्षरमार्ग साहित्यिक त्रैमासिकले शनिबार विभिन्न चार स्रष्टालाई सम्मान गर्‍यो । वरिष्ठ साहित्यकार तथा फिल्मकर्मी यादव खरेल, वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान, साहित्यकार तथा समालोचक ज्ञानु पाण्डे र साहित्यकार भीमप्रसाद काफ्ले सम्मानित भए ।

चार स्रष्टालाई अक्षरमार्ग

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती सम्मान हस्तान्तरण गरे । कार्यक्रममा अक्षरमार्गको यादव खरेल विशेष अंकको पनि सार्वजनिक गरियो । कुलपति उप्रेतीले नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा अक्षरमार्गले खेलेको भूमिका उल्लेखनीय रहेको दाबी गर्दै स्रष्टालाई सम्मान गर्नु आफैंमा सकारात्मक रहेको बताए ।

साहित्यकार तुलसी भट्टराईले साहित्यबाट समाजलाई उज्यालो दिशा दिने काममा स्रष्टाको योगदान रहँदै आएको बताए । सम्मानित स्रष्टाको तर्फबाट बोल्दै बरिष्ठ साहित्यकार तथा फिल्मकर्मी खरेलले स्रष्टाको सिर्जना समाजका लागि हुनुपर्ने र त्यस्ता सिर्जना युगौंसम्म अमर रहने दाबी गरे ।

साहित्यकार मोहन दुवाल, श्रीओम श्रेष्ठ रोदन, वियोगी बुढाथोकी, बलराम अधिकारीलगायतले समाज र साहित्यबारे प्रकाश पारे । कार्यक्रममा खरेलद्वारा रचित ‘अनि एउटा लहर बिउँझन्छ’ कविता संग्रहको दोस्रो संस्करण र गीति एल्बम ‘लग्यो पछयौरी’ र ‘हराएका गीतहरू–२’ पनि लोकार्पण गरियो । त्यस्तै कवि सूर्य लाकोजूको १७ औं कृति ‘शाश्वत स्वरहरू’ मुक्तक संग्रहको पनि लोकार्पण गरियो । कृतिहरूमाथि रमेश पौडेल र रामसुन्दर देउजाले टिप्पणी गरेका थिए ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?