कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरियन भाषामा गौरी

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’ खण्डकाव्य कोरियन भाषामा अनुवाद गरिएको छ । कोरियाका सय जना कविका रचनालाई भने नेपालीमा उल्था गरेर पुस्तकको रूप दिइएको छ ।

कोरियन भाषामा गौरी

राष्ट्रकविको कोरियन गौरी र कोरियन कविका रचना समाविष्ट पुस्तक शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाल– कोरिया साहित्य सम्मेलन’ मा लोकार्पण गरियो ।

अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज र नेपाल–कोरिया कल्चर सेन्टरले गरेको सम्मेलनमा कोरियाबाट आएका पाँच कविले आफ्ना रचना वाचन गरेका थिए । किम झङ नानले ‘शरद ऋतु’ शीर्षकको कविता सुनाए । ना हे छलले ‘दु:खी गीत’ शीर्षकमा पानीजहाज दुर्घटनामा मृत्यु भएका विद्यार्थीको स्मृतिमा लेखिएको कविता वाचन गरे । त्यसपछि याङ मनुु ग्युले ‘त्यो बेला’ कवितामा आफू कुनै बेलाको पर्खाइमा रहेको भाव अभिव्यक्त गरे ।

कवि इ छल ख्याङले ‘याक’ शीर्षकको कविता सुनाएपछि मुन छाङ गिलले ‘बुबाको खुट्टाको नङ’ शीर्षकको कविता वाचन गरिन् : खुट्टाको काटिएको नङ उछिटिँदै छ कटकट काटिएर अस्ताउँदो चन्द्रझैं फालिँदै छ कटकट काटिँदै उदाउँदो चन्द्रभैं पलाउँदै छ ।ढाका टोपी र सयपत्री फूलको माला पहिर्‍याइएपछि पाँचै जना कोरियन कवि प्रफुल्लित हुँदै आफ्ना रचना सुनाउन तम्सिएका थिए । उनीहरूका रचनालाई लेखक प्रगति राई, सुनीता राई, शारदा सुवेदीलगायतले नेपालीमा सुनाउँदा दर्शक पनि उत्साहित देखिए ।

दुवै रचना किम हयोङ हयो (सगरमाथा गुरुङ) र मञ्जु गुरुङले अनुवाद गरेका हुन् । दुई पुस्तक अनुवाद गर्न आफूहरूले पाँच महिना दिनरात मिहिनेत गरेको सगरमाथा गुरुङले बताए । ‘हामी दुईले त्यत्रो मिहिनेत गर्‍यौं तर आज हाम्रै बेइज्जत भयो,’ उनले भक्कानिँदै भने, ‘प्रकाशकले समयमा पुस्तक नछापिदिँदा म आज पाहुनासामू लज्जित भएको छु ।’ बोलेको कुरा पुर्‍याउन उनले नेपाली प्रकाशकलाई अनुरोध गरेका छन् ।

समालोचक महेश पौडेलले सबै नेपाली फटाह नभएकाले राम्रा दिनको प्रतीक्षा गर्न गुरुङलाई आग्रह गरे । प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले भने नेपाली रचनालाई कोरियन र कोरियनलाई नेपालीमा अनुवाद गरेर एकअर्काको भाव साझा गरेको भन्दै अनुवादकलाई धन्यवाद दिए । ‘कोरिया र नेपाल भौगोलिक रूपमा उस्ताउस्तै छन्, हाम्रो भावनात्मक रूपमा समान किसिमका छौं,’ उनले भने, ‘हाम्रो भाषा फरक छ । अनुवादमार्फत एकअर्कासँग नजिकिन सक्छौं ।’

प्रकाशित : भाद्र ३१, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?