१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विख्यात शब्दशिल्पीको अवसान

कान्तिपुर संवाददाता

काठमाडौँ — मेरा बुबातिरका मान्छेहरूका बारेमा मलाई त्यत्ति थाहा छैन । यति थाहा छ, मेरा बुबाहरू नेपालबाट आएका हुन् ।’

विख्यात शब्दशिल्पीको अवसान

सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार जितेपछि भीएस (विद्याधर सुरजप्रसाद) नाइपलले ‘दुई विश्व’ शीर्षक आफ्नो मन्तव्यका क्रममा नेपालसँगको साइनो जोडदै भनेका थिए, ‘एक नेपालीलाई मेरो नाम मन परेर नेपाल–भारतका जात र कुलबारेमा लेखिएको एउटा पुस्तकका केही अंश पठाइदिएका थिए । त्यसमा बनारसमा बस्ने केही नेपालीले नाइपल लेख्न थालेको उल्लेख छ । मेरा बारेमा मसँग भएको जानकारी यति नै हो ।’


नेपालसँग साइनो रहेका उनै विख्यात शब्दशिल्पीको शनिबार लन्डनमा निधन भएको छ । उनी ८५ वर्षका थिए ।


पछिल्लो समय पत्नी नादिरासँग लन्डनस्थित निवासमा बस्दै आएका नाइपलको निधनको खबर परिवारले दिए पनि कारण भने खुलिसकेको छैन । पहिली पत्नीको निधनपछि सन् १९९६ मा उनले नादिरासँग विवाह गरेका थिए ।


नाइपलका हजुरबुबाहरू भारतबाट आप्रवासी भई क्यारेबियन मुलुक ट्रिनिडाड पुगेका थिए । नाइपलका बुबा सीपर्साद त्यहाँ अंग्रेजीभाषी पत्रिकामा लेख्ने गर्थे । छात्रवृत्ति पाएर अक्सफोर्ड पढदै गर्दा साहित्यतर्फ झुकाव बढाएका नाइपलले आफू लेखक बन्नुमा बुबाको प्रेरणा रहेको उल्लेख गर्ने गरेका थिए । विचारोत्तेजक लेखनमा कहलिएका नाइपल भन्थे, ‘यदि कुनै लेखकले कसैसँग शत्रुता पैदा गर्दैन भने माने हुन्छ, ऊ मृत हो ।’


हास्यव्यंग्यका साथै नियात्रा विधामा अति इमानदार लेखकका रूपमा ख्याति कमाएका नाइपल आफ्ना पाठकका लागि विषयवस्तु बढाइचढाइ नगरी ठेट र प्रस्ट शैलीमा दिनुपर्छ भन्थे । यही मान्यता अनुसारको लेखाइले उनको लेखन करिअरलाई उचाइ दिलाउँदै गयो ।


केही समय बीबीसीको एउटा साप्ताहिक कार्यक्रम सञ्चालनसमेत गरेका नाइपल इस्लाम धर्मका कटु आलोचक थिए । अफ्रिकी मुलुकमा व्याप्त भ्रष्टाचार र गरिबीबारे कलम चलाउँथे । लेखनका कारण उनी जति प्रसिद्ध थिए, उति नै आलोचित पनि थिए ।


कलेज अध्ययनका क्रममा गरिबी, एक्लोपना र अनिश्चित भविष्यका कारण नाइपल कैयौं चोटि डिप्रेसनमा परेका थिए । त्यसताका आत्महत्याको प्रयाससमेत गरेका उनै नाइपल पछि ‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ जस्ता उपन्यासबाट विश्वप्रसिद्ध भए । उनले सन् १९७१ मा बुकर प्राइज जितेका थिए ।


‘सर विद्या’ का नामले समेत परिचित उनको पहिलो पुस्तक ‘द मिस्टिक मैसर’ सन् १९५१ मा प्रकाशित भएको थियो । ५३ वर्षे लेखन करिअरमा उनका १५ आख्यानसहित ३१ पुस्तक छापिए । सन् २०१० मा प्रकाशित ‘द मस्क्यु अफ अफ्रिका’ उनको अन्तिम प्रकाशित पुस्तक बन्न पुग्यो ।


समकालीन साहित्यकारहरू उनलाई अंग्रेजी गद्यका जादूयी शिल्पकारका रूपमा सम्झिइने बताउँछन् । टर्कीका आख्यानकार ओर्हान पामुकले भनेका छन्, ‘नाइपलले लेखनमा सधैं तेस्रो विश्वका मान्छेको प्रतिनिधित्व गरे । तर कहिल्यै गुलियो पारेर लेखेनन्, बरु तिनीहरूका दानवीय चरित्र, गलत काम र सन्त्रासबारे लेखे, जसले तिनलाई अझ मानवीय बनाइरहन मद्दत गर्‍यो ।’


भीएस नाइपलका केही उत्कृष्ट कृति
-अ हाउस अफ मिस्टर विश्वास
-इन अ फ्री स्टेट
-अ बेन्ड इन द रिभर
-दी एनिग्मा अफ अराइभल

प्रकाशित : श्रावण २८, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?