१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

यस्ता छन् मातृभाषी स्रष्टाहरूको दसैं योजना

‘दसैं आफूतिर हेर्ने बेला हो । त्यसैले दुई–चार दिन एकान्तमा ध्यान योग गरेर बिताउने योजनामा छु ।’
गणेश राई

काठमाडौँ — दसैं, नेपालीको साझा पर्व । त्यसैले पनि सरकारले लामो बिदा दिने गर्छ । बहुजातीय, बहुधार्मिक मुलुकमा सबै जातजातिमा सद्भाव कायम छ । दसैंको छुट्टी सबैले आ–आफ्नै शैलीमा मनाउँछन् । कामकाजले सहर झरेकाहरू यसबेला टीका थाप्नैका लागि पनि थातथलो फर्किन्छन् ।

यस्ता छन् मातृभाषी स्रष्टाहरूको दसैं योजना

यही अवसरमा नातागोता, इस्टमित्र, परिवारजन भेटघाट, मीठोमसिनो खानपिनसँगै टीका र आशीर्वाद थाप्ने परम्परा छ । हिन्दु धार्मिक परम्पराअनुसार नवरात्रभर पूजाआजा हुन्छ । हिन्दु इतरका मातृभाषाका सर्जकले दसैं बिदालाई सिर्जनात्मक बनाउने योजनामा छन् ।

‘चार/पाँच वर्षदेखि दसैंको बेला म काठमाडौं रहिनँ,’ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तारामणि राई भन्छन्, ‘यसपटक पनि दसैं, तिहार गाउँतिरै बित्नेछ ।’ उनी उदयपुरको लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका हुन् । उनी लेखक तथा मिडियाकर्मी पत्नी छिला राईका साथ गाउँमा केही नयाँ अनुसन्धानका काम गर्ने बताउँछन् ।

‘गाउँपालिकाका जनप्रतिनिधि र अधिकारीले स्थानीय भाषा नीति बताउने योजना राखेका छन्,’ भाषाशास्त्री राई भन्छन्, ‘भाषानीतिको काम सकेपछि इलाम र भोजपुरमा लिङखिम भाषाको स्थलगत सर्वेक्षण गर्न जानेछु ।’

लेखक छिलाले ‘जलवायु परिवर्तनले आदिवासी जनजातिमा पारेको प्रभाव’ र ‘आधुनिक विकासले जनजातिमा पारेको प्रभाव’ बारे स्थानीय गाउँघरलाई आधार मानेर अध्ययन गर्ने बताइन् ।

तामाङ र नेपाली भाषाकी स्रष्टा विना थिङ काठमाडौंवासी हुन् । ‘दसैं बिदा मातृभाषाको कथा लेखनमा बित्छ,’ दुई कृतिका स्रष्टा थिङ भन्छिन्, ‘अमेरिकामा रहनुभएका दिलीप योन्जन तामाङको नेपालीमा प्रकाशित मुक्तक संग्रहलाई तामाङ भाषामा अनुवाद गर्ने काम भइरहेको छ ।’

ओखलढुंगाकी किरात बाहिङ भाषी स्रष्टा रेनुका बाहिङको दसैं मातृभाषा लेखन र सम्पादनमा बित्ने बताउँछिन् । ‘यो दसैंभरि बाहिङ किरात मुलुखिम संस्थाको मुखपत्र ‘मिम्खा’ प्रकाशन, सम्पादन कार्यमा जुटेका छौं,’ हालै मात्र मातृभाषाको दोस्रो कृति प्रकाशन गरेकी रेनुका भन्छिन्, ‘बाहिङ भाषामा हालसम्मको उपलब्धिको चियोचर्चा गर्दै त्यसलाई दस्तावेजका रूपमा प्रकाशन हुँदैछ ।’

मगर भाषाका उपन्यासकार सञ्जोग लाफामगर दुई मगर स्रष्टाका कविता कृतिको पाण्डुलिपि अध्ययनमा व्यस्त छन् । ‘दसैंकै छेकोमा मेरा दुई छोरीलाई लिएर तनहुँको मगर गाउँ डुल्न जाँदैछु,’ उदयपुर निवासी लाफामगर भन्छन्, ‘छोरीहरूले फरक भूगोलमा रहेका मगरको जनजीवन र भाषा बुझ्ने छन् ।’

गुरुङ भाषाका युवा कवि छम गुरुङ दसैं आइनपुग्दै गोरखाको सेर्बुखल गाउँ पुगिसकेका छन् । ‘गाउँमा मातृभाषा सिर्जनाको वातावरण बनिसकेको छैन, आफन्तहरूसँग भेटघाट हुन्छ,’ फोटोग्राफीसमेत गर्ने उनी भन्छन्, ‘गाउँमा बूढापाकाहरू यतिखेरै भेटिने भएकाले लोकवार्ताबारे केही अध्ययन र रेकर्ड गर्दैछु ।’

त्यसै गरी ओखलढुंगाका वाम्बुले भाषी लेखक विकास सौगात यसपटक लोकसंस्कृतिको भिडियो निर्माण गर्ने योजनामा छन् । ‘यसपालि नयाँ क्यामरा हातपरेको छ,’ उनी भन्छन्, ‘मातृभाषा, मुन्धुम संस्कृति, गाउँघरको समसामयिक विषयलाई समेटेर भिडियो सामग्री जुटाउने योजना छ । हेरौं कति भ्याइन्छ ।’

बान्तावा भाषी लेखक चन्द्रकुमार राई ‘हतुवाली’ किरात संस्कृतिसम्बन्धी छैटौं र सातौं कृति प्रकाशनका निम्ति परिमार्जनमा व्यस्त छन् । त्रिविबाट संस्कृति विषयको विद्यावारिधि शोधार्थीसमेत रहेको उनी भन्छन्, ‘दसैं बिदा साँच्चै आफ्नो बनाउन लागिपरेको छु । वाबुक अर्थात् चिन्डो विषयलाई लिएर आठौं कृति पनि तयारी गर्दैछु ।’

मातृभाषा साहित्य प्रतिष्ठानकी अध्यक्ष तथा साहित्यकार सुलोचना मानन्धरको योजना भने नितान्त फरक छ । ‘दसैं दुर्गा भवानीको पूजा मुख्य हो,’ आफ्नो दसैं अरूको भन्दा फरक रहने उल्लेख गर्दै उनी भन्छिन्, ‘तर मलाई बलिपूजा मन पर्दैन । यो आफूतिर हेर्ने बेला हो । त्यसैले दुई–चार दिन एकान्तमा ध्यान योग गरेर बिताउने योजनामा छु ।’

भाषाविद् अमृत योन्जन तामाङ भाषिक मानवअधिकारको दृष्टिकोणले सरकारले समान व्यवहार गर्न जरुरी रहेको बताउँछन् । ‘नेपाली भाषा सरकारी कामकाजको भाषा भनिएको छ र अरू भाषालाई मातृभाषा भनिँदै आएको छ,’ विभेद कायम रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘नेपाली भाषाजस्तै मातृभाषाका स्रष्टा मातृभाषा केन्द्रित भएर रचना गर्न सकेका छैनन् । त्यसैले छरपस्ट रूपमा मातृभाषाका काम भइरहेका छन् । मातृभाषा साहित्यकारहरूको भेला, सिर्जना र छाप्ने प्रयास गर्न जरुरी छ ।’

मातृभाषालाई नेपाल प्रज्ञा प्रतिष्ठानले प्राथमिकता दिन नसकेको तामाङ उल्लेख गर्छन् । ‘भाषा आयोग बनेको छ तर मातृभाषा साहित्यलो प्रकाशनले स्थान पाएको छैन । मातृभाषामा अध्ययन, अनुसन्धान र प्रकाशन गहकिलो काम भइरहेको छैन,’ उनी भन्छन्, ‘सरकारले केही गरेको छैन भन्ने स्थिति पनि छैन ।’

प्रकाशित : आश्विन ३१, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?