१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आँसु छँदै छ स्याहार गर्ने...

साइकलको पाइडलमा खुट्टा जति जोडले चलायो त्यसको बत्ती उति चम्किलो हुन्छ, जति बिस्तारै चलायो उति मधुरो हुँदै जान्छ । जिन्दगी पनि त्यस्तै हो । - मदनकृष्ण श्रेष्ठ, वरिष्ठ कलाकार

लेखनाथ — एकै छिनमा गम्भीर, एकै छिनमा हँसमुख । घरी श्रीमतीसँगको बिछोड सम्झेर भावुक बनाउँछन् । घरी केटाकेटी बेलाको उटपटयाङ सुनाएर गलल्ल हसाउँछन् । पत्नी वियोग खेपेको आधा वर्ष पुगेको छैन ।

आँसु छँदै छ स्याहार गर्ने...

आफैं पार्किन्सनको बिरामी हुन् । आफूलाई माया गर्नेहरूका बीचमा सकेसम्म पुगेकै हुन्छन् । गीत सुनाउँछन् । चुट्किला भन्छन् । सेल्फी खिचाउँछन् । कलाकारको धर्म निर्वाह गर्छन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शनिबार साँझ न्युरोडको सिटी स्क्वायर ब्यांक्वेटमा दर्शकश्रोतालाई हाँस्दाहाँस्दै रुने बनाए । रुँदारुँदै हाँस्ने बनाए ।

उपन्यासकार अमर न्यौपानेले आमदर्शकको उनीप्रतिको दृष्टिकोण सुनाए । उनले प्राय: गम्भीर गीत गाउनुको कारण खोतले ।

‘जिन्दगी गम्भीर मात्रै होइन, भीर पनि हो,’ श्रेष्ठले जवाफ दिए, ‘म भीरमा सिस्नु समाउँदै हिडिरहेको छु ।’ फेरि पत्नीसँगका प्रेमिल दिन सम्झिए । उनको अन्तरजातीय प्रेमकथा दर्शकश्रोताले रमाइलो मान्दै सुनिरहे । पत्नीको अभावमा मन बुझाउन उनले गाएर सुनाए–

सबैले माया मारेर के भयो
तिमी छँदै छौ मलाई प्यार गर्ने
तिमीले पनि माया गर्न नभ्याउँदा
आँसु छँदै छ मलाई स्याहार गर्ने...

कार्यक्रममा उनले ‘मह’ का ह अर्थात् हरिवंशको सन्दर्भ ननिकाल्ने कुरै भएन । न्यौपानेले सोधिहाले, ‘हरिवंशसँग भेट नभएको भए के हुन्थ्यो ?’

श्रेष्ठले भने, ‘मलाई पहिल्यैदेखि केही न केही गर्छु भन्ने हिम्मत थियो । काठमाडौंमा नेवारी गीत र प्रहसनबाट सुपरहिट भइसकेको थिएँ । हरिवंश र म एकैठाउँमा दुईजना भएपछि प्रतिस्पर्धा नै गर्नुपरेन ।’ उनले झन्डै ३९ वर्ष सँगै हिडेको जोडी कतै देखेका छैनन् । उनलाई आफूहरूको जोडी सुनको बीचमा राखेको हिराजस्तै लाग्छ, जति जोडले हाने पनि नफुट्ने ।

उनका किस्साले दर्शकश्रोतालाई जोडजोडले हँसाउँदै थियो, फेरि पत्नी सम्झिएर गाए–
तिमी जूनजस्तै लाग्छौ प्यारो
तिमी जुनजस्तै छौ शीतल
तर जुन जति नै टाढा
निकै टाढा, धेरै टाढा...

लेखक एवं व्यवसायी जीवा लामिछानेले न्यौपानेमार्फत् सोधी पठाए, ‘खुसी कसरी मिल्छ ? दु:ख पर्दा के गर्नुहुन्छ ?’

श्रेष्ठले भने, ‘जीवन सुख सम्झे सुख, दु:ख सम्झे दु:ख हो । पृथ्वीमा तीन खण्ड पानी एक खण्ड जमिन भएजस्तै मेरो जीवनमा पनि तीन खण्ड दु:ख एक खण्ड सुख छ ।’ ठटयौली पारामा उनले थपे, ‘दु:ख पर्दा त्यही तीन खण्ड दु:खमाथि सुखको डुंगा चलाएर आनन्दसँग बस्छु ।’

हल हाँसोले गुञ्जायमान भयो ।

कवि भूपि शेरचनको कवितामा भनिएझैं श्रेष्ठले जीवनलाई साइकलको डाइनामोसँग तुलना गरे । ‘पाइडलमा खुट्टा जति जोडले चलायो उति साइकलको बत्ति चम्किलो हुन्छ, जति बिस्तारै चलायो उति मधुरो हुँदै जान्छ,’ उनले जीवनलाई अथ्र्याए, ‘जिन्दगी त्यस्तै हो । खुट्टा चलाइन्जेल चल्छ ।’ गम्भीर गीत मात्रै सुनाइरहेका उनले अन्त्यमा भने ‘के घर के डेरा’ फिल्मको ‘खल्तीको घाउ’ सुनाए । उनी स्टेजबाट ओर्लंदा सम्मानमा ताली बजिरहेको थियो ।

फाइन प्रिन्टले एक दिने घुम्ती साहित्य उत्सवको साँझ श्रेष्ठलाई मञ्चस्थ गरेको हो । उनलाई बाजागाजामा ‘कन्दरा’ ब्यान्डले ले साथ दिएको थियो । ब्यान्डले पनि आफ्ना नयाँ र पुराना लोकप्रिय गीत सुनायो । गायक विवेक श्रेष्ठले वरिष्ठ गायक/संगीतकार गोपाल योञ्जनको राष्ट्रिय गीतमार्फत आफ्नो प्रस्तुति थालेका थिए ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?