अभिनेत्रीले लेखिन् उपन्यास

काठमाडौँ — सञ्चारकर्मीको छवि बनाउँदै उनी अभिनयमा पसिन् । एक दर्जन नेपाली फिल्ममा देखिइन्, बीचमा केही समय हराइन् । यति बेला भने सोविता सिम्खडा उपन्यास ‘वराङ्गना’ लिएर आउँदै छिन् ।

अभिनेत्रीले लेखिन् उपन्यास

अर्को साता उपन्यास सार्वजनिक हुने प्रकाशन संस्था बुलबुल पब्लिकेसन्सले विज्ञप्तिमा जनाएको छ ।

सोविताले तीन वर्ष लगाएर उपन्यास लेखेको बताइन् । ‘फिल्ममा हामी जे बुझ्छौं, समाजको यथार्थ त्योभन्दा भिन्न छ,’ पुस्तकबारे सोविताले भनिन्, ‘त्यही यथार्थ बुझाउन फिल्मको माध्यमबाट मात्र नभई पुस्तकको पनि सहारा लिएकी हुँ ।’ धादिङको गुम्दीमा जन्मिएकी सिम्खडाले जातीय विभेद र अन्तजातीय प्रेमलाई उपन्यासको विषय बनाएकी छन् । समाजमा देखे–भोगेका प्रेम, राजनीति र सामाजिक कुरीतिले लेखनका लागि शक्ति दिएको उनले बताइन् ।

दर्शनशास्त्रमा स्नातकोत्तर यी ओशोमार्गीले आफूले हतारमा नभई लामो समय अध्ययन गरेर मात्र उपन्यास लेखेको बताइन् । ‘उपन्यास एक दलित युवतीको प्वाइन्ट अफ भ्युबाट छ,’ उनले भनिन्, ‘लेख्ने क्रममा म यति डुबेछु कि लामो समय आफैंलाई दलित युवती महसुस गरिरहें । हाम्रो समाजमा अझै पनि दलित भएर आफ्नो पहिचान देखाउन सक्ने अवस्था निर्माण भएको छैन । यस्तै अवस्थाहरूले मलाई लेखनतिर घचघच्याएको हो ।’

एक साताअघि उनले पुस्तकको भिडियो प्रोमोसमेत सार्वजनिक गरेकी थिइन् । काठमाडौं र ललितपुरमा छायांकन गरिएको प्रोमोमा लेखिका स्वयंले अभिनय गरेकी छन् ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?