१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कविता सुनाउन पुर्ख्याैली थलो

‘नेपाल आउने अवसर जुरेपछि कुदिहाल्छु । जुन मज्जा पुख्र्यौली थलोमा आउँदाको हुन्छ, त्यो शब्दमा बयान गर्न सकिँदैन ।’
शंकर आचार्य

पर्सा — सेतै दाह्री । भादगाउँले टोपी । ५६ वर्षे विनोद खनाल कविता सुनाएर श्रोताहरूलाई जुरुकजुरुक पारे ।
पूर्वी भारतको असम राज्यको पन्त बिहाली, विश्वनाथबाट कविता कोसेलीसहित पुख्र्यौली थलो आएका खनाल वीरगन्जमा जारी नेपाल–भारत साहित्य महोत्सवमा आइतबार साँझ जोसिलो सुनिँदै थिए ।

कविता सुनाउन पुर्ख्याैली थलो

पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल छिरेका उनले भने, ‘वीरगन्जको नाम त धेरै सुनेको हुँ, तर पहिलो पटक पाइला पनि टेकियो । यहाँ नेपालका मूर्धन्य साहित्यकारहरूसँग भेटघाट र चिनजान भयो । कविता त एउटा बहाना पो हो !’

उनका अनुसार, उनका पुर्खा सय वर्षभन्दा अगाडि नेपालबाट असम बसाइँ गएका थिए । नेपालमा पुख्र्यौली गाउँ कता हो भन्ने उनलाई पत्तो छैन । ‘नेपाल आउने अवसर जुरेपछि कुदिहाल्छु,’ उनले भने, ‘जुन मज्जा पुख्र्यौली थलोमा आउँदाको हुन्छ, त्यो शब्दमा बयान गर्न सकिँदैन । सबै आफ्ना र आफन्तझैं लाग्छन्, यो अनुभूतिले छुट्टै आनन्द र सन्तुष्टि दिन्छ ।’

उनको परिचय साहित्यकारका रूपमा मात्र सीमित छैन । उनी कलाकार, नाट्य निर्देशक पनि हुन् । नेपालकै प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाचघरमा उनले पटकपटक घुमन्ते नाटक टोली ‘लालीगुराँस’ लाई ल्याएर नाटक मञ्चन पनि गर्न भ्याए । उनले असममा आफ्नो गृहनगरमै २ हजार ८ सयभन्दा बढी नेपाली मौलिक वस्तुको संग्रहालय बनाएका छन्, जसमा पृथ्वीनारायण शाहको पालादेखिका सिक्का, नेपाली काठका कलात्मक सामग्री, गरगहनादेखि बाजागाजा आदि थुप्रै नेपालीपन बोकेका वस्तु संगृहीत छन् ।

भारतकै प्रसिद्ध काजिरंगा नेसनल पार्कमा सञ्चालित काजिरंगा अर्किड पार्कको हर्ताकर्ता पनि उनै छन् अहिले । ‘अर्किड पार्कमा हाम्रो समूहले ६ सय प्रकारका सुनाखरी संरक्षण गरेर राखेको छ,’ उनले भने ।
खनालकै टोलीमा अर्का जोसिला साहित्यकार ५१ वर्षीय विष्णु भण्डारी थिए । अरुणाचलको इटानगरदेखि महोत्सवमा आएका भण्डारीले आइतबार साँझै प्रस्तुति दिए । नेपाली जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति, पहिचान बोकेर बाँचेको सन्देश दिने उनको अभिव्यक्ति पनि निकै सारगर्भित थियो । पेसाले प्लस टुका अंग्रेजी विषयका शिक्षक उनले अरुणाचलमै बसेर नेपाली, हिन्दी र असमिया गरी तीन भाषामा राष्ट्रवाद, धर्म, संस्कृति, राष्ट्रप्रेम आदि विषयमा डेढ दर्जन पुस्तक लेखिसकेका छन् ।

अवसर जुरे पटकपटक नेपाल आइरहने भण्डारीलाई यस पटक भने नेपालकै तराई मधेसको भूमिमा आउँदा केही फरकपन अनुभव भएछ । झन्डै सय वर्षभन्दा अघि नेपालबाट आफ्ना पुर्खाहरू असम गएको बताउने भण्डारीले नेपाल आएपछि प्राय: काठमाडौं जाने गरेका रहेछन् । यस पटक उनले नेपालको विविधता देख्न पाए । ‘यस पटक नेपालको तराईको समथर फाँट र हरियाली पनि हेर्न पाइयो,’ उनले भने, ‘वीरगन्ज नेपालको आर्थिक मेरुदण्ड नै रहेछ । निकै रमाइलो भयो यहाँ ।’

भारतीय नेपालीभाषी कविहरूको यो टोलीका कान्छा सदस्य थिए ४० वर्षीय सागर सापकोटा । असमको बालिजोडी शोणितपुरका बासिन्दा सापकोटाले पहिलो पटक नेपाली भूमिमा पाइला टेकेका हुन् । त्यस कारण पनि उनी अलि बढी उत्साहित देखिन्थे । उनका हजुरबुवा अग्निप्रसाद सापकोटा तेह्रथुमबाट बसाइँ सरेर असम पुगेका रहेछन् । असममै जन्मेहुर्केर जीवनको आधा समय बिताइसकेका सापकोटालाई आफ्नो पुख्र्यौली थलोमा पाइलो हाल्ने उत्कट इच्छा रहेछ । तर समूहमा यात्रा गरेकाले एक्लै हिँड्न सकेनन् उनी ।

‘यस पटक तेह्रथुप पुग्न सकिएन,’ उनले भने, ‘अर्को पटक तेह्रथुम गन्तव्य बनाएरै नेपाल आउँछु ।’

असममा चिया र धानखेती गर्ने उनी पनि नेपाली र हिन्दी दुवै भाषामा कविता रच्छन् । ‘जुठो गिलासदेखि कलमसम्म’ समेत गरी उनका दुइटा कविता संग्रह प्रकाशित छन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?