कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कथा आआफ्नै

काठमाडौँ — उपाधिले स्रष्टालाई परिचित मात्रै गराउँदैन, उनको कृतित्व र व्यक्तित्वलाई समेत थप उचाइमा पुर्‍याइदिन्छ । तर २०६० सालमा नेपालगन्जमा आख्यानकार धु्रवचन्द्र गौतमलाई ‘आख्यान पुरुष’ को उपाधि पाउँदा भने मन परेको थिएन रे ।

कथा आआफ्नै

त्यति बेला ‘आख्यान पुरुष’ कै विषयमा उनीमाथि धेरैले व्यंग्य पनि हाने । ‘एक मनले उपाधि नै त्यागिदिउँजस्तो लागेको थियो,’ उनले भने, ‘तर त्यसो गरिनँ ।’ राजधानीमा शनिबार आह्वान समूहले पुराना र नयाँ पुस्ताका स्रष्टालाई एकै थलोमा उतार्ने ध्येयसाथ गरेको ‘अनुभव र अनूभूति’ आख्यानकार गौतमले उपाधिबारे यसरी भित्री कुरा खोले ।

कार्यक्रममा उनले आफ्नो जीवनको विभिन्न पाटा उजागर गरे । सुरुमा उनी गायक बन्ने ध्याउन्नमा थिए । वीरगन्जमा जन्मीहुर्केका उनले सुरुवाती समय कविता लेखे पनि भविष्यमा चाहिँ गायक नै बन्ने सपना पाले । ‘एसएलसी दिने बेला एउटा प्रेमगीत लेखेर गाएको पनि थिएँ । साथीभाइले आफ्नै घटना लेख्यौ कि भनेर जिस्काए पनि’, उनले भने ।

कार्यक्रममा धु्रवचन्द्रसँगै कवि तोया गुरुङ र कथाकार भागीरथी श्रेष्ठले समेत आफ्ना अनुभूतिहरू सुनाए । कवि तोयाले पञ्चायतको बेलामा आफ्ना कविता सेन्सर गर्ने कोसिस गरेको, प्रहरीसामु हाजिर हुने उर्दी आएको जस्ता प्रसंगहरू सुनाइन् । ‘मेरो पति श्रीलंकामा काम गर्नुहुन्थ्यो । उहाँसँगै जाँदा त्यहाँ तामिल र सिङ्घालीहरूबीच भएको गृहयुद्धको भयावह स्थिति देखेर मैले ‘सूर्यदह’ कविता लेखेँ । तर छापिनुभन्दा पहिले अञ्चलाधीशले बोलाएर ‘सूर्यदह किन लेखेको ?’ भनेर अनेक प्रश्न गर्न थाले,’ उनले भनिन्, ‘त्यतिखेर मैले श्रीलंकामा भएको जस्तो युद्ध नेपालमा नहोस्, शान्ति कायम रहोस् भनेर कृति निकाल्न खोजेको भन्दै स्पष्टीकरण दिनुपर्‍यो । दुई साता अञ्चलाधीशकोमा राखेपछि कविता सूर्यदह छापियो ।’ त्यस्तै २०३४ पुस १ गते रेडियो नेपालमा कविता वाचन गरेपछि पनि विशेष प्रहरीकोमा जानुपर्ने उर्दी आएको उनले सुनाइन् । पछि रेडियो नेपालमा वाचन हुने कविता सेन्सर गराएर मात्रै वाचन गर्ने नियम बनेको समेत उनले सुनाइन् ।

अर्की वक्ता भागीरथीले चाहिँ ‘धेरै विधा एकै साथ लैजानुभन्दा पनि कुनै एउटा विधामा दत्तचित्त भएर लाग्नुपर्ने’ मा जोड दिइन् । सानो बेलादेखि थुपै्र कविता र गीतसँगै उपन्याससमेत लेखिसकेकी उनले २०३८ पछि भने कथामा मात्रै ध्यान केन्द्रित गरेर लेख्न थालेको बताइन् । ‘गरिमा साहित्यिक पत्रिकामा छापिएको ‘मातृत्व’ शीर्षकको कथाले नै कथाकारको रूपमा चिनाएको हो । मैले कथामै पाँचवटा पुरस्कार पाएँ । मेरो कथामै पटकथा बनेर फिल्म पनि बन्यो,’ उनले भनिन्, ‘त्यसपछि कथा लेखनतिर नै लागेँ ।’ उनका अनुसार सफल हुन कुनै एक विधामा दक्ष भएर लाग्नुपर्ने हुन्छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?