कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अनिताको नारी स्वर

कान्तिपुर संवाददाता

काठमाडौँ — नारी हिंसाविरुद्ध सामाजिक संजाल तातिरहेको बेला कवि अनिता लामाले बुधबार राजधानीमा कवितामार्फत नारी सशक्तीकरणको वकालत गरिन्  ।

अनिताको नारी स्वर

धुम्बाराहीस्थित महिला सामुदायिक कार्यक्रम संचालन समिति र महिला सामुदायिक केन्द्रद्वारा आयोजित एकल कविता वाचनमा उनले अधिकांश सिर्जनामा नारी विषय मुखर रहिन् ।


हालै तेस्रो कविताकृति ‘आतुङ’ सार्वजनिक गरेकी उनले ‘सलाम आदरणीय आमाबुबा’ कवितामार्फत वाचन थालेकी थिइन् । यसपछि ‘नागरिकता’ र ‘रगत’ कवितामा नारी शक्तिको प्रसंशा गर्दै समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रति व्यंग्य कसिन् । नारीलाई दोस्रो दर्जाको नागरिक र भोग्य बस्तु मान्ने परम्परागत पुरुष मनोविज्ञानकै कारण समस्याहरू पैदा भएको उनका कविताको आशय थियो । ‘६ बराबर ६’ कवितामा भने उनले छ दिदी बहिनीलाई प्रतीकात्मक रुपमा उभ्याउँदै नारी शक्तिको बखान गरिन् । ‘स्वस्थानी साङ्गे’, ‘भिडियो कल’ र ‘ह्यारी, आस्याङ र साहिबा’ मा वैदेशिक रोजगारीको दर्दनाक कथा भनिन् । यसपछि उनले ‘विद्यार्थी’, ‘त्यो दिन’, ‘मेरो देश मेरो सर्वस्व’ लगायत डेढ दर्जन कविता सुनाइन्, वाचनमा कवि फूलमान वलले पनि सघाए ।


समालोचक तथा कवि सुरेश हाचेकालीले अनिताका लेखनमा माक्र्सवादी सौन्दर्यचेत, राष्ट्रिय एकता र महिला उन्मुक्तिको स्वर पाएको दावी गरे । पुर्व सभासद मीरा ध्वँजु, राष्ट्रिय नाचघरका महानिर्देशक राजेश थापा र शिवकुमारी खनालले अनिताका कवितामा समकालिन राजनीतिक तथा सामाजिक चेतना सशक्त रुपमा पाइने बताए । कविता वाचन अघि सरिता लामा, सविता लामा र संगिता लामाले नृत्य प्रस्तुति दिएका थिए ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?