स्रष्टा र सिर्जनामा अनिता

कान्तिपुर संवाददाता

काठमाडौँ — सांस्कृतिक संस्थान (नाचघर) ले हरेक महिनाको अन्तिम बिहीबार गर्दै आएको ‘स्रष्टा र सिर्जना’ शृंखलामा यसपटक कवि अनिता लामा प्रस्तुत भइन् ।

बिहीबार संस्थानको मिनी हलमा आयोजित एकल वाचन शृंखलामा उनले समसामयिक सन्दर्भका एक दर्जन कविता सुनाइन् । ‘अनुराग’, ‘अर्पण’ र ‘आतुङ’ गरी तीनवटा कविता कृति ल्याइसकेकी उनले ‘सलाम आदरणीय आमाबुबा’ शीर्षकको कविताबाट वाचन थालिन् ।

सन्तान र आमा–बुबाबीचको सम्बन्धको सौन्दर्य बखान गरिएको सिर्जनापछि उनले वैदेशिक रोजगारीको तीतो यथार्थ समेटिएको ‘स्वस्थानी साङ्गे’, भिडियो कल’, तराईको गरिबी समेटिएको ‘मुसुरिया’, राष्ट्रियता र सीमा सन्दर्भको ‘आऊ बरु लास बनौं’ कविता सुनाइन् ।

Yamaha

आफ्नो पेसागत धर्म छाडेर राजनीति गर्ने चिकित्सकहरूमाथि उनले ‘डाक्टरहरू’ कवितामार्फत व्यंग्य कसिन् भने ‘विद्यार्थी’ शीर्षकको कवितामा वर्ग विभेदको कुरा उठाइन् । त्यसपछि उनले ‘संयुक्तता’, ‘संकल्प’, ‘बिर्खबहादुर माझी’, जस्ता कविता सुनाइन् ।

नारीवादी चेतना समेटिएको ‘पाठेघर’ कविता वाचनमा उनलाई रंगकर्मी रोजिता बुद्धाचार्यले सघाइन् भने केही छोटा कविताहरू कवि फूलमान वलले सुनाए । कविता सुनिसकेपछि साहित्यकार एवं पूर्वमन्त्री प्रदीप नेपालले ‘कविहरूले अब संघीयता र नयाँ नेपालको कविता लेख्नुपर्ने’ सुझाए ।

वाचित कवितामाथि समीक्षा गर्दै युवा समालोचक रमेश शुभेच्छुकले अनिताको कवितामा निम्नवर्गीय पक्षधरतासँगै नारीवादी चेतना, राष्ट्रप्रेमजस्ता पक्षहरू सशक्त रहेको दाबी गरे ।

नाचघरले सुरु गरेको शृंखलाको यो छैंठौं संस्करण हो । साहित्य, संगीत, रंगमञ्च लगायतको विधा समेटेर नाचघरले विभिन्न मासिक प्रस्तुति शृंखलाहरू सञ्चालन गर्दै आएको महाप्रबन्धक राजेश थापाले जनाए ।

अनिताको व्यक्तित्व र कृतित्वबारे भने गायिका एवं पूर्व सभासद मधु गुरुङ, कवि वासुदेव अधिकारी, साहित्यकार राम विनय लगायतले चर्चा गरे । गुरुङले विभिन्न सामाजिक अभियानहरू सँगसँगै साहित्यिक सिर्जनामा पनि अनिताले छलाङ मार्दै गएको बताइन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ ०९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खजानाको उत्खनन

जासुसी लेखनमा प्रचुर कल्पनाशीलता चाहिन्छ । भोलि हुन सक्ने अपराधका तौरतरिका आजै थाहा पाउन सक्नुपर्छ । तर्क, प्रमाण सबै उल्लेख गर्नुपर्छ । यसका लागि लेखक अध्ययनशील हुन आवश्यक छ ।
सजना बराल

काठमाडौँ — विश्वमा सबैभन्दा धेरै पढिने तर नेपालमा कसैले पहल नगरेको विधा रोजे दीर्घबाहुले । उनी नेपाली जासुसी उपन्यासका जनक हुन् भन्दा फरक नपर्ला । यसकै लागि आफ्नो नाम फेरे ।

जासुसी उपन्यासकार दीर्घबाहु नवीनतम कृतिसाथ ।

एक दर्जनभन्दा बढी उपन्यास निकाले । अनि एक्कासि लेख्न छोडे । अहिले झन्डै पाँच दशकपछि उनको कृति बजारमा आएको छ, उही जासुसी विधाकै ।

‘बज्रजोगिनीको खजाना’ कृतिमार्फत दीर्घबाहु पुन: आफ्ना पाठकमाझ उपस्थित छन्, ८७ वर्षको उमेरमा । उनी घरबाहिर निस्किँदैनन्, सभासमारोहमा भेटिने कुरै भएन । लेखनमा पनि जाँगर मरेको बताए । जासुसी उपन्यासका यी दीर्घबाहु पत्रकारितामा भने श्रीधर खनाल हुन् । तीन वर्षअघिसम्म उनी विभिन्न पत्रपत्रिकामा लेख्थे ।

‘८३ वर्षको हुँदासम्म बाइक कुदाएँ,’ उनले भने, ‘८४ पुगेपछि बाइक चलाउन सकिनँ, लेख्न पनि छोडेँ ।’

सिफलस्थित आफ्नै निवासमा गफिएका दीर्घबाहुको कुरा सुनेर उनकै छोरा एवं लेखक ब्रजेश खनाल छक्कै परे । ‘बाइक र लेखनको के सम्बन्ध ?’ उनले पितालाई सोधे । ‘सम्बन्ध छ नि,’ दीर्घबाहुले बोले, ‘बाइक हुँदा यताउति डुलिन्थ्यो । मान्छेसँग कन्टयाक्ट हुन्थ्यो ।

पत्रपत्रिकाहरूमा पारिश्रमिक बुझ्न गइन्थ्यो । अहिलेको नयाँ प्रविधि झर्को लाग्छ मलाई ।’
सांग्रिला बुक्सले प्रकाशन गरेको पछिल्लो कृति दीर्घबाहुले हालसालै लेखेका होइनन् । यो ४०–५० वर्षअघि लेखेको हुनुपर्ने उनको अनुमान छ ।

राम्रो प्रकाशक नपाएर पुस्तक थन्किएका थिए । ‘फटाह, ढाँट प्रकाशक धेरै छन्,’ उनले भने, ‘त्यो बेला लेखिएको भए पनि यो सधंैको सान्दर्भिक हुने खालको छ । बीस वर्षअघिको चोर पनि चोरै हो, अहिलेको चोर पनि चोरै हो ।’ उनका अनुसार जासुसी विधामा अपराध मुख्य विषय हुने गरेको छ ।

यस पालिको पुस्तकको विशेषता के छ भने, यसमा अपराधपछिको वर्णन छैन । लेखकले अपराध हुनुअगावै त्यसलाई रोक्न खोजेको बताए । यसमा तिलस्मी रहस्य बढी भएको उनको भनाइ छ ।

‘जासुसी लेखनमा प्रचुर कल्पनाशीलता चाहिन्छ,’ वरिष्ठ पत्रकार एवं लेखकले भने, ‘भोलि हुन सक्ने अपराधका तौरतरिका आजै थाहा पाउन सक्नुपर्छ । तर्क, प्रमाण सबै उल्लेख गर्नुपर्छ । यसका लागि लेखक अध्ययनशील हुन आवश्यक छ ।’

विसं २०२२ मा दीर्घबाहुले ‘शब्दभेदी लडाइँ’ मार्फत जासुसी उपन्यास लेख्न सुरु गरेका थिए । कसैले नगरेको काम गर्दा अझ रोचक होला भन्ने ठानेर यो विधा रोजेका थिए उनले । त्यसपछि उनले इन्सपेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छ औंला मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरू’ लगायतका जासुरी उपन्यास निकाले ।

उनका उपन्यास त्यो बेला निकै लोकप्रिय थिए । रत्न पुस्तक भण्डारले लगालग उनका कृति प्रकाशन गर्ने गथ्र्यो । केहीअघि मात्र भण्डारले आफूले छापेका मध्ये सर्वाधिक बिक्री भएका पुस्तकको सूचीमा दीर्घबाहुका कृति पनि उल्लेख गरेको थियो ।

‘यस्ता उपन्यासका पाठक प्रशस्त छन्,’ दीर्घबाहुले सुनाए, ‘तर, लेखक थपिन सकेनन् ।’ प्रकाशकहरूले यसको बजार र महत्त्व नबुझदा नयाँ लेखक जन्मन नसकेको भन्ने लाग्छ उनलाई । बेलायती लेखक सर आर्थर कोनान डोयलको ‘शरलक होम्स’ शृंखलाबाट प्रभावित भई आफू यस विधातर्फ लागेको दीर्घबाहुले बताए ।

उनी आफू मात्र यो क्षेत्रमा रम्न चाहेनन् । भोगेन्द्र बस्नेत, शरद निरौला लगायतलाई पनि क्राइम फिक्सन लेख्न उक्साउँथे । उनले थालेको विधामा बस्नेत र निरौलासँगै प्रेम कैदी, त्रिनाम, एसके दीन लगायत लेखकले पनि कलम चलाए ।

जासुसी लेखनमा सक्रिय भएपछि श्रीधर खनालले आफ्नो नाम फेर्न चाहे । अपहरण, लुटपाट, हत्याका विषयमा रहस्यमयी प्लट बुनिरहँदा उनलाई नाम फुर्‍यो— दीर्घबाहु । ‘कानुनको हात लामो हुन्छ,’ उनले भने, ‘चोरडाकाहरू जतिसुकै लुक्न खोजे पनि लामो हातले समाइहाल्छ । त्यही लामो हात सम्झिएर आफूलाई दीर्घबाहु भन्न थालेँ ।’

यो आफैंले राखेको नाम हो ? कान्तिपुरको प्रश्न सुनेपछि छेउमा बसेका छोरा ब्रजेश बोले, ‘उहाँले आफैं राख्नुभएको हो । म भएको भए ह्रस्वबाहु राखिदिन्थेँ ।’ माहोल हाँसोमय बन्यो ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT