कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चीनबाट ज्यान्झी 

कान्तिपुर संवाददाता

काठमाडौँ — रातो कागजलाई तीनकुने बनाएर उनी कैँचीले बीचबीचबाट काट्दै प्वाल पार्दै थिइन् । तीन घण्टाको मिहिनेतपछि आकर्षक फुलबुट्टे पर्दा तयार भयो । ह: होङले यसरी घरको ढोकामा झुन्ड्याइने परम्परागत ज्यान्झी (कागजको बुट्टेदार पर्दा) बनाउँदै गरेको हेर्न आगन्तुकहरूको भीड लागेको थियो ।

चीनबाट ज्यान्झी 

चिनियाँ फेस्टिभलको पहिलो दिन मंगलबार होटल याक एन्ड यतीमा चिनियाँ कलाहरूमा झुरुम्मै थिए । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित फेस्टिभलको यो आठौं संस्करणमा परम्परागत र आधुनिक कला राखिएका छन् ।


ज्यान्झीकै कुरा गरौँ । चीनमा दोस्रो शताब्दीमा हान वंशको समयदेखि ज्यान्झी ढोकामा झुन्ड्याउने चलन सुरु भएको हो । सिहान प्रान्तकी ५२ वर्षीया होङका अनुसार, अहिले पनि चिनियाँहरूका घरमा यस्तो कागजी पर्दा टाँग्ने गरिन्छ । घर, पूजाआजा र विवाहमा राखिने गरी त्यस्ता पर्दाहरू फरकफरक हुने उनले जनाइन् ।


‘यसले घरको शोभा बढाउँछ नै, यो पर्दा राखेको ढोकालाई भाग्य खोल्ने ढोकाको रूपमा पनि लिइन्छ,’ उनले भनिन् ।


होङले यो सीप आफ्ना अग्रजबाट सिकेकी हुन् । २० वर्षदेखि उनी किशोर पुस्तालाई यस्तै कागजी पर्दा बनाउन सिकाइरहेकी पनि छन् । उनका अनुसार, त्यस्ता पर्दा पहिले रुखका पात, रेशमी कपडा, चाँदीको पाताले बन्ने गरेका थिए भने अचेल छालाको पनि बनाइन्छ । ‘अचेल हातैले बनाउनुपर्दैन,’ उनले भनिन्, ‘हातले आकर्षक र धेरै बुट्टा भएको पर्दा बनाउन एक वर्ष लाग्छ, तर अहिले प्रविधिको विकास भएपछि भने केही समयमै जस्तो खालको पर्दा पनि बनाउन सकिने भएको छ ।’


फेस्टिभलमा चीनकै वु गोवेनले पाँच वर्ष लगाएर कागज काटेर बनाएको कला पनि राखिएको छ । आठ सय सेन्टिमिटर लामो र ३६ सेन्टिमिटर चौडा त्यो कलामा बेइजिङमा आयोजित क्विमिङ फेस्टिभलका बेला बेन नदी किनारमा देखिएका ६ सय ८८ मानिस, ७५ घरपालुवा, १ सय २० रुख, २८ डुंगाजस्ता आकृति समेटिएका छन् ।


फेस्टिभल उद्घाटनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल–चीन सम्बन्ध पाँचौँ शताब्दीदेखि निरन्तर रहेको उल्लेख गर्दै सरकारले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य लिएको बताए । चिनियाँ राजदूत यु हाङले नेपाल र चीन सांस्कृतिक रूपमा मात्रै नभई आर्थिक, शैक्षिक र पर्यटनका हिसाबले पनि निकट रहेको बताइन् ।


फेस्टिभलअन्तर्गत नै बेलुका आर्मी अफिसर्स क्लबमा चिनियाँ राष्ट्रिय कलाकारहरूले नृत्य प्रस्तुत गरे ।


फेस्टिभल बुधबारसम्म चल्नेछ ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?