कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुझाउँदै भयवाद

काठमाडौँ — हङकङ बस्दै आएका नेपाली स्रष्टा देश सुब्बाले दुई दशकअघि नयाँ चिन्तन अघि सारे– भयवाद । यो दर्शनलाई हङकङ, अमेरिका, क्यानाडा, नाइजेरिया जस्ता धेरै मुलुकका विश्वविद्यालयले अध्ययनको विषय बनाए ।

बुझाउँदै भयवाद

उनको भयवादमै आधारित रहेर क्यानाडेली दार्शनिक प्रा. माइकल आर फिसर, भारतीय लेखक बी मारिया कुमार र सुब्बा स्वयंले संयुक्त रुपमा ‘फिलोसोफी अफ फियरिज्म : इस्टवेस्ट डायलग, फियर, ल एन्ड क्रिमिनोलोजी’ पुस्तक निकाले, जसलाई फियरलेसनेस इन्स्टिच्युटमार्फत अमेरिकी प्रकाशन गृह एक्सलिब्रिटिसले छाप्यो ।

आखिर के हो त भयवाद ? भयवाद केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न प्राज्ञ, प्राध्यापक, शोधार्थी र विद्यार्थीहरूका माझ सुब्बाले भने, ‘जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्छ । भयवाद दर्शन नयाँ भए पनि पछिल्लो समयमा पाश्चात्य दर्शन र भारतीय दर्शनका प्राज्ञिक समुदायले चासो र रुचिका साथ अध्ययन गर्दै छन् ।’

उनले आफ्नो दर्शनले भय सिर्जना गर्ने नभएर त्यसको व्यवस्थापन गर्ने बताए । आफ्नो दर्शनमै आधारित रहेर नाइजेरियाका दार्शनिक ओसिनाकाची अकुमा कालु र माइकल ब्यासे इनोयोले ‘द स्टेज अफ द फियरोलोजिस्ट’ र ‘फिलोसोफी अफ फियर : अ मुभ टु ओभरकमिङ नेगेटिभ फियर’ पुस्तक प्रकाशित गरेको उनले जनाए । ‘भारतीय लेखक बी मारिया कुमार र बीएस सुस्मिताको ‘द युथ डोन्ट क्राई’ पनि भयवादमै आधारित पुस्तक हो’, उनले भने ।

सुब्बाले सन् २०१४ मा किताबघर प्रकाशन गृहबाट नेपालीमा ‘भयवाद’ र अंग्रेजीमा अमेरिकी प्रकाशनगृह एक्सलिब्रिटिसबाट ‘फिलोसोफी अफ फियरिज्म’ निकालिसकेका छन् । विमर्शका क्रममा उनले भने, ‘नेपालमा कतिपयले नबुझेर भयवादलाई सानो साहित्यिक आन्दोलन सम्भिँmदा रहेछन् । तर यो साहित्यिक आन्दोलन होइन, बरु यो दर्शनको आधारमा साहित्य सिर्जना गर्न सकिन्छ । प्रयोगको रूपमा पूर्वोत्तर भारतका गैरनेपालीभाषीहरूले साहित्य सिर्जना गरिरहेका छन् ।’

विमर्शमा नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख प्रा. दिनेशराज पन्तले भयवादलाई अझ उचाइमा पुर्‍याउन थप बौद्धिक अन्तरक्रिया बढाउनुपर्ने औंल्याए । समालोचक प्रा. मोहनराज शर्माले भयवादमा मानवीय जीवनदर्शन समेटिएको बताए । प्रा. राजेन्द्र सुवेदी, पुष्कर लोहनी, अनिल पौडेल र सांसद जयकुमारले भयवादमाथि जिज्ञासा राखे ।

कार्यक्रममा केन्द्रले वार्षिक रूपमा प्रदान गर्दै आएको ‘तिलमती भयवाद पुरस्कार’ यो वर्ष नाइजेरियाका दार्शनिक ओसिनाकाची अकुमा कालुलाई दुई सय अमेरिकी डलरसहित प्रदान गरियो । द फिलोसोफी अफ फियरिज्म स्टडी सेन्टर नेपालले अफ्रिकामा भयवाद अध्ययन, अध्यापन, पुरस्कार वितरण र कोष सञ्चालनका लागि अधिकार प्रत्यायोजन गरिएको केन्द्र अध्यक्ष प्रा. टंकप्रसाद न्यौपानेले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?