२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

समयलाई समात्दै यादव !

‘वर्तमानलाई त समाउन सकिएला, तर विगत उम्किन्छ । त्यसलाई आंशिक रूपमा भए पनि समात्न खोज्दै छु ।’

काठमाडौँ — समय समयको कुरा ! वरिष्ठ फिल्मकर्मी एवं गीतकार यादव खरेल समयको खेल बुझ्छन् । विसं २०२८ मा चलचित्र विकास बोर्डको अध्यक्ष छँदा उनले फिल्म अर्काइभिङका लागि जोजोसँग भिडियो छ, उपलब्ध गराउन आग्रह गर्दै विज्ञापन छपाएका थिए ।

समयलाई समात्दै यादव !

त्यो बेला मदन पुरस्कार पुस्तकालय (मपुपु) का संस्थापक अध्यक्ष कमलमणि दीक्षितले राणा महाराजका दुइटा भिडियो उनलाई दिए । ती भिडियोका छुट्टै कहानी छन् । अहिले भने यादव आफैं मपुपुसमक्ष आफ्ना फिल्म र अन्य सिर्जना अर्काइभ गरिदिनुपर्‍यो भन्दै बिहीबार पाटनढोका पुगेका थिए ।

आफ्ना ‘समग्र सिर्जना’ कारमा हालेर पुस्तकालय पुगेका उनलाई छोरा सम्राट र अन्यले प्रेमपिण्ड, लोभीपापी, नासो लगायत फिल्मका पोस्टर बोकेर पुस्तकालयको बुइँगल उक्लिन सघाए । बाँसैबाँसले बनेको पुस्तकालय भवनमा उनले फिल्मका पोस्टर अडयाए । र, फिल्म अपलोड गरिएको हार्ड ड्राइभ, माउन्ट गरिएका पोस्टर र सिडीहरू पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितलाई थमाए ।

‘समयलाई समात्ने प्रयत्न हो मेरो,’ खरेलले मुस्कुराउँदै भने, ‘वर्तमानलाई त समाउन सकिएला, तर विगत उम्किन्छ । त्यसलाई आंशिक रूपमा भए पनि समात्न खोज्दै छु ।’

अहिलेको जमानामा प्रविधिले आफूलाई आँखैअगाडि आउट डेटेड गरेको देख्न सकिने उनले बताए । यो बेला सिर्जनाको भरपुर शोषण भइरहेको भन्दै निराशा व्यक्त गरे । यीबाट बच्ने उपाय खोज्दा मपुपु नै सबैभन्दा उचित विकल्प लागेको उनको भनाइ थियो । खरेलले विसं २०२० देखिका आफ्ना गीत, किताब, फिल्म, एल्बमका कभर, सीडी एल्बम, किताबका कभर, फिल्मी पोस्टर, पम्पलेट, टेलिभिजन स्टिकर र भिडियोहरू मपुपुलाई हस्तान्तरण गरेका छन् ।

बजारमा आइसकेका सिर्जना आफ्नो मात्र नभएर समाजको हुने खरेलले बताए । समाजको नासो समाजलाई नै फर्काएको उनको भनाइ थियो । उनले सिर्जनाहरूको दुरुपयोग भइरहेकाले यसको रोकथामका लागि पुस्तकालयलाई दिनु ठीक लागेको अभिव्यक्ति दिए । ‘यी सामग्री व्यापारिक प्रयोजनका लागि प्रयोग नगरिऊन्,’ उनले सर्त सुनाए, ‘अन्वेषण, अध्ययन र अनुसन्धानका लागि पुस्तकालय परिसरमा मात्र प्रयोग होऊन् । यी सामग्री सार्वजनिक प्रयोग हुँदा यादव खरेलको संग्राहलयबाट प्राप्त भएको कुरा उल्लेख गरियोस् ।’

पुस्तकालयका अध्यक्ष दीक्षितले व्यापारिक प्रयोजन कदापि नहुनेमा खरेललाई आश्वस्त पार्दै उनीमार्फत अन्य स्रष्टाका परिवारजनलाई पनि ऐतिहासिक दस्तावेज संग्रह गर्ने ऊर्जा मिलोस् भन्ने चाहेको बताए ।

‘नेपालको आधुनिक युगको सांस्कृतिक प्रतिनिधित्व गर्ने यादव दाइका सिर्जना संग्रहित गर्न पाउँदा हामी खुसी छौं,’ दीक्षितले भने, ‘अन्य स्रष्टाका परिवारजनले पनि यसमा चासो दिनुपर्छ ।’ आधुनिक युग (२००७ सालयता) को संरक्षण गर्ने बेला आइसकेको उनको भनाइ थियो ।

खरेलले ‘आदिकवि भानुभक्त’, ‘चेलीबेटी’, ‘श्रीस्वस्थानी’, ‘वसन्ती हावा’, ‘गैरी खेतको’ जस्ता फिल्म मपुपुलाई दिएका छन् । विसं २०२० र ३० को दशकमा एनलग प्रविधिमा बनेका यी फिल्म खरेल पुत्र सम्राटले डिजिटल भर्सनमा रूपान्तरण गरेका रहेछन् । ‘फिल्म भनेको साहित्य हो,’ सम्राटले भने, ‘यसको संरक्षण आवश्यक छ । बुबाका फिल्म र पुराना गीतहरू सरकारी निकायमा धुलो लागेर थन्किएका थिए । मैले भेटेजति ल्याएर डिजिटलाइज र रेस्टोर गरेको छु ।’ सम्राटकै पहलमा ‘आदिकवि भानुभक्त’ र ‘प्रेमपिण्ड’ अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसमा डिजिटलाइज/रेस्टोरेसनपछि अर्काइभिङ गरिएको छ ।

सञ्चारकर्मी समेत रहेका खरेलले नेपालका सरकारी निकायले अर्काइभिङको परम्परा सिक्दै नसिकेको र जान्दै नजानेको बताए । विसं २०२८ मा आफू विकास बोर्डको पहिलो अध्यक्ष हुँदा नै फिल्म अर्काइभको पहल सुरु गरेको उनी सम्झन्छन् । ‘म पछिकाले निरन्तरता दिएनन्,’ उनी भन्दै आएका छन्, ‘त्यो बेला फेला परेका फिल्म पनि सिंहदरबार आगलागी हुँदा हराए । कपितपय फिल्म राजदबार लगिएका थिए, त्यहाँबाट फिर्ता आएनन् ।’ भिजिअल इतिहास सुरक्षित राख्दा देशको कलासंस्कृतिसँगै त्यो बेलाको जगत् बुझ्न सकिने उनको भनाइ थियो ।

हस्तान्तरण समारोहमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, गायक लोचन रिजाल, पुस्तकालयका अभिलेखाध्यक्ष समिक मिश्र लगायतले पनि अर्काइभिङको महत्त्वबारे कुरा राखेका थिए । ‘म अचेल बेलायतको क्रिस्मस लिट्रेचर सेरिज हेरिरहेको छु,’ पत्रकार दाहालले भने, ‘उनीहरूले सय वर्षअघिका कुरा पनि सुरक्षित राखेका छन् । हामीचाहिँ हिँडदै छ, पाइला मेटदै छ शैलीका छौं ।’ लोचनले यावदको पालाको बौद्धिकतालाई अहिलेको बौद्धिकतासँग प्रयोग गर्न पाए नौलो स्तर उत्पादन गर्न सकिन्थ्यो कि भन्ने कौतुहलता व्यक्त गरे ।

निरन्तर खोज
नेपाली भाषाका पुराना कृति पल्टाउन चाहनेलाई अहिले मपुपुको विकल्प छैन भन्दा फरक नपर्ला । यहाँ विसं १८२० देखिका पुस्तक संग्रहित रहेको र अहिलेसम्म ४० हजार किताब, ५७ सय पत्रपत्रिका भेला भइसकेको पुस्तकालयका दीपक अर्याललले जानकारी दिए । पुस्तक र पत्रपत्रिकाको चाङसँगै यहाँ प्रचार, पम्पलेट, अडियो/भिडियो सामग्री पनि संग्रह गर्दै आएको उनले अवगत गराए । ‘नेपाली भाषाका कृतिको सबैभन्दा ठूलो संकलन यही छ,’ उनले भने, ‘अब यादव खरेलबारे पनि केही चाहिए यहीँ आए हुने भयो ।’

पुस्तकालयलाई यादवले झैं आफैं सामग्री उपलब्ध गराउनेहरू एकातिर छन् भने पुस्तकालय स्वयं पनि खोज र अनुसन्धानमा जुट्ने गरेको अभिलेखाध्यक्ष मिश्रले जानकारी दिए । ‘२०७२ को भूकम्पपछि हामीले असनको एउटा राजभण्डारी परिवारले जतनसाथ राखेको १९ औं शताब्दीका कागजपत्र फेला पार्‍यौं,’ उनले भने, ‘ती राजभण्डारी सरकारी जागिरको सिलसिलामा त्यो बेला जुम्ला पुगेका रहेछन् । लालमोहर छापसहितका कागज हेर्दा अहिले अनौठो लाग्छ ।’

पुस्तकालयमा विसं २०१५ को निर्वाचनका बेला प्रयोग भएका चुनावी पर्चा, पम्प्लेट आदि सुरक्षित छन् । अध्यक्ष दीक्षितले आफूहरूसँग भएका कतिपय सामग्री वास्तवमा सम्बन्धित निकायले राख्नुपर्ने बताए । ‘हामी त छापा माध्यमको अर्काइभ गर्ने संस्था हौं,’ उनले भने, ‘फोटो, अडियो/भिडियोका लागि छुट्टै अर्काइभ हुनुपर्छ । अहिले त्यो नभएकाले हामीसँग आएका चिज सुरक्षित राखेर पछि ती खुले भने वा सरकारले व्यवस्था गरे उसैलाई दिन्छौं ।’

प्रकाशित : भाद्र ८, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?