कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आफ्नो मुलतिर फर्कौं’ 

रासस

दैलेख — लोकसम्पदाको खोज अनुसन्धान गर्न दैलेख आइपुगेको विज्ञ टोलीले सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुमा पुगेर ‘आफ्नो मूलतिर फर्कौं’ नारासहित घोषणापत्र जारी गरेको छ ।

‘आफ्नो मुलतिर फर्कौं’ 

विज्ञ टोलीले दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङमय संगोष्ठी घोषणापत्र जारी गर्दै साविकको मध्यपश्चिम (हाल कर्णाली र प्रदेश नम्बर ५) नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमथलो तथा थुप्रै नेपाली जाति एवं समुदायको पैतृक भूमि रहेको उल्लेख गरेको छ । वर्तमान कर्णाली प्रदेशको सिंजा उपत्यका नेपाली भाषाको मूल थलो रहेको बताउँदै घोषणापत्रमा भनिएको छ, ‘यस भाषाको पहिलो लगायत सबैजसो पुराना अभिलेख सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुमा पाइनाले नेपाली भाषा र यससँग सम्बन्धित संस्कृतिको आदिम थलो मध्यपश्चिम रहेको स्पष्ट हुन्छ ।’


मध्यपश्चिमाञ्चल साहित्य परिषद्द्वारा आयोजित कार्यक्रममा विज्ञ टोलीले दैलेख र दुल्लुमा रहेका मूर्त–अमूर्त सम्पदा जोखिममा परेको र यिनका बारेमा जान्ने र व्याख्या गर्ने व्यक्तिको कमी हुँदै गएको औँल्याउँदै त्यस्ता सम्पदा संरक्षणका लागि प्रदेश र संघीय सरकारलाई प्रभावकारी योजना बनाउन अनुरोध गरिने जनाएको छ । पञ्चकोसी क्षेत्र, सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुका ऐतिहासिक पुरातात्त्विक स्थललगायत स्थललाई विश्व सम्पदा सूचीमा र मुगुको रारालाई रामसार सूचीमा समावेश गराउन प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गरिने टोलीले जनाएको छ ।


यस्तै, दामुपालको शाके ९०३ को नेपाली भाषाको प्राचीनताको निर्धारण प्रमाणीकरण गर्नुपर्ने तथा कर्णाली प्रदेशको मूलरूपलाई नेपाली भाषा र यसबाट जन्मेकालाई भाषिका भन्नुपर्ने घोषणापत्रमा उल्लेख छ । कर्णाली प्रदेशको इतिहास, संस्कृति लिखित एवं लोकसाहित्यको अनुसन्धान केन्द्र, प्रदेश र स्थानीय सरकार तथा प्राज्ञिक संघसंस्थालाई सहभागी गराई विभिन्न विद्वानको सहभागिताद्वारा सम्पन्न गरिने उक्त घोषणापत्रमा उल्लेख छ । दुल्लु घोषणापत्रलाई कार्यान्वयन गर्दै मध्यपश्चिमका विभिन्न जिल्लामा साहित्यिक सांस्कृतिक मञ्चको स्थापनाका लागि प्रयत्नशील रहने विज्ञले प्रतिबद्धता व्यक्त गरेका छन् ।


संगोष्ठीमा कवि, लेखक र संस्कृतिकर्मीसहित दुई जनाको सहभागिता थियो । संगोष्ठीमा चार कार्यपत्र प्रस्तुत गरिनाका साथै कविगोष्ठी पनि गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले ‘नेपाली कवितामा कर्णालीको स्थिति’, डिल्लीराज शर्माले ‘कर्णाली भेगका सांस्कृतिक सम्पदा र ती सांस्कृतिक सम्पदाको अभिव्यक्त हुने धार्मिक समन्वय’, मधुसूदन गिरीले ‘कर्णालीका लोपोन्मुख सम्पदा’ र डिल्लीराज पाण्डेले ‘दैलेखको दुल्लु क्षेत्रमा रहेका संस्कृत र नेपाली भाषा अभिलेख’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली भाषा–साहित्य र सांस्कृतिक खोजको इतिहासमै संगोष्ठी अर्थपूर्ण रहेको प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनाए ।


टोलीमा जगमान गुरुङ, जीवेन्द्रदेव गिरी, विष्णुविभु घिमिरे, केशव सुवेदी, राजाराम सुवेदी, स्रष्टा श्यामल, धनेश्वर नेपाल लगायत विज्ञ सहभागी थिए । टोलीले दैलेख सदरमुकाम नजिकै भुर्तीमा रहेको पञ्चदेवल, बेलासपुर मन्दिर र कोतगढी घुमघाम गरेको थियो । यस्तै, दुल्लुको नेपाली भाषाको पहिलो शिलालेख, तेह्रौं शताब्दीका मूर्ति, देवल, खम्ब, पञ्चकोसी क्षेत्र, कृतिखम्ब, देवललगायत सम्पदा अवलोकन पनि गरेको थियो ।

प्रकाशित : मंसिर १, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?