२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्राकृतिक सिर्जना उत्सव

अर्जुन शाह

धनगढी —  मुलुकका विभिन्न थलोबाट आएका साहित्यकारले धनगढीमा केन्द्रित भएर आ–आफ्ना सिर्जना सुनाएका छन् । ‘प्राकृतिक सिर्जना उत्सव’ मनाउने क्रममा स्रष्टाहरूले शनिबार दिनभर आफ्ना सिर्जनाहरू पस्केर बहस चलाएका हुन् । सुरुमै ‘मेरो स्वस्तिक छापले मुलुकको सातो उडाइदियो’ व्यंग्यात्मक कविता वाचन गर्दै यहाँका पाका कवि मणिराज जोशीले हल तताए ।

प्राकृतिक सिर्जना उत्सव

सुदूरपश्चिमकी परिचित साहित्यकार श्रेष्ठ प्रिया पत्थरले ‘गुहार, म हराएको छु’ शीर्षकको कवितामा समाजको पछिल्लो चित्र उतारिन् । आधुनिकतासँगै समाजबाट संस्कृति र मानवता हराउँदै गएको र उपभोक्तावादी चिन्तन हावी भएकोप्रति आक्रोश थियो ।

दर्शक/श्रोताले उनको कविताभित्र कञ्चनपुरकी बालिका निर्मलामाथि भएको कुकृत्यजस्ता सामाजिक विकृति पनि झल्किएको महसुस गरे । राजधानीबाट आएका कवि केशव सिग्देलले ‘एक साँझ’ कविता सुनाउँदा अर्का कवि विनोदकुमार भट्टराईले सामाजिक सुरक्षाको अवस्था कमजोर भएको भावको कविता सुनाए । धनगढीकै जन रसिकले छाउपडी प्रथाविरुद्ध कविता प्रस्तुत गरे । यसपछि कवि मञ्जु काँचुलीले प्रस्तुत गरेको कविता ‘आमाको आँशुले’ सिंगो हल भावुुक बन्यो ।


‘कलासाहित्य यात्रा–२०७५’ अन्तर्गत धनगढीमा यसरी मुलुकभरका स्रष्टाहरू जमघट भएका हुन् । नेपाली कला साहित्य डटकम प्रतिष्ठान ललितपुर र नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान धनगढीले गरेको साहित्यिक उत्सवमा राजधानीबाटै आएका कवि लक्ष्मण गाम्नागेले ‘सरकारलाई सघाउनुस्’ शीर्षकको व्यंग्यात्मक सिर्जना पस्किए । सिस्नुपानी नेपालका अध्यक्षसमेत रहेका उनले अहिलेको बेथिति झल्काउने सन्दर्भलाई कलात्मक रूपमा व्यंग्य कवितामा उतारेका थिए । यसपछि धनगढीकै कवि तोयानाथ भट्टको राष्ट्रप्रेमले ओतप्रोत ‘नेपाल हेरिरहुँ’ कविता सुनाए ।


राजधानीबाटै आएका जंग चौहान, अशेष मल्ल, युवराज नयाँघरे, मोमिला जोशी, हरिशंकर मानसाग्नि, राजेश्वर कार्की, अभय श्रेष्ठले माहोल जमाउँदा तीर्थराज भट्ट, कृष्णराज डीसी, हेमन्ती जोशी, कपिल अन्जानले पनि कवितामार्फत वर्तमान सामाजिक बेथितिप्रति चिन्ता जाहेर गरे । स्रष्टाहरूका सिर्जनामा राजनीतिक व्यंग्य, राष्ट्रप्रेम, मायाप्रीति, सामाजिक कुसंस्कार, महिला हिंसा लगायतका विषयवस्तु उठाएका थिए ।

उत्सवमा सुदूरपश्चिमका अग्रणी साहित्यकार पदमराज जोशीलाई २५ हजार रुपैयाँसहित यस वर्षको योगेश्वर कलासाहित्य पुरस्कार समेत दिइयो । हरेक वर्ष मुलुकका विभिन्न थलोमा ‘साहित्य र सदभाव’ नारा सहित साहित्यिक यात्रा गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले बताइन् ।

प्रकाशित : आश्विन २२, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?