रुसी साहित्यकारको सम्झना

कान्तिपुर संवाददाता

काठमाडौँ — रूसी साहित्यलाई विश्वमा चिनाउने पहिलो साहित्यकारको रूपमा इभान सेर्गेइभिच तुर्गेनेभलाई लिइन्छ । उनैको रचना सोमबार राजधानीस्थित रूसी सांस्कृतिक केन्द्रमा प्रस्तुत गरिए ।

रुसी साहित्यकारको सम्झना

तुर्गेनेभको द्विशतवार्षिकीको अवसरमा केन्द्र र नेपाल रूस साहितय समाजले गरेको स्मृति सन्ध्यामा उनका चार कविता, उनको जीवनीमा आधारित डकुमेन्ट्री र नाटकको सानो अंश देखाइएको थियो ।

तुर्गेनेभसम्बन्धी देखाइएको रूसी भाषाको डकुमेन्ट्रीलाई समाजका अध्यक्ष जंगव चौहानले अनुवाद गरे ।


डकुमेन्ट्रीमा तुर्गेनेभको जीवन विभिन्न उतारचढावहरूबाट गुज्रिएको देखाइएको छ । बच्चैदेखि विभिन्न विधाका पुस्तकहरू पढ्ने बानी भएका तुर्गेनेभले सुरुवाती चरणमा लेखेका उपन्यासहरू पृथक रहेको रूसी साहित्य समीक्षकहरूले डकुमेन्ट्रीमा बताएका छन् । सन् १८१८ मा जन्मिएका तुर्गेनेभको सन् १८८३ मा निधन भएको थियो । उनका आमाबाबुको मिलन, उनी जन्मनुसम्मको घटना क्रमदेखि उनको अवसानसम्मलाई चालीस मिनेटको डकुमेन्ट्रीमा समेटिएको छ ।


रूसी कला समीक्षकका अनुसार तुर्गेनेभले निरंकुशतन्त्रको विरुद्ध कलम चलाए । तुर्गेनेभकै कृतिको प्रभावका कारण रूसमा दासप्रथा अन्त्य भएको समेत दाबी उनीहरूले गरेका छन् । रूसी साहित्यमा लामो समय खोज तथा अनुसन्धान गरेका नेपाल रूस साहित्य समाजका अध्यक्ष जंगव चौहानका अनुसार तुर्गेनेभले आफ्ना साहित्यमा कहिल्यै राजनीति लेखेनन् तर उनका साहित्यिक कृतिले रूसको राजनीतिमा उथलपुथल नै ल्याइदिएको थियो ।


तुर्गेनेभ सुरुमा स्वच्छन्दतावादी धारामा आफ्ना रचना सिर्जना गर्थे । तर बेलिन्स्की भन्ने साहित्य समीक्षकले उनको तीव्र आलोचना गरे पनि उनी स्वच्छन्दतावादबाट यथार्थवादतिर ढल्किएको रूसी साहित्य शास्त्रका अध्येताहरू डकुमेन्ट्रीमा बताउँछन् । आजीवन विवाह नगरेका तुर्गेनेभका रोचक प्रेम कहानीहरूलाई पनि डकुमेन्ट्रीले समेट्ने प्रयास गरेको छ ।


नारी पात्रहरूलाई उपन्यासमा प्रस्तुत गर्ने तुर्गेनेभको शैली पृथक रहेको उनीहरू दाबी गर्छन् । क्रान्तिमा लागेको, विद्रोही स्वभावका महिला पात्रहरूले तत्कालीन समयमा महिलालाई सशक्त बन्न प्रोत्साहित गरेको तुर्गेनेभको सकारात्मक पाटोको रूपमा अहिले पनि चर्चित रहेको केन्द्रकी निर्देशिका युलिया एन्ड्रोसोभाले बताइन् ।


कार्यक्रममा तुर्गेनेभको चार रूसी भाषाका कविताको नेपाली अनुवाद वाचन गरी सुनाइएको थियो । कृष्णप्रकाश श्रेष्ठले अनुवाद गरेका केही कविता केन्द्रकी अध्यक्ष युलिया, विष्णुबहादुर सिंह, केशव सिग्देल, अशोक थापाले सुनाए । गद्य शैलीका कविता लेख्ने तुर्गेनेभले आफ्ना कवितामा प्रकृतिप्रेम, राष्ट्रप्रेमलगायतलाई प्रमुख रूपमा उठाएको चौहानले बताए ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?