१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आधा दर्जन स्रष्टा सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — संगीतकार शम्भुजित बाँस्कोटाले अग्रज स्रष्टाका कलाकृति सम्हालेर राख्न नेपालमा एउटा संगीत संग्रहालय आवश्यक रहेको बताएका छन्  । श्रव्य–दृश्य सामग्री राखेर त्यसलाई अवलोकन र अनुसन्धानका लागि खुला गर्दा सांगीतिक इतिहास जोगिने उनको भनाइ थियो  ।

आधा दर्जन स्रष्टा सम्मानित

बाँस्कोटाले बुधबार आफूलाई ‘लाल–समुद्रा बहुप्रतिभाशाली विशिष्ट सांगीतिक सम्मान’ प्रदान गरिएपछि यस्तो विचार सुनाएका थिए । नेपाल सांगीतिक संघले उनीसहित सात स्रष्टालाई सम्मान गरेको थियो । सांस्कृतिक संस्थानमा आयोजित ‘राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार २०७५’ मा संगीतकर्मी र कला पत्रकारलाई सम्मान व्यक्त गरिएको थियो ।


गीतकार रत्नशमशेर थापालाई ‘प्रदीप रिमाल विशिष्ट सांगीतिक सम्मान’ दिइयो भने भोला जोशीलाई ‘पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान’ प्रदान गरिएको थियो । संगीतकार एवं गायक बुलु मुकारुङलाई शिवशंकर मानन्धरका नाममा स्थापित पुरस्कार दिएपछि गायक आनन्द कार्कीलाई ‘फत्तेमान राजभण्डारी सम्मान’ थमाइयो ।


नृत्य निर्देशक वेद गुरुङलाई पनि ‘सांगीतिक विशिष्ट सम्मान’ दिइएको थियो । संस्कृति मन्त्री रवीन्द्र अधिकारीले आयोजकका तर्फबाट सम्मान र पुरस्कार हस्तान्तरण गरेका थिए । उनीहरू सबैलाई सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ दिइएको थियो ।


संगीत साधक कमल क्षेत्रीलाई ‘मधुबाबु थापा सम्मान’ प्रदान गरेसँगै पत्रकार अनन्त वाग्लेलाई ‘कला पत्रकार सांगीतिक राष्ट्रिय सम्मान’ दिइएको थियो । उनीहरूले पुरस्कार स्वरूप क्रमश: १५ हजार र १० हजार रुपैयाँ पाए । पुरस्कार स्थापना गरिएका स्रष्टाका गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । तीर्थराज पोखरेलले फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रैछ...’ गाए भने प्राश्ना शाक्यले प्रदीप रिमालको शब्द रहेको ‘झलझली आँखामा...’ सुनाइन् । दीपेन्द्र बज्राचार्य, ललिता बूढा मगर, विपिनलगायतले ‘म मरे पनि मेरो देश...’, ‘फूलको थुंगा फुलेसरी...’, ‘आज किन रोऊँ–रोऊँ...’ लगायत गीत गाएका थिए ।


मन्त्री अधिकारीले सरकार कला क्षेत्रलाई लिएर गम्भीर रहँदै आएको बताए । संगीतको प्राज्ञिक विकासका लागि के–कस्तो गर्न सकिन्छ भनेर आफूहरूले गृहकार्य गरिरहेको उनको भनाइ थियो । ‘आजको सम्मान सम्पूर्ण संगीतकर्मीका लागि हो,’ उनले भने, ‘अग्रजबाट युवाले सिक्नुपर्छ ।’

प्रकाशित : आश्विन २५, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?