आर्थिक नगरीमा साहित्य महोत्सव

भुषण यादव

वीरगन्ज — आर्थिक नगरीमा नेपाल–भारत साहित्य महोत्सव सुरु भएको छ । दुईदिने महोत्सवको प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले आइतबार उद्घाटन गरे ।

आर्थिक नगरीमा साहित्य महोत्सव

मुख्यमन्त्री राउतले साहित्यक महोत्सवले दुई देशको सम्बन्ध झन् प्रगाढ बनाउने विश्वास लिएको बताए । ‘साहित्यको कुनै सीमा हुँदैन,’ मुख्यमन्त्रीले भने, ‘साहित्यबिना जीवन अधुरो छ । साहित्यमार्फत समाजलाई नयाँ दिशातर्फ मोड्न सकिन्छ ।’


नेपालमै धेरै विद्वान् साहित्यकार जन्मिए पनि भाषाका कारण अन्तर्राष्ट्रिय ख्याति नपाएको उल्लेख गर्दै उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा विस्तार गर्नुपर्नेमा जोड दिए ।


भारतको उत्तराखण्डका सहित्यकार योगेन्द्र शर्माले महोत्सवले साहित्य, संस्कृति, धर्म, समाज, राष्ट्रियता जोड्ने काम गरेको सुनाए । उनले अतिथिहरूलाई गृहनगर हरिद्वारबाट ल्याएको गंगाजल दिएका थिए ।


पहिलो दिन वरिष्ठ साहित्यकार धु्रवचन्द्र गौतम र भारतीय सहित्यकार शर्मालाई विशेष सम्मान प्रदान गरियो ।


कार्यक्रमका संयोजक गणेश लाठले वीरगन्ज आन्दोलन र बन्दको सहर मात्र नभई यहाँ साहित्यक महोत्सव पनि हुन सक्छ भनी देखाउन महोत्सव गरिएको खुलाए । काठमाडौंलगायत पोखरा, नेपालगन्ज, काँकडभिट्टा जस्ता सहरमा साहित्य महोत्सवको आयोजना भए पनि वीरगन्जमा हुन सकेको थिएन ।


‘पछिल्लो एक दशकमा भएका विभिन्न आन्दोलनले वीरगन्ज मृत सहर बन्ने पो हो कि भन्ने त्रास थियो,’ उद्योगी एवं लेखक लाठले भने, वीरगन्ज मरेको छैन, जीवितै छ भन्ने सन्देश दिएका छौं ।’


महोत्सव अध्यक्ष अशोक वैद्यले दुई देशका साहित्यकारलाई जमघट गराउने उद्देश्यले महत्सव गरिएको जनाए । महोत्सवमा नेपाल र भारतका २ सय ५० साहित्यकार सहभागी छन् ।

प्रकाशित : श्रावण २८, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?