२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बुवा भैरव, छोरा इन्द्र

प्रशान्त माली

ललितपुर — उत्तमरत्न शाक्य कात्तिक नाचमा प्रमुख देवगणमध्ये एक हुन् । भैरव बनेर नाच्ने गर्छन् । ओकुबहालको चिवलछेँका यी ५३ वर्षीय सोमबारदेखि सुरु नाचमा पनि सहभागी छन् । उनका छोरा पनि उनीसँगै हुन्छन् । उज्ज्वल कात्तिक नाचमा, आवश्यकता हेरी, कहिले इन्द्र त कहिले अनिरुद्ध बन्ने गर्छन् ।

बुवा भैरव, छोरा इन्द्र

‘३६ वर्षअघि मेरा बुवा (देवरत्न) सित कात्तिक नाचमा सहभागी हुन थालेको हुँ,’ उत्तमरत्नले भने, ‘बुवासँग नाचेको मान्छे अहिले छोरासँग पनि नाच्न पाउँदा धेरै खुसी लाग्ने गर्छ ।’


उस बेला पाटन दरबार क्षेत्रको नासल चोकमा कात्तिक नाचबारे प्रशिक्षण हुँदा उत्तमरत्न बुवाको हात समातेर जाने गर्थे । देवरत्नले उनलाई युवा भएपछि मात्र नाचमा प्रवेश गराउने सोचेका थिए । ‘तर मलाई चाहि कहिले देवगण बनेर नाचूँ जस्तो भइसक्या थियो,’ उत्तमरत्नले भने, ‘बुवाका साथीका हजुरबुवाले भोलीदेखि नाच सिक्न आउनू भनेपछि बुवाको कुरा नसुनी नाचमा प्रवेश गर्न तम्सिएँ ।’


यसरी उनी चौध वर्षको उमेरमा देवगण बनेर पहिलो पटक नाचे । उनका बुवाका साथी किरण अहिले पनि कात्तिक नाचमा हिरण्यकश्यपु भएर नृत्य गर्छन् । उत्तमरत्नका अनुसार, त्यति बेला उनका बुवा राजा/मन्त्री र किरण दैत्य भएर नाच्ने गर्थे ।


नाच सिक्न किसली (पूर्णपात्र) मा चामल, सुपारी र ५० पैसा दक्षिणा चढाउनुपर्ने परम्परा थियो । दक्षिणाका लागि घरमा पैसा माग्दा नाचमा नपठाउने डरले हाग्रा (खाल्डोमा गुच्चा छिराउने खेल) खेलेर जितेको पैसा चढाएर नाचमा प्रवेश गरेको उत्तमरत्नलाई अहिले जस्तो लाग्छ । उनी अहिले कलाकार व्यवस्थापन प्रमुख पनि हुन् ।


कात्तिक नाचमा एउटै परिवारका एकभन्दा कलाकार भएकामा उत्तमरत्नहरू मात्र पर्दैनन् ।


पाटनको मोमड गल्लीका ४३ वर्षीय महेश जोशी कात्तिक नाचमा आठ वर्षको उमेरदेखि ख्वपे बा:थ: (भक्तपुरे चलाख व्यक्ति) को भुमिकामा छन् । अहिले उनका १३ वर्षीय छोरा बा:थ: प्याँख (नाच) मा पुनावती, भैरव गणमा महालक्ष्मी, मधुकैटभ वधमा महामाया, बराह अवतारमा सत्यभामा बनेर नृत्य गर्छन् । ‘नाचमा मन दिँदा केटाकेटीको पढाइ खलबलिन्छ भन्ने जनमानसमा बुझाइ छ,’ महेशले भने, ‘तर, नाचमा लागियो भने मल्लकालिन रहनसहन, चालचलन र परम्परा बुझ्न सकिन्छ ।’


मल्लकालीन यो नाचमा पाटनको सुनधारामा रहेको नुवकव गुठीका गुठियारहरूले दैत्यको भूमिका निर्वाह गर्ने गरेका छन् ।


सोमबारदेखि पाटन दरबार क्षेत्रस्थित कात्तिक डलबीमा सुरु कृष्णलीलामा आधारित नाचको पहिलो र दोस्रो दिन बा:थ: प्याँख, तेस्रो र चौथो दिन उषाहरण लीला, पाँचौँ दिन देवी प्याँख हुन्छ । छैटौँ दिन युद्धकला हुँदै एघारौँ दिनमा वस्त्रहरण लीला हुन्छ । बाह्रौँ दिन दधि लीलामा चाहिँ नाच प्रस्तुत हुने गर्दैन ।


कात्तिक नाचमा नरसिंहको भूमिकामा भने कृष्ण मन्दिरका पुजारी नै हुनुपर्ने परम्परा छ । यस वर्ष नरसिंहको भूमिकामा कृतज्ञधर राजोपाध्याय छन् । गत वर्ष प्रतापधर राजोपाध्यायले यो भूमिका खेलेका थिए ।


नाचका वाद्यगुरु केशवकृष्ण श्रेष्ठले भने, ‘कात्तिक नाच श्रीमद् भागवद् गीताको सार हो । राजनीति गर्ने प्राय: व्यक्तिले अहिले पनि गीता अनिवार्य पढ्छन् । यसमा जीवन जिउने तरिकाको व्याख्या गरिएकाले मल्लकालमा गीताको प्रवचन सुनाएर प्रजालाई बुझाउनु सट्टा नाचमार्फत शिक्षा दिन थालिएको हो ।’

प्रकाशित : कार्तिक २८, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?