‘फुरे लेख्छु, नत्र बल गर्दिनँ’

काठमाडौँ — सय थुँगा फूलको माला, सयवटै दियो अनि सय वर्षका राष्ट्रकवि माधवप्रसाद घिमिरे । मानिसले जीवनमा पाउने दुर्लभ सफलतामध्ये एक हो, सय वर्षको जीवन । सबैले यो इच्छा पूरा हुन सक्दैन ।

‘फुरे लेख्छु, नत्र बल गर्दिनँ’

आइतबारबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष लागेका छन् । यसैको उपलक्ष्यमा सिस्नुपानी नेपालले शनिबार राष्ट्रकवि निवास लैनचौरमा राष्ट्रकविलाई सय थुँगा फूल लगाइदिएर र सयवटै दियो बालेर जन्मदिनको अग्रिम शुभकामना दियो ।

राष्ट्रकविलाई जीवन भनेको भगवान्को वरदानजस्तै लाग्छ । मृत्यु भने अचम्मको लाग्छ । ‘मृत्यु त थाहै नहुने,’ स्रष्टाहरूसित राष्ट्रकवि गफिए, ‘चाँडै मर्न खुट्टा छोडेको कोही मान्छे छ ? सय वर्षको मान्छेले पनि खुट्टा कमाएको छैन ।’ उनका अनुसार मृत्युभन्दा ठूलो काम हो र काम गरेरै आफू पनि खुसी हुनुपर्छ र अरूलाई पनि खुस दिनुपर्छ । ‘त्यसपछि मृत्युलाई जित्न सकिन्छ,’ उनले भने ।


सय वर्ष बाँच्नु मात्रै उपलब्धिमूलक नहुने उनको तर्क छ । ‘सय वर्ष बाँचेर समाजका लागि केही दिन सक्नुपर्छ, अनि मात्रै मृत्यु सार्थक हुन्छ,’ उनले भने । उनले लेख्दै गरेको ‘ऋतंभरा’ महाकाव्यबारे पनि सुनाए, जसको अब दुई सर्ग मात्र लेख्न बाँकी रहेको छ । बिरामीका कारण ४/५ महिना लेख्न सकेनन् । पूर्ण स्वस्थ हुन अझै ५/६ महिना लाग्छ । ‘ऋतंभरा’ लेखिसकेपछि भने उनी ‘आए लेख्ने, नआए बल गरीगरी लेख्ने’ पक्षमा छैनन् । ‘फुरेन भने पहिलेजस्तो निद्रा फालेर, रातै जागेर, बिरामी भएर लेख्दिनँ,’ उनले भने ।

उनका अनुसार लेख्नका लागि दुइटा कुरा हुनुपर्छ । एउटा लक्ष्य, अर्काे स्वास्थ्य । ‘कवि बन्छु भन्ने लक्ष्य लिएपछि हरेक कुरालाई छोडेर लेखियो, आधा रातमा केटाकेटी सुतेपछि पनि लेख्थेँ,’ उनले आफ्नै उदाहरण दिए, ‘लक्ष्य निर्धारित गरेर मात्रै पनि हुन्न, स्वास्थ्य राम्रो बनाउने, राम्रो चिन्तन गर्ने ।’ नेपाली काव्यप्रेमी र समालोचकहरूले राष्ट्रकविलाई प्रकृतिको पुजारी भन्छन् ।

राष्ट्रकवि स्वयं पनि आफूलाई प्रकृतिको गायक मान्छन् । उनले बढ्दो ग्लोबल वार्मिङ र वातावरण प्रदूषणले गर्दा प्रकृति बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘आफ्नो हिमाल पग्लिन लागेकोमा मलाई दु:ख छ,’ उनले भने, ‘आज प्रकृति बिग्रिएर मानिसले विषपान गरिरहेको छ ।’

राष्ट्रकविले यसो भनिरहँदा सँगै बसेकी पत्नी महाकाली मुसुमुसु हाँसिरहेकी थिइन् । उनी पनि भदौ १२ गतेबाट ८४ वर्षकी भइन् । पतिको सय वर्ष र आफ्नो ८४ वर्ष मनाउन पाउँदाको खुसी साट्दै उनले भनिन्, ‘पतिपत्नी नै सय वर्ष र चौरासी एकै वर्ष कसैको पनि मिल्दैन । हाम्रो मिल्यो ।’ सँगै मिलापत्र गरेर जीवनयापन गरेकाले पतिसँग गुनासो लागेन रे उनलाई । भनिन्, ‘मेरो हिसाबमा उहाँको आयु अझै ११० वर्षको छ ।’

राष्ट्रकविले पनि पत्नीको तारिफ गर्दै घरै बोक्ने गृहिणीको रूपमा व्याख्या गरे । ‘घर म एक्लैले बोक्न सकिनँ, अर्काेतिर उनले पनि काँध थापेको हुनाले अहिलेसम्म चलिरहेको छ,’ उनले भने । सिस्नुपानीका महासचिव टंक आचार्यको संयोजन रहेको कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, साहित्यकार रामप्रसाद ज्ञवाली, मोमिला जोशी, हास्यकलाकार मनोज गजुरेल लगायतले कविता सुनाए भने गायक तथा संगीतकार शिशिर योगीले राष्ट्रकविको ‘सारंगी त रेटे पनि’ गीत र ‘आजभोलि दुख्दैन गोडा’ गाए ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?