चार चेलीका गजल
चितवन — गजल मञ्च चितवनले दुई वर्षदेखि युवा गजलकारहरूलाई अगाडि सार्दै आएको छ । त्यसको चौथो शृंखलामा शनिबार चार चेली मञ्चस्थ थिए । इन्दिरा अधिकारी, मिथिला प्याकुरेल, ऋतु सुवेदी र सिरु सिलवालले पालैपालो गजल सुनाएर दर्शकश्रोताहरूलाई मुग्ध पारे ।
अर्कै रहेछ तिम्रो दिलमा, शंकै छैन
म परेछु तपसिलमा, शंकै छैन...
इन्दिराले यस्तो रोमान्टिक गजलमार्फत सुरुआत गरेको वाचनमा मिथिलाले पनि प्रेमरसकै शेर सुनाइन् । ऋतु लय हाल्दै थिइन्–
वजनको त्यति धेरै घमन्ड गरिहाल्नुपर्दैन
आखिर ढुंगालाई आफ्नै वजनले डुबाइदिन्छ...
सिरुको सिर्जनाले पनि प्रशंसा पायो ।
एक समय निकै फस्टाएको चितवनको गजल माहोल बीचमा केही सुस्ताएको थियो । ‘हामीले गजलको गुणस्तर विकासमा जोड दिँदै समय मिलाएर गजल सुनाउने शृंखला सुरु गरेका हौं,’ मञ्च अध्यक्ष प्रभाकर पण्डितले भने ।