बसन्तले ल्याए, ‘७२ को विस्मय’

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकको राजनीतिमा वर्ष २०७२ ले दूरगामी अर्थ राख्छ । नाकाबन्दी, मधेस आन्दोलन र संविधान निर्माण यही वर्षमा भए । यही सेरोफेरो समातेर पत्रकार बसन्त बस्नेतले भने पुस्तक लेखेका छन्– ‘७२ को विस्मय’ ।

राजधानीमा शनिबार पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष महन्त ठाकुर र राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अनसारीले पुस्तक सार्वजनिक गरे । पूर्वराष्ट्रपति यादवले मुलुकमा संविधान जारी भएयता नेपाली राजनीति र राष्ट्रियतामा देखिएका विभिन्न उतार–चढाव पुस्तकमा समेटिएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले राजधानीको भन्दा तराई–मधेसको मानव सभ्यता पुुरानो रहेको बताउँदै काठमाडौंले तराई–मधेसका सीमान्तकृत नागरिकलाई अन्यायपूर्ण व्यवहार गर्न नहुने बताए । ‘यो तथ्यलाई पुस्तकमा शासकीय कमजोरीका रूपमा औंल्याइएको छ,’ उनले भने ।

त्यस्तै पूर्वसभामुख नेम्वाङले संविधान सबैको समझदारी र हितमा जारी भइरहँदा भारतले गरेको नाकाबन्दी आफैंमा पत्याउन नसकिने किसिमको रहेको बताए । पुस्तकमा फास्ट ट्रयाकबाट संविधान जारी गर्दा केही संवैधानिक त्रुटि भएको भन्ने विषयप्रति भने उनले असहमति जनाए । आयोगकी प्रवक्ता अन्सारीले सुरुमै आफ्नो विचार व्यक्तिगत रहेको बताउँदै ‘नेपालको भूराजनीतिमा चासो राख्नेका लागि पुस्तक पठनीय रहेको’ बताइन् ।

Yamaha

त्यस्तै राजपाका अध्यक्ष ठाकुरले संविधान घोषणापछि मधेस आन्दोलनप्रतिको धारणा व्यक्तिअनुसार फरक फरक भए पनि पुस्तकमा भने समग्र रूपमा समेट्न खोजिएको दाबी गरे । नेपाल साप्ताहिकमा सहायक सम्पादक रहेका बस्नेतले आफ्नो पुस्तकलाई ‘पोलिटिकल नन फिक्सन’ भनेका छन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

छन्दको भिन्नै तरंग

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय गद्य कविताको लोकप्रियता बढेसँगै छन्द कविता परम्परा संकटमा पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । तर, शुक्रबार थापागाउँस्थित कुञ्ज थिएटर पुग्नेहरूले भिन्न महसुस गरे ।

टिकटमा छन्द कविता सुन्न जानेहरूको भीडले थिएटर भरिभराउ थियो भने पार्किङ र टिकट नपाएर थुप्रै साहित्य पारखीहरू पर्किए ।

थिएटरभित्र भने कविहरू रामप्रसाद ज्ञवाली, देवी नेपाल र प्रभा भट्टराईको प्रस्तुति चलिरहेको थियो । छन्द कविता सिर्जना गर्ने स्रष्टाहरू अभियान नै चलाएर नयाँ पुस्तालाई छन्द कविता सिकाउन लागिपरेका हुन् । छन्द कविताको मानकीकरणका लागि सुरु वाचन शृंखला ‘छन्द तरंग’ को पहिलो नै उत्साहप्रद रह्यो ।

नेपाली साहित्यका अग्रज प्रा. माधव पोखरेल र घनश्याम कँडेललाई अगाडि राखेर देवी नेपालले अनुष्टुप छन्दमा लेखिएको ‘गुरु’ शीर्षकको कविता सुनाउँदै शृंखलाको सुरुवात गरे । देवीले कार्यक्रममा मन्दाक्रान्ता छन्दमा लेखिएको ‘देश हार्दै छ आज’, ‘सुन्दर प्रकृति, सभ्य संस्कृति’, ‘परिवर्तन’ र ‘खोलाको गीत’ कविता सुनाए । उनका कवितामा सीमा अतिक्रमणदेखि देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रेम समेटिएको छ । त्यस्तै, कवि प्रभाले ‘छन्द’ शीर्षकको कवितामार्फत छन्दको महत्त्व दर्साइन् । त्यस्तै ‘छ देश नै सरापमा’, ‘नारी’, ‘नपढूँ होला भो अखबार’ र ‘आमा’ शीर्षकको कविता सुनाइन् ।

चौवारा छन्दको ‘शालिग्राम’ कविता वाचनमा रामप्रसाद सुनाउँदै थिए, ‘खप्दै सास्ती कत्ति नआत्ति चल्दछ नदीको जल संग्राम ठक्कर खाँदै खिइँदै जाँदै बन्दछ चिल्लो शालिग्राम...’त्यसपछि उनले ‘स्वाभिमान यदि छ भने’, ‘भाइबहिनीहरूलाई चिठी’, ‘शान्ति त्यसै हुँदैन’ र ‘विश्वासको प्रश्न छ’ कविता सुनाए । कविता सुनिसकेपछि प्रा. माधव पोखरेलले पहिले छन्दका कवितामा कल्पनाका कुराहरू मात्रै आउने गरेकोमा अहिले भने वर्तमान जिन्दगीको कुराहरू आउन थालेको टिप्पणी गरे ।

‘समाज परिवर्तनका लागि प्रगतिशील कविताका साथै विसंगतिहरूमाथि चोटिलो व्यंग्य गरिएको छ,’ उनले भने, ‘तर छन्द कवितामा नारा लेख्नुहुन्न ।’ उनले छन्दमा एउटा श्लोक लेख्नै धेरै समय लाग्ने भएकाले कविमा थुप्रै शब्द र भाषाको ज्ञान हुनुका साथै त्यसलाई प्रसंगअनुसार मिलाउन जान्ने खुबी हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्