म्हेनिङ उल्लास

कान्तिपुर संवाददाता

काठमाडौँ — यतिखेर तामाङ समुदायमा म्हेनिङ पर्वको उल्लास छाइरहेको छ  । आफन्त, इष्टमित्र भेटघाट, भोजसँगै नाचगान सहितको यो पर्व तामाङ पात्रोअनुसार म्हेनिङ (असोज) महिनामा पर्ने भएकोले ‘म्हेनिङ’ नै नाम रहन गएको युवा संस्कृतिविद् एवं लेखक खोजराज गोलेले बताए  ।

म्हेनिङ उल्लास

बोन परम्पराअनुसार प्रकृति र कुलपूजासँग सम्बन्धित यो पर्व असोज शुक्लपक्षको फूलपाती तिथिबाट सुरु हुन्छ ।


‘पहिलो दिन खेप्पासुङ (कुलपूजा) सहित भाले काटेर भोज खाइन्छ,’ ‘म्हेनिङ’ नामक अनुसन्धानमूलक कृतिका लेखक समेत रहेका गोलेले भने, ‘रक्सी, भालेको मासु र सोल्मो (चामलको परिकार) सहितको भोज खाएर म्हेनिङ सुरु हुन्छ ।’


खेप्पासुङलाई ठाउँअनुसार ‘आखे छ्योइबा’ पनि भनिन्छ । खेप्पासुङको बेला बोन परम्पराअनुसार चामलको पिठोबाट आँगनमा त्रिशूल सहितको मण्डला बनाएर टोटलाको फूल र फापरपाती (भीमसेनपाती) चढाउने परम्परा छ । गोलेका अनुसार यही दिन सयपत्री फूल भित्र्याउने चलन पनि छ । कतैकतै बौद्ध परम्पराअनुसारको पूजा हुन्छ भने बोन परम्पराअनुसार चाहिँ ढ्याङ्ग्रो बजाएर बोन्बोले मन्त्रवाचन पनि गर्छन् । दोस्रो दिन राँगा काटेर भोज खाने र तेस्रो दिन निराहार बसेर छ्योर पूजा गरिन्छ ।


‘छ्योर भनेको दस दिशाको बुद्धको पूजा हो, यही दिन ज्योहो (प्रकृति पूजा) पनि गरिन्छ,’ उनले भने, ‘चौथो दिन चाहिँ आफन्त भेटघाट र सेतो टीका लाउने चलन छ ।’ यसपछि टीका थाप्न आफन्तजनकोमा जाने दिन एक सातासम्म जारी रहन्छ ।


गायक तथा संस्कृतिकर्मी फूलकुमार बमजनका अनुसार तामाङ समुदायको यो निकै पुरानो मौलिक पर्व हो । खासगरी बोन परम्परा अनुसार तत्कालीन कृषि प्रणाली र प्रकृतिसँग जोडिएको पर्व भए पनि बौद्धमार्गी तामाङहरूले पनि म्हेनिङ मनाउँछन् । तामाङ समुदाय आठौं शताब्दीमा (पद्मसम्भवको समय) बोनबाट बौद्धमार्गी बन्ने प्रक्रिया सुरु भएको मानिन्छ । ‘अहिले यो पर्व बोन र बौद्ध दुवै संस्कृतिबाट मिश्रित छ,’ सिन्धुली घरमा म्हेनिङ मनाएर फर्केका बमजनले भने, ‘दसैंसँगै यो पर्व पर्ने भएकाले अहिले एकप्रकारको भ्रम चाहिँ पैदा भएको छ ।’

प्रकाशित : कार्तिक ५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?