चित्रकलामा फयुजन पुस्ता

मधु शाही

काठमाडौँ — उनको पहिलो सिकाइ पौभा लेखन थियो । निश्चित दर्शनमा बाँधिएर कलाकार समुद्रमान सिंह श्रेष्ठले थुप्रै परम्परागत चित्र बनाए । अचेल कन्टेम्पररी (समसामयिक) कला सिर्जना गर्छन् । उनी परम्परागत सिकाइबाट विमुख भने छैनन् ।

चित्रकलामा फयुजन पुस्ता

क्यानभासमा विचार मात्र समुद्रमानको हुन्छ, त्यसलाई अभिव्यक्त गर्ने आकृतिहरू भने पौभाबाट सापटी लिएकै हुन्छन् । उनले कन्टेम्पररी आर्टमा परम्परागत मोटिभ्स प्रयोग गरेर चित्र बनाउने शैली अपनाउँदै आएका छन् । उनकै भाषामा भन्ने हो भने, यस्तो चित्रलाई ‘थाङका–पौभा फयुजन कन्टेम्पररी आर्ट’ भनिन्छ । परम्परागत पौभा कला सिकेरै आधुनिक कलातिर लम्किएका उनलेले दुवै सिकाइलाई फयुजन शैलीमा ढालेका हुन् ।

दुई वर्षअघि उनले पहिलो पटक एकल प्रदर्शनी गर्दा पौभा बुट्टामा कन्टेम्पररी विचार मिसाएका चित्र राखेका थिए । उनको कामलाई दर्शकले दुई प्रकार मूल्यांकन गरे । केहीले औधि मन पराए, केहीले आलोचना पनि गरे । त्यसपछि परम्परागत पौभा कोर्ने उनी फयुजन कन्टेम्पररी आर्ट गर्न थाले ।

‘धेरैले नौलो काम भनेर प्रशंसा गर्छन्,’ उनले भने, ‘केहीले चाहिँ परम्परा तोडमोड भयो भन्दै गुनासो गर्छन् ।’समुद्रमान भने यी दुवै मिश्रित प्रतिक्रियालाई सकारात्मक रूपमा लिएर काममै निरन्तर छन् । परम्परामा बाँधिएर सिर्जना गर्दा आफ्नो सिर्जनात्मक पक्ष कमजोर हुने उनको अनुभव छ । उनका अनुसार, खास गरी पौभा चित्र निश्चित दर्शनमा आधारित भएर कोर्नुपर्छ । तर, धेरैजसो आधुनिक चित्रकारहरू आफ्नो सिर्जनशीलता प्रकट गर्न निश्चित दर्शन र विचारको घेराबाहिर निस्किन खोज्छन् । हरेकले आआफ्नो रंग, रेखा र भावमार्फत आफूलाई व्यक्त गर्छन् । अनि परम्परा र आधुनिकता मिसिएको फयुजन आर्ट तयार हुन्छ । उनीचाहिँ ‘पौभाको दर्शन नमारीकन नै त्यसैमा मौलिक बुट्टा मिसाएर’ काम गर्छन् ।

परम्परागत कलाका नयाँ इलिमेन्ट र मोटिभ्स मिसाएर कला सिर्जना गर्नेहरूमा समुद्रमानसँगै रोशन प्रधान, मुकेश श्रेष्ठ, सुनील सिग्देल, लालकाजी लामा, प्रमिला परियार लगायत पर्छन् ।रोशनले कन्टेम्पररी आर्टमा पौभाका मोटिभ्स मिसाउनुको कारण आफ्नो सिर्जनामा नेपालीपन झल्काउनु रहेको बताए । कन्टेम्पररी आर्ट सबै मुलुकको उस्तै देखिन्छ । खास गरी विदेशी मुलुकमा कला प्रदर्शनी गर्दा नेपाली कन्टेम्पररी कलालाई कसरी फरक देखाउने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास उनले गरेका हुन् । उनी आफ्ना प्राय: सिर्जनामा पौभा मोटिभ्स मिसाउने गर्छन् ।

भारतको कोलकातामा चित्र प्रदर्शनी गर्दा आफ्नो पौभा फयुटन कन्टेम्पररी आर्ट धेरैले मन पराएको रोशनले सुनाए । ‘त्यसपछि झन् यो शैलीमा काम गर्ने उत्प्रेरणा मिल्यो,’ उनले भने, ‘परम्परागत कलाको महत्त्व बुझाउन पनि कन्टेम्पररीमा ढाल्नु उचित हुने रहेछ ।’ चित्रकला पढाउँदैसमेत आएका उनले युवा पुस्ताले ‘फयुजन क्रिएसन’ मन पराउने दाबी पनि गरे । ‘पुस्ताअनुसार कला रूपान्तरण हुनुपर्छ,’ उनले भने ।

चित्रकार लालकाजी लामा थाङका बनाउँदै हुर्किए । गुम्बामा वाल पेन्टिङ गर्नेदेखि पूजाका लागि थाङका चित्र लेख्नेसम्मको अनुभव पनि छ उनीसँग । थाङका कला एक प्रकारले उनको पुख्र्यौली कला अनुभवको हस्तान्तरण पनि थियो । कलाको दायरा फराकिलो बनाउन उनी भने परम्परामै सीमित हुन चाहेनन् । समसामयिक विषयमा चित्र कोर्दा उनका रेखाहरू प्राय: थाङकाबाटै प्रभावित हुन्छन् । आफ्नो पहिचानलाई कन्टेम्पररी विषयमा ढाल्न आधुनिक चित्र पनि थाङका आकृति उतार्ने गरेको उनले बताए ।

चित्रकार प्रमिला परियारले यसै वर्ष एकल चित्रकला प्रदर्शनी गरिन् । उनका सबै चित्रमा फरक विचार थिए, बुट्टाहरू भने थाङकाबाटै प्रभावित । उनका अनुसार आधुनिकता एक्लै आएको हुँदैन, यसपछाडि प्राचीन सभ्यता जोडिन्छ । समयको यी दुवै प्रभावलाई विचारमा मिसाएर क्यानभासमा उतार्ने उनको उद्देश्य थाङका बुट्टा र रेखाले पूरा गरिदिएको छ ।

‘थाङका बुट्टा कपी गर्न पनि निकै अध्ययन गर्नुपर्‍यो,’ उनले भनिन्, ‘यी आकृतिले कताकता आफ्नोपन महसुस गराएको पाएँ ।’ लामो समयदेखि पौभा चित्रकलामा सक्रिय दीपक जोशीका अनुसार पछिल्लो युवा पुस्ता थाङका वा पौभा कलाबाट निकै प्रभावित भएका छन् । तर, उनीहरू हुबहु दर्शनमा बाँधिएका भने छैनन् । आफ्नो मनोभाव पोख्न उनीहरूले थाङका र पौभाको प्रभाव ग्रहण गर्नु ठीकै हो । तर, बुट्टा लेखिएकै भरमा त्यो कलालाई परम्परागत भन्न चाहिँ नमिल्ने दीपकले बताए ।‘कला जनचाहनाअनुसार जोडिएर आउने विषय हो,’ उनले भने, ‘परम्परागत कलाको सौन्दर्य विस्तार गर्न फयुजन आर्टले निकै ठूलो भूमिका खेलेको हुन्छ ।’

प्रकाशित : आश्विन ३, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?