मानन्धरलाई देवकोटा–लु सुन प्रज्ञा

काठमाडौँ — साहित्यकार शान्तदास मानन्धर देवकोटा लु सुन प्रज्ञा पुरस्कारबाट सम्मनित भएका छन् । देवकोटा लु सुन प्रतिष्ठानले शनिबार राजधानीमा मानन्धरलाई सम्मान गरेको हो ।

मानन्धरलाई देवकोटा–लु सुन प्रज्ञा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मानन्धरलाई ताम्रपत्रसहित पचास हजार रुपैयाँ हस्तान्तरण गरे ।

मन्त्री अधिकारीले मानन्धरलाई ‘जनपक्षीय लेखक’ को संज्ञा दिए । उनको अनुवाद कलाको प्रशंसा गर्दै अधिकारीले भने, ‘उहाँले हाम्रो चेतना र आवश्यकतासँग जोडेर अनुवाद गर्नुहुन्छ ।’ विसं २०३४/०३५ देखि चिनियाँ साहित्यकार लु सुनका रचनाहरू सकीनसकी अनुवाद गर्न थाल्दा थुप्रै प्राध्यापकहरूले गाली गरेको प्रसंग मानन्धरले सुनाए ।

‘आफैंमा लेख्ने क्षमता हुँदाहुँदै अरूको अनुवादमा किन समय खर्चिन्छौं भन्थे मलाई,’ उनले भने, ‘तर लु सुनको जनपक्षीय लेखनमार्फत नेपाली समाजमा केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने मेरो ध्याउन्न हुन्थ्यो ।’ प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले देवकोटा र लु सुनको प्रगतिवादी धारा उस्तै रहेकाले संयुक्त रूपमा संस्था स्थापना गरी स्रष्टालाई सम्मान गर्ने परम्पराको थालेको बताए ।

मानन्धरले विशेषगरी बालसाहित्यको क्षेत्रमा योगदान दिएको प्रतिष्ठानका उपाध्यक्ष रामबाबु सुवेदीले बताए । ८४ वर्ष पुगेका मानन्धरको व्यक्तित्व र कृतित्वबारे बोल्दै समालोचक डा. रामप्रसाद ज्ञवालीले बालसाहित्य, अनुवाद, मात्रै नभई शान्तदासले चित्रकला, सम्पादन, प्रकाशन, कथावाचन, साहित्यिक पत्रकारिता, बालपत्रिकालगायतमा पनि योगदान दिएको बताए ।

कार्यक्रममा ‘महाकवि देवकोटाको साहित्य चिन्तन र वैचारिक विकास’ शीर्षकमा साहित्यकार चूडामणि बन्धुले कार्यपत्र प्रस्तुत गरे । देवकोटाले स्वच्छन्दतावादी अंग्रेजी कविताका अध्ययनबाट नै आफूलाई स्वच्छन्दतावादी कविका रूपमा विकसित गरेको उनले बताए । कार्यपत्रमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. अमर गिरीले टिप्पणी गरेका थिए भने मातृका पोखरेलले देवकोटाको ‘स्वतन्त्रता हो मानवता रे’ कविता र सीता शर्माले लु सुनको ‘नेपोलियन र जेनर’ निबन्ध सुनाएकी थिइन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?