देवी नाचको उमंग

इन्द्रजात्रा
प्रशान्त माली

काठमाडौँ — किलाघ: टोलका ४६ वर्षीय बद्री महर्जन जागिरे हुन् । ट्राभल एजेन्सीमा काम गर्ने उनी प्राय: पर्यटक घुमाउन उपत्यकाबाहिर गइरहन्छन् । जति व्यस्त भए पनि उनी मंगलबार सुरु दी प्याखं (देवी नाच) मा भैरव देवगणको रूपमा सहभागी भए ।

देवी नाचको उमंग

‘दैवी शक्तिको कारणले हो कि कुन्नि जात्राका बेला प्रत्येक वर्ष फुर्सद मिल्ने गरेको छ,’ इन्द्रजात्राको अवसरमा नचाइने नाचमा सहभागिताबारे उनले भने, ‘अरू बेला अफिसबाट छुट्टी पाउन अत्यन्त गाह्रो छ । मैले भैरव भएर नृत्य गरेको २७ वर्ष बितिसकेको छ ।’

सोही टोलका ३३ वर्षीय गरिबनाथ महर्जन पानी उद्योगका व्यवस्थापक हुन् । उनलाई दैनिक उपत्यकामा वितरण गरेको पानी र कर्मचारीको कामको हिसाबकिताब राख्नुपर्ने हुन्छ । नाचका बेला भने फुर्सद निकाल्ने गरेको उनले सुनाए । कुमारी भएर नृत्य गर्ने उनी आफू मात्र होइन, अरूलाई पनि धर्म, संस्कृति जोगाउनुपर्छ भनेर सचेत गराउने व्यक्ति हुन् । भने, ‘नाचमा सहभागी भएर केही आम्दानी छैन । उल्टो आफ्नो खर्च हुन्छ ।’
त्यस्तै, बाबुराजा महर्जन निजामती कर्मचारी हुन् । निर्वाचन आयुक्तको गाडी चालक उनी पनि अहिले बिदामा बसेका छन् । उनीहरूजस्तै नाचमा सहभागी सातै जनाले जात्राका बेला सजिलै छुट्टी मिल्ने गरेका बताएका छन् । यसलाई उनीहरूले भगवान्को कृपा ठानेका छन् ।

जात्रा १० दिन चल्ने गर्छ । नाच सञ्चालन गर्न सोमबार भाद्र शुक्ल अष्टमी कन्या संक्रान्तिमा गुठियार मिलेर तान्त्रिक विधिपूर्वक नाथ गुरुको पूजा गरेका थिए । गुठियारका अनुसार नाच १६ चरणमा मञ्चन गरिन्छ । अब दोस्रो पटक भाद्र शुक्ल द्वादशीमा (असोज ५) लिङ्गो उठाउने दिन हनुमानढोका, इन्द्रजात्रामा जैसीदेगल, भाद्र शुक्ल पूर्णिमामा मरुटोलमा नचाइन्छ । अन्तिम दिन नानिचा या:कोमा नचाएपछि जात्रा समापन हुन्छ ।

२५ वर्षअघिसम्म किलाघ: टोलबाट दुइटा नाच निस्किन्थे । अहिले ख: प्यांख लोप भइसकेको छ । दी प्यांख नाचका गुठियार नरेन्द्र महर्जनले भने, ‘नाचमा सहभागी गुठियार आफैंले गरगहना, पोसाक, मुकुटमा लगाइने पंखा, ककचाजस्ता सुगन्धित फूल किन्नुपर्ने बाध्यता छ । नाच देखाउन एक महिनासम्म बेलुका अभ्यास पनि आफ्नै खर्चमा गर्नुपर्छ ।’

नाचमा परम्परागत राग गीत गाउनुपर्छ । राग गाउन सिक्न निकै कठिन छ । सिकिसकेपछि पनि निरन्तरता दिन गाह्रो छ । यस कारणले युवा पुुस्ताको नाचप्रति आकर्षण घट्दै गएको उनको भनाइ छ । ‘नाचलाई राष्ट्रिय सम्पत्तिको रूपमा लिएर सरकारले नै संरक्षण गर्नतर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।

नाचमा भैरव, कुमारी, चण्डी, दैत्य, कव:, बेता, ख्या देवगण हुन्छन् । सात प्रकारका बाजा बजाइन्छन् । सातैवटा डबलीमा नृत्य गराइन्छ । नाच मनले हेरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।
इन्द्रजात्रामा नचाइने पुलुकिसि (इन्द्रको वाहन ऐरावत) नाच गर्न तयारी पूरा भएको छ । विशेष किसिमको बाँसबाट हात्ती बनाइएको छ । हात्तीको मुकुट मर्मत गर्न चित्रकारकहाँ पठाइसकेको पुलुकिसि नाचका गुठियार कबिन्द्र महर्जनले बताए ।

‘नाच देखाउन अब लिङ्गो ठडयाउने दिनको पर्खाइमा छौं,’ उनले भने ।देवी नाच सात दिनसम्म चल्छ । हलचोकस्थित आकाश भैरवमा चण्डी कुमार र कुमारीको नाचका लागि पनि तयारी पूरा भएको तेजबहादुर चित्रकारले बताए । भाद्र शुक्ल प्रतिपदा (कुशेऔंसीको भोलिपल्ट) विधिवत् पूजा गरेर मुकुट रंगरोगन गर्न चित्रकारको मांसगल्लीस्थित घरमा पुर्‍याइएको थियो । अब भाद्र शुक्ल एकादशी असोज ४ मा हलचोकस्थित आकाशभैरवको आँगनघरमा विधिपूर्वक पूजा गरिन्छ । र, भोलिपल्ट द्वादशीमा नरदेवी टोलमा ल्याई जात्रा प्रारम्भ गरिन्छ ।

जात्रा असोज ५ गते हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको मूर्तिअगाडि लिंगो (योसी) ठडयाएसँगै विधिवत् सुरु हुन्छ । योसी ठडयाउने साइत यसपालि बिहान ८ बजेर ५ मिनेटमा छ । इन्द्रजात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशीमा विशेष समारोहमा जीवित देवीका रूपमा रहेकी कुमारी, दुई बालकलाई गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा राखी हनुमानढोका दरबारको दक्षिण पर्ने तल्लो टोलहरूको परिक्रमा गराइन्छ ।त्यसको भोलिपल्ट दरबारको उत्तरतिर पर्ने माथिल्ला टोलहरू र असोज १२ गते अन्तिम दिन नानिचा: या: भनी वसन्तपुरदेखि विभिन्न भाग हुँदै फेरि वसन्तपुर पुर्‍याइन्छ ।त्यसै रात इन्द्रध्वजा फहराइएको लिङ्गो ढालेर वाग्मतीमा सेलाएपछि इन्द्रोत्सव समाप्त हुनेछ । र, बद्री महर्जनहरू पुन: जागिरमा फर्किनेछन् ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?