लोकसंकृति प्रवर्द्धनमा स्थानीय सरकारको ध्यानाकर्षण 

कान्तिपुर संवाददाता

भोजपुर — लोकवार्ता परिषद् नेपालले स्थानीय लोकसंस्कृतिको जगेर्ना गर्न नगरपालिका र गाउँपालिकाको विशेष ध्यानाकर्षण हुनुपर्ने माग गरेको छ । परिषद्को भोजपुरमा बिहीबार सम्पन्न आठौं सम्मेलनपछि नौ बुँदे घोषणापत्र जारी गर्दै उक्त माग गरेको हो । 

लोकसंकृति प्रवर्द्धनमा स्थानीय सरकारको ध्यानाकर्षण 

‘नेपालको संविधान २०७२ ले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संवर्द्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको हुँदा लोकवार्ताका विभिन्न विधा र प्रतिभाको संरक्षण संवर्द्धनका निमित्त नगरपालिका र गाउँपालिकालाई सचेत रुपमा सक्रिय हुन आह्वान गर्दछौं,’ घोषणापत्रमा भनिएको छ ।


‘हाम्रो परम्परा हाम्रो पहिचान’ नारासहित सम्पन्न तीन दिने सम्मेलन प्रदेश नम्बर १ भोजपुरको सदरमुकाम, अरुण पौवादुम्मा गाउँपालिका र दिङ्गलामा सम्पन्न भएको हो । सम्मेलनमा लोकवार्तासम्बन्धी विविध पक्षका ६१ वटा गोष्ठीपत्र प्रस्तुत गरिएका थिए । साथै सहभागीलाई भोजपुरका टक्सार, प्याउली गढी, दिङ्लालगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रको अवलोकन, निरीक्षण गराइएका थिए ।

सदरमुकाममा भव्य ऱ्यालीसहित सुरु भएको सम्मेलनको अन्तिम दिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । घोषणापत्रमा भोजपुर सदरमुकाम जोड्नेलगायत विभिन्न गाउँपालिकाका सडकहरु तत्काल निर्माण गर्नु पर्ने, षडानन्द–योगमाया विश्वविद्यालय तथा प्राज्ञिक प्रतिष्ठान स्थापना गर्नु पर्ने माग गरिएको छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयले लोकवार्ता विषय पठनपाठन व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।


लोकवार्ता परिषद् नेपालको भोजपुरमा सम्पन्न आठौं सम्मेलन समापन समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला, परिषद्का अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्री, भोजपुर क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठलगायत । तस्बिर सौजन्य : डिल्लीरमण सुवेदी

प्रकाशित : कार्तिक १५, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?