कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘संस्मरणले कल्पनाशीलता सिध्याउँछ’

लेखनाथ — पछिल्लो समय संस्मरण लेखनलाई साहित्यमा चल्तीको विधा मानिन्छ । बालापनका उटपटयाङ, साथीसंगीसँगका स्मृति, प्रेमी–प्रमिकासँग बिताएका क्षण धेरै संस्मरणमा दोहोरिरहने विषयवस्तु हुन् ।

‘संस्मरणले कल्पनाशीलता सिध्याउँछ’

साहित्यकार नयनराज पाण्डे भने संस्मरण लेखनले कल्पनाशीलता मर्ने बताउँछन् । भन्छन्, ‘संस्मरण धेरै लेख्न थाले कल्पनाशीलताको धार भुत्ते हुन्छ ।’

फाइन प्रिन्टले शनिबार पोखरामा गरेको एकदिने साहित्य उत्सवमा पाण्डेले साहित्यकारले रचनाधर्मिताकै अभ्यास गर्नुपर्ने बताए । ‘भन्नैपर्ने जरुरी कुरा छैन भने संस्मरण लेखिरहनुपर्ने जरुरी छैन,’ उनले भने, ‘बुबाको कोटको खल्तीबाट पैसा चोरेको शैलीको संस्मरण लेखेर ऊर्जाशील समय सिध्याउनुहुन्न ।’ पत्रपत्रिकामा बग्रेल्ती छापिने संस्मरण पढदा सिर्जनात्मकता र कल्पनाशीलताबाट टाढा जान थालेको अनुभूति हुने उनी बताउँछन् । त्यसो त, उनको पछिल्लो कृति ‘यार’ लाई उनी संस्मरण नै भन्न रुचाउँछन् । दीपक पराजुलीसँगको ‘संस्मरणमा इमानदारिता’ विषयक बहसमा उनले आफ्नो कृतिमा बढी ‘स्वीकारोक्ति’ भएको बताए ।

त्यसैगरी, कथाकार महेशविक्रम शाहसँग ‘नेपालीका विदेशी कथा’ विषयमा पत्रकार बसन्त बस्नेतले भलाकुसारी गरे । बस्नेतले शाहका कथामा यथार्थ पात्र बढी हुने सन्दर्भ उप्काए । लेखिका शिवानीसिंह थारूले भने आफ्नो लेखनमा ‘सिनेम्याटिक प्रविधि’ को प्रभाव रहेको बताइन् । ‘आख्यान अनुभव’ माथि अर्का उपन्यासकार गनेश पौडेलसँगको छलफलमा उनले जानाजान त्यस्तो प्रविधि प्रयोग गरेको स्विकारिन् । आफूले धेरै फिल्म हेर्ने गरेकोले त्यसैको प्रभाव किताबमा मुखरित भएको उनले सुनाइन् ।

पत्रकार केशवशरण लामिछानेले ‘रजगज’ लेखक हरिबहादुर थापासँग ‘शासनको रजगज’ माथि छलफल चलाए । लेखक थापाले पछिल्लो समयमा स्थानीय तहबीच सेवासुविधामा भएको प्रतिस्पर्धाप्रति चिन्ता व्यक्त गरे । ‘स्थानीय तहले आफ्नो औकातअनुसार सुविधा लिने हो,’ उनले भने, ‘विकास निर्माणमा प्रतिस्पर्धा हुनुपर्नेमा सुविधामा प्रतिस्पर्धा भयो । औकात हेर्ने चलन भएन ।’ उनले ०५२ माघ १९ मा सांसदलाई पजेरो दिने निर्णय भएदेखिबाट औपचारिक रूपमा भ्रष्टाचार सुरु भएको सुनाए । महोत्सवको सुरुवातमै लेखकद्वय युग पाठक र सावित्री गौतमबीच ‘नेपाल मन्थन’ भयो । गौतमले पाठकसँग राज्य व्यवस्थाका विसंगति र बौद्धिक व्यक्तित्वको जिम्मेवारी खोतलिन् ।

गत वैशाखदेखि सुरु महोत्सव सुर्खेत, धनगढी र कोहलपुरमा भइसकेको छ । फाइन प्रिन्टका अजित बरालले लेखक र पाठकबीचको आत्मीयता बढाउन महोत्सव गरेको बताए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?