१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

क्यान्सर पीडितलाई जोगाउन देउसीभैलो

आश गुरुङ

लमजुङ — रक्त क्यान्सरका बिरामी बालकको उपचारका लागि रकम संकलन गर्न युवाले देउसीभैलो र नाचगान गरेका छन् ।

क्यान्सर पीडितलाई जोगाउन देउसीभैलो

बेंसीसहर नगरपालिका-३ गाउँसहर थुम्काडाँडाका ५ वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि गाउँका युवाले देउसीभैलो र साँस्कृतिक कार्यक्रम गरी २ लाख ८५ हजार रुपैयाँ जुटाएका छन् ।


प्रशान्तको उपचार गर्न अभिभावकले नसकेपछि गाउँकै जनज्योति युवा क्लवमा आवद्ध युवायुवती तिहारको अवसर पारेर देउसीभैलो र साँस्कृतिक कार्यक्रम मार्फत् रकम संकलन गरेको बालकका ठूलोबुवा तथा क्लवका सल्लाहकार अजय मजाकोटीले बताए । बेंसीसहरमा गरिएको घरदैलो कार्यक्रमबाट ६१ हजार ९ सय ६० रुपैयाँ संकलन भएको छ ।


छिमेकी गाउँमा खेलिएको देउसीभैलोबाट ४३ हजार ४ सय ५० र गाउँमा आयोजित साँस्कृतिक कार्यक्रमबाट १ लाख ८० हजार रुपैयाँ संकलन भएको क्लवका अध्यक्ष सञ्जय दुलालले बताए । व्यवस्थापन खर्च कटाएर संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको उनले बताए ।


बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालकको जीवन रक्षाका लागि गाउँका युवायुवती र अभिभावकले पुन्यकर्म गरेको बताए । ‘सवै एकजुट भए संसार जितिन्छ भन्छन् । हो, एकजुट भएमा सबै काम हुनसक्छ,’ उनले भने । सामूहिक एकताले विकास गर्न सकिने र छुवाछुत, हिंसा, लागु औषध दुर्व्यसन लगायतका धेरै विकृति/विसंगति हटाउन सकिने बताए ।


बालकको उपचारका लागि निर्मल देउजा र रीता देउजाले ३० हजार, बेंसीसहर नगरपालिका-८ शेरास्थित मर्स्याङ्दी बीपीएस फेन्सीका सञ्चालक राज रम्तेलले २१ हजार, गाउँसहरका काजीराम हिमाली र अमृता हिमालीले १० हजार, स्थानीय गोदावरी आमा समूहल १० हजार, मञ्जरी नाट्य समूहले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।


क्लवका पूर्व अध्यक्ष अंभिरप्रसाद विकका अनुसार साँस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार शिवराज गौतम, गायक डि.वि.मजाकोटी, लमजुङ कलाकार संघका अध्यक्ष शुभाष कुँवर, गायक मिलन घिमिरे, नवगायक सुजन नेपाली, विद्या लम्साल लगायतले आफ्ना प्रस्तुति राखेका थिए । उक्त अवसरमा बालकको उपचारका लागि सहयोग पुर्‍याउन बेंसीसहरस्थित मञ्जरी नाट्य समूहमा आवद्ध कलाकारले लागूऔषध दुव्र्यसन विरुद्ध सचेतनामूलक सडक नाटक प्रस्तुत गरेका मञ्जरीका व्यवस्थापक सञ्जोग लामिछानेले बताए ।


पारिवारिक स्रोतका अनुसार बालक अहिले चरणवद्ध उपचारमा रहेको र लामो समय उपचार गराउनु पर्ने चिकित्सकको भनाई छ । गत बैशाखदेखि बालक विरामी परेपछि उपचारका लागि कान्ति बाल अस्पताल लगिएकोमा रगतको क्यान्सर भएको थाहा भएको उनकी आमा आमा प्रमिलाले बताइन् ।


काठमाडौंमा कोठा भाडा लिएर उपचार गर्दै आएको र हालसम्मको उपचारमा १० लाख वढी खर्च भइरहेको उनले बताइन् । बालकका बुवा रोजगारीको सिलसिलामा कतारमा रहेको उनले बताइन् । बालकको उपचारको लागि हालसम्म गाउँसहरकै पूर्ण देउजाले मकाउबाट १ लाख ८ हजार, इञ्जिनियर राजेन्द्रमान श्रेष्ठले काठमाडौंबाट ५३ हजार, मनबहादुर मजाकोटीले कतारबाट ५० हजार, राजन मजाकोटीले कुवेतबाट २० हजार, संगीता बानियाँले क्यानडाबाट १० हजार रुपैयाँ सहयोग गरेको परिवारले जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?