२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

संस्कृत जोगाउने गाउँ

काठमाडौँ — दक्षिण भारतको कर्णाटकस्थित मत्तुर गाउँका बासिन्दा संस्कृत भाषा बोल्छन् । तिनले ‘अहम् गच्छामी’, ‘कथम् अस्ति ?’ भन्दै कुराकानी गर्नु अनौठो होइन ।

संस्कृत जोगाउने गाउँ

यो गाउँको विशेषतै भनौं, यहाँ सबैलाई संस्कृत आउँछ र प्रत्येक घरका एक न एक सदस्य सूचना प्राविधिक हुन्छन् नै ।

स्थानीय ब्राम्हमण समुदायको सांकेथिस थरीको बसोबास रहेको मत्तुरमा संस्कृत भाषा बोलीचालीको माध्यम हो । हुन त उनीहरूको आफ्नै मौलिक भाषा पनि छ, सांकेथी । संस्कृत, तामिल, कन्नड र तेगलुको सम्मिश्रणबाट बनेको सांकेथीसँगै सांकेथिस समुदायले संस्कृत भाषा पनि जोगाउँदै आएका छन् ।

शिक्षाको राम्रो प्रबन्ध रहेको मत्तुर गाउँमा संस्कृतिको जर्गेना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आईटी विज्ञ जन्माउने यो गाउँका थुप्रै जनशक्ति विदेशमा कार्यरत छन् । तर, आफूहरूको परम्परा कायम राख्न परदेसिएकाहरू पनि चाडपर्व र रीतिरिवाज मान्न अनिवार्य गाउँ फर्किने गरेका छन् ।

मत्तुरबासीले सञ्चालन गरेको पाठशालामा वैदिक र वैज्ञानिक दुवै थरी पढाइ हुन्छ । गाउँका प्रौढ र पाकाहरूलाई पनि विद्यालय जाने वातावरण मिलाइएको छ । राम्रो शैक्षिक रेकर्ड राखेकोमा जिल्लाभरि नै मत्तुर गाउँ नमुनाका रूपमा रहँदै आएको इन्डियन एक्सप्रेसले जनाएको छ । संस्कृत पढ्नाले विद्यार्थीको गणितीय र तार्किक क्षमता वृद्धि हुने भएकाले यो भाषा समावेश गरिएको स्थानीयको भनाइ छ ।

संस्कृत सिक्नका लागि यहाँ विदेशबाट पनि विद्यार्थी आउने गरेका छन् । संस्कृत भित्ते चित्रणका लागि पनि मत्तुर नामुद छ । मार्ग स्वच्छताय वीरजाते, ग्रामी सुजनाह वीरजाते (सडक सफा राख्न जरुरी छ किनभने गाउँका लागि राम्रा मान्छे महत्त्वपूर्ण छ) जस्ता भनाइ गाउँका भित्ताभरि लेखिएको पाइन्छ ।

अगस्ट २६ मा संस्कृत दिवस मनाइरहँदा यो भाषाको महत्त्व र प्रभावबारे विभिन्न भेगमा छलफल भएका थिए । हाल पूजाआजा वा अन्य धार्मिक समारोहमा पाठ पढ्न मात्रै सीमित राखिएको भाषामा ऐतिहासिक साहित्य र ग्रन्थ रहेकाले तिनको अध्ययनका लागि यो भाषा जोगाउनै पर्ने बताइन्छ ।

संस्कृतमा लेखिएका कपितय पुस्तक थुप्रै भाषामा अनुवाद गरिएको छ । पञ्चतन्त्र, कामसूत्र, योगसूत्र, शकुन्तला र अर्थशास्त्रजस्ता पुस्तक कैयौं भाषामा पढ्न सकिन्छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?