मधुवनले सम्झ्यो चाडपर्व

कान्तिपुर संवाददाता

काठमाडौँ — तिहार तथा छठ पर्वको अवसरमा मधुवन साहित्यिक प्रतिष्ठानले शनिबार राजधानीमा शुभकामना आदानप्रदानसहित कविता वाचन कार्यक्रम गर्‍यो  ।

एक दशकअघि रेडियो नेपालको साहित्यिक कार्यक्रम ‘मधुवन’ बाट प्रभावित बनेर स्थापना गरिएको युवा स्रष्टाहरूको यो संस्थाले चाडपर्वलाई साहित्यिक बनाउने ध्येयले कार्यक्रम गरेको हो । कार्यक्रममा कवि उषा शेरचन, मञ्जु काँचुली, मोमिला जोशी, विप्लव ढकाल, शीतल कादम्बिनी, मणि लोहनी, ठाकुर बेलबासे, फूलमान वल, चन्द्रवीर तुम्बापो, रामगोपाल आशुतोष, भगवती बस्नेत, महेश क्षितिज, देवकी अभिलाषी, अमृता स्मृति, निर्भीकजंग रायमाझी लगायतले कविता सुनाए ।

नेपाल प्रज्ञा प्रतष्ठिानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले चाडपर्वको सन्दर्भमा अग्रजदेखि अनुज पुस्तासम्मको स्रष्टा एकै थलोमा भेला हुनु निकै सकारात्मक रहेको दाबी गरे । सञ्चारकर्मी एवं कवि नवराज लम्सालले आफ्नो रेडियो कार्यक्रमबाट प्रभावित भएर संस्थागत साहित्यिक अभियान हुनुले गर्वित तुल्याएको दाबी गरे ।

कवि जीवन खत्रीको पहलमा स्थापना भएको प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधिका साथ एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित गरिसकेको छ । ‘अब फेरि उत्तिकै जोसका साथ सक्रिय हुँदै छौं,’ अध्यक्ष खत्रीले भने, ‘यस पटक तिहार र छठलाई स्रष्टासित जोड्न चाहेका हौं ।’

Yamaha

प्रकाशित : कार्तिक १८, २०७५ ०९:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विपरीत सपनाहरू

ग्यालरीमा दुई शताब्दीको नेपाल
कान्तिपुर संवाददाता

काठमाडौँ — पुरानो टयांका । टयांकामाथि आधा जलेको लिम्बू भाषाको किताब । धनकुटा चौबिसेमा जन्मिएका मेख लिम्बूले आफ्ना बाबु र बाजेले प्रयोग गरेका टयांका र उनीहरूबाट सुन्दै आएका कथनहरूलाई नै कलाको रूपमा उतारेका छन् ।

त्रिपुरेश्वरस्थित आर्ट ट्रीको ओपन स्टुडियोमा ‘विपरीत सपनाहरू’ शीर्षकमा सुरु गरिएको सामूहिक कला प्रदर्शनीमा ‘मातृभाषा कसरी बिर्सिएँ’ शीर्षकको कलाले हेरेपछि इतिहासको एउटा नमिठो सत्यबोध हुन्छ ।

‘पञ्चायत कालमा विद्यालयमा एक भाषा एक भेष, एक धर्म एक देश नारासहित नेपाली भाषा अनिवार्य लागू गरियो,’ उनले आफ्ना बाबुबाजेबाट सुनेका कुरालाई उद्धृत गर्दै भने, ‘मातृभाषा पढेको वा लेखेको थाहा पायो भने नि च्यातिदिने, जलाइदिने भएपछि लिम्बू भाषा नै पढाउन छोडियो । त्यसको असर अहिले हामीमा परेको छ ।’ मेख आफैं पनि पाँच वर्षको उमेरसम्म घरमा मातृभाषामा बोल्थे । विद्यालयको कक्षामा पुगेपछि उनलाई नेपाली पढ्नै पर्ने बाध्यता भयो । मिहिनेत गरेर पढ्नुपर्‍यो ।

उनका बुवा गाउँमै पहिलो पटक एसएलसी दिने पहिलो व्यक्ति थिए । बोलिआएको भन्दा फरक भाषामा प्रारम्भिक शिक्षा लिनु पर्दाका दु:ख र आफ्नो मातृभाषा पढ्न खोज्दा पाएको सकस मेखले बुबाबाटै सुनेका थिए । यति बेला उनले ग्यालरीमा कलाकृतिको रूपमा बुबा र आफूले पढेको तिनै ‘महेन्द्र माला’ पुस्तक, त्यतिखेरका प्रश्नपत्र र हस्तलिखित निबन्ध, कविता, गीतहरूको पाना पनि सजाएका छन् । ‘हाम्रो मात्रै हैन, पञ्चायतको बेला सुरु भएको पाठयक्रमअनुसार सुनियोजित रूपमा नेपालका विविधतालाई मेटाउने प्रयास गरियो,’ उनी भन्छन्, ‘त्यसको असर आदिवासी जनजाति समुदायमा बढी पर्‍यो र तिनका भाषा र लिपि हराउने क्रम सुरु भयो ।’

प्रदर्शनीमा सुवास तामाङले पनि ‘महेन्द्र माला’ कै कभर ढुंगामा कँुदेका छन् । ‘इन्टरएक्टिभ इन्स्टलेसन आर्ट’ को रूपमा राखिएको ढुंगाका प्लेटहरू किताब पल्टाएसरी पल्टाउन मिल्छ । एकापट्टि ‘महेन्द्र माला’ को कभर छ भने अर्काेतिर पुस्तकको भित्री च्याप्टरहरूका अक्षरहरू हुबहु कुँदिएका छन् ढुंगामै । बुबाको स्टोन कार्भिङ कामलाई नै नयाँ शैलीमा पेस गरेका सुवासले दुई महिना लगाएर यी अक्षरहरू कुँदेका छन् । ‘अहिले मालालाई एकताको सूत्रको रूपमा बुझिन्छ,’ उनी भन्छन्, ‘तर त्यति बेला सबैको आफ्नो मौलिकता बिर्साएर उस्तै बनाउने षड्यन्त्रको रूपमा यो माला तयार पारिएको देखेँ ।’

त्यस्तै हितमान गुरुङले बनाएको कलाकृतिमा भने दुई प्रकारका बक्सहरू छन् । माथिल्लो उज्यालो बक्समा जंगबहादुरले जारी गरेको मुलुकी ऐनदेखि नेपालको संविधान राखिएको छ भने तलपट्टि अँध्यारो र सानो बक्समा संविधान जारी गर्ने क्रममा पत्रपत्रिकामा छापिएका तल्लो वर्गको आक्रोशका समाचारका फोटोहरू राखिएका छन् । उनको यो कलाकृतिले नेपाली समाजको शासकीय र शासित दुई विपरीत धु्रवहरूलाई संकेत गर्छ । एकातिर संविधान बनेको खुसियाली र अर्काेतिर नागरिकका मत र आवाज ओझेलमा पारिएको सन्दर्भलाई हितमानले आफ्नो कलामा उतारेका छन् ।

भर्‍याङमुनिकै सानो स्पेसमा लभकान्त चौधरीको कला राखिएको छ । त्यहाँ थारू समाजको प्रतीक स्वरूप १३ वटा घैलाहरू छन् । थारू परम्परामा झिझिया नाच लोकप्रिय छ । नाच्नेहरूले टाउकोमा घैला राख्छन् र घैलामा विभिन्न आकृतिहरू खोपेर घैलाभित्र दियो बाल्छन् । थारू समुदायको उक्त संस्कृतिको पाटोको प्रयोग गरेर लभकान्तले नेपालको २ सय वर्षको समयरेखाको महत्त्वपूर्ण घटना (उत्पीडन) र दमनको सिलसिलालाई घैलामा खोपेका छन् । सुरुमा पृथ्वीनारायण शाहको एउटा औंला, जंगबहादुर राणा, राजा महेन्द्र लगायत संविधान भवनहरूदेखि संविधानको विरोधमा टीकापुरमा भएको आन्दोलनका घटनाबारे निकालिएको रिपोर्टहरू कुँदेका छन् । घैलामुनि पराल राखिएको छ ।

जंगबहादुरको मुलुकी ऐनमा ‘मासिन्या मतुवाली’ भनेर राखिएको थारू जातिलाई राज्यले जे गरे पनि हुने व्यवस्थाले उनीहरूमाथि भएको अन्यायको प्रतीकात्मक रूप लभकान्तको कलामा देख्न सकिन्छ । अर्का कलाकार विकास श्रेष्ठले काठमा विभिन्न बुट्टा कुँदेर नेपालको सम्पदामाथिको विनाश देखाउन खोजेका छन् । काठमा कम्प्युटर न्युमेरल कन्ट्रोल (सीएनसी) प्रयोग गरी उनले बुट्टा कुँदेका हुन् ।


विपरीत कुराहरूलाई एक ठाउँमा ठक्कर र फिक्सनका रूपमा देखाउन खोजेको उनले बताए । ‘नेपालमा काठको लामो इतिहास छ, अहिले पनि काठमा बुट्टाहरू कुँदिएको देख्न सकिन्छ,’ उनले भने, ‘त्यही परम्परागत वस्तुस्थिति काठमा देखाउन खोजेको छु ।’ उनले काठमा वसन्तपुरको परम्परागत स्वरूपदेखि तलेजु भवानी लगायतलाई उतारेका छन् । उनले भने, ‘काठमाडौंमा किराँतकालदेखिको सभ्यता छ, शताब्दियौंदेखि बाँचेको सभ्याता १० वर्षमै सिद्धिने अवस्था बन्दै छ । त्यसैले चिन्ता लाग्छ ।’

त्यस्तै शिलाशा राजभण्डारीले भत्किएको घरको झयाल जोडेर लुगा झुन्डयाउने तीन र्‍याक बनाएकी छन् । प्रत्येक र्‍याकमा दुई लुगा झुन्डिएका छन् । एउटा आदिवासी सादा पहिरन छ भने अर्काेमा ब्रान्डेड स्टिकर टाँसिएका छन् । ‘कल्चरल कोलोनाइजेसन’ शीर्षकमा राखेको उक्त कलाले ब्रान्डको आकर्षणलाई तिखो व्यंग्य गरेको छ । ‘हाम्रा मौलिक पहिरन नै चिन्न छोडेर ब्रान्डको पछि दौडियौँ हामी,’ उनले भने, ‘ब्रान्डेड हुँदैमा ओरिजिनल हुन्न, तर पनि ब्रान्डेड भनेपछि सबैको आकर्षण हुन्छ ।’ यसका लागि उनले साथीको पनि कपडाको टयाग कलेक्सन गरेर राखेका छन् । प्रदर्शनीमा गुरुङहरूले लगाउने भांग्रा पनि छ । सिस्नुको फाइबरबाट बनाइएको ओरिजिनल भांग्राको अगाडि अहिले कटन धागोबाट बनेको भांग्रा लगाउन थालेको उनले बताए । समयमै यसमा ध्यान नदिए हाम्रा मौलिक कुराहरू मेटिन्छ भन्ने ध्येयले यो बनाएको उनी बताउँछन् ।

यो ‘विपरीत सपनाहरू’ को दोस्रो संस्करण हो । विकासका अनुसार पहिले स्टुडियो नै ओपन गरेर प्रदर्शनी गरिएको थियो । दोस्रो शृंखलामा फरकपन दिन उनीहरूले एक वर्षदेखि छलफल चलाए । छलफल क्रममा उनीहरूले नेपालको मूलधारको ऐतिहासिक वृत्तान्तबाट असंख्य सिमान्तकृत, अल्प सुविधा प्राप्त र आदिवासी समुदायका कथाहरू भेटाए । ‘यद्यपि, यस बीचमा विविधताको सम्मानस्वरूप पहिचान, संस्कृति, भाषा, र धर्मको समान प्रतिनिधित्वका लागि फाट्टफुट्ट आवाज र आन्दोलनहरू नउठेका होइनन्,’ उनले भने, ‘तर तिनलाई रणनीतिक रूपमा राज्यले लगातार दमन गरेको र त्यो जारी रहेकोले यो प्रदर्शनीमार्फत सरोकारवालाहरूलाई ध्यानाकृष्ट गराउन चाहेका हौं’ । प्रदर्शनी मंसिर १ गतेसम्म चल्नेछ ।

प्रकाशित : कार्तिक १८, २०७५ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT