कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जितियाले सम्झाउँछ आमाको माया

देवनारायण साह

काठमाडौँ — मधेसी समुदायका विवाहित महिलाले माइतीमा गएर मनाउने जितिया पर्व सुरू भएको छ । यसलाई जितुवाहन पर्व पनि भनिन्छ । यो पर्वमा व्रतालु महिलाले जलाशयमा स्नान गरेर जितुवाहन भगवान्को आराधना गर्छन् ।

जितियाले सम्झाउँछ आमाको माया

स्नानपछि घिरौंलाको पातमा तोरीको तेल, पिना र घिरौंलाको फूल चढाएर पूजा गर्ने चलन छ । जितुवाहन भगवान्लाई चढाएको तेल प्रसादका रूपमा परिवारका सबै सदस्यले कपालमा लगाएपछि आशीर्वाद पाइने जनविश्वास छ ।


आश्विन कृष्णपक्षको सप्तमीको दिन पोखरीमा तेल, पिना आदि चढाएपछि पर्व सुरु हुन्छ । तीनदिन चल्ने पर्वमा महिलाहरूले घरमा मरुवाको रोटी, माछालगायत परिकार खान्छन् । शाकाहारीले भने गम्हरी (कोसाभित्रै फल्ने धान) को खीर वा भात खाने चलन छ ।


व्रतालु महिलाहरूले राति सबै सुतिरहेको अवस्थामा शुभमुहूर्तमा जितमहान् भगवान्को पूजा गर्ने परम्परा छ । आँगन लिपपोत गरेर घिरौलाको पातमा दही, च्युरा, केरा, फूल, पान, सुपारी चढाइन्छ । त्यहाँ पितृलाई समेत पूजा गर्ने चलन छ । त्यसपछि प्रसाद ग्रहणसँगै खानेकुरा खाइन्छ । सूर्योदय भएपछि उपवास सुरु हुन्छ । दिनरात ब्रत बसेर भोलिपल्ट पारायण गरेर ब्रत पूरा हुन्छ । व्रतालु महिलाहरूले मंगलबार बिहान जितुवाहनको प्रसाद ग्रहण गरेपछि उपवास बस्छन् । तेस्रो दिन (बुधबार) फलफूल, केराउ, अरुवा चामल चढाएर पारायण गरेपछि महिलाहरूले भोजन गर्ने परम्परा छ । तिथिमा हेरफेर भए ७२ घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ । यो व्रतमा थुकसमेत निल्न नहुने मान्यता छ ।


पुत्रको सुखशान्ति र दीर्घायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन छ । जितिया पर्वको मुख्य उद्देश्य मोक्षप्राप्तिको कामनासँगै परिवार कल्याण पनि रहेको जानकारहरू बताउँछन् । मैथिली जनशांस्कृतिक मञ्च विराटनगरकी अध्यक्ष राधा कामतले भनिन्, ‘आमाहरूले जितिया पर्व आफ्ना जीवित पुत्रको शुख, शान्ति तथा दीर्घायुका लागि मनाउने परम्परा छ । जितिया पर्वमा महिलाहरू निर्जला अर्थात् पानीसमेत सेवन नगरिकन उपवास बसेर जीतमहान जितमहान भगवान्को पूजाआजा गर्छन् ।’


उनले उपवास बसेका दिन गाउँभरका महिलाहरू एक ठाउँ भेला भएर जितुवाहनको महिमा बारेमा दन्त्यकथा सुन्ने परम्परा रहेको बताइन् ।


उनका अनुसार थारु समुदायमा पारम्परिक गीत, संगीतका साथमा नाचगान सहित जितिया पर्व मनाइन्छ । प्रकृतिको अर्चना पनि थारू समुदायको जितियाको एउटा महत्त्वपूर्ण पाटो हो ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?