१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ठडिँदै झमकको घर

काठमाडौँ — अबको केही महिनामै साहित्यकार झमक घिमिरे धनकुटाको विकट गाउँबाट काठमाडौंस्थित गोठाटारमा बसाइँ सर्नेछिन् । यहाँ उनको तीन तलाको घर हुनेछ । पहिलो तलामा भव्य पुस्तकालय हुनेछ, जहाँ उनी प्राय: अध्ययन र लेखनमा व्यस्त हुनेछिन् ।

ठडिँदै झमकको घर

झर्को लागे विद्युतीय लिफ्टबाट छतमा निस्किेछिन् र सहरको ल्यान्डस्केप हेरेर रमाउनेछिन्, आकाशमा उडेका विमानहरू नियाल्नेछिन् ।

‘जीवन काँडा कि फूल’ आत्मसंस्मरण कृतिका लागि मदन पुरस्कार पाएकी झमकलाई साढे दुई वर्षअघि सरकारले गोठाटारमा १२ आना जग्गा उपलब्ध गराउँदै घर बनाइदिने निर्णय गरेको थियो । एउटा सर्जकको सम्मानका रूपमा यो निर्णयको प्रशंसा पनि भएको थियो । यति बेला यही निर्णय धमाधम कार्यान्वयन भइरहेको छ ।

घरको सबै ढलान सकिएको छ । जग्गादाता पशुपति विकास कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच स्पष्टता हुन नसक्दा काम केही समय अलमल भए पनि पछिल्लो महिना घर निर्माणले गति लिएको हो । सरकारले नै बनाइदिने यो घरको नक्साअनुसार पहिलो तलामा पुस्तकालय, अध्ययन कक्ष, भेटघाट कक्ष एवं झमकको सयन कक्ष हुनेछ । दोस्रो तलामा झमकको रेखदेख गर्न परिवार बस्नेछ भने तेस्रो तलामा सभा हल हुनेछ ।


‘काम त निकै अघि बढिसकेको रहेछ,’ शुक्रबार अपराह्न अवलोकनका लागि पुगेकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले खुसी प्रकट गरिन्, ‘अब झमकलाई काठमाडौंमा छिट्टै भेट्न पाउने भयौं ।’ गएको साउनमा शाक्यले जग्गा अवलोकन गरेपछि तुरुन्त भवन निर्माण प्रक्रिया अघि बढाउन सहरी विकास तथा भवन निर्माण विभागलाई आग्रह गरेकी थिइन् । त्यसको अर्को सातादेखि नै सुरु गरिएको निर्माण प्रक्रिया अहिले तीव्रतर भइरहेको छ ।

शुक्रबार झमक साहित्य कला प्रतिष्ठानका पदाधिकारी, झमककै जीवनीमाथि बनाइएको फिल्मकी नायिका एवं रंगकर्मी रोजिता बुद्धाचार्य, कवि अनिता लामा, मूर्तिकार एवं चित्रकार लालकाजी लामा, स्रष्टा रमेश कँडेल लगायतको टोली घर अवलोकनमा गएको थियो । विभागका कर्मचारीहरूले प्रदेश र संघीय सरकारबीचको अन्योलताका कारण रकम निकासा रोकिएकोले निर्माण कार्य केही ढिला भइरहेको टोलीलाई गुनासो गरे ।

‘झमकलाई काठमाडौं राखेर नियमित फिजियोथेरापी गराउने दुई वर्षअघिकै योजना थियो,’ झमक साहित्य कला प्रतिष्ठानकी अनिता लामाले भनिन्, ‘घरकै कारण त्यो रोकियो, अब छिट्टै सबै काम हुनेछ भन्नेमा ढुक्क भएका छौं ।’ जन्मदेखि नै बोल्न, हिँडडुल गर्न र हातले लेख्न नसक्ने साहित्यकार झमकले खुट्टैको साहराबाट ‘संकल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ लगायतका कृतिहरू लेखेकी छन् ।

पूर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेलका पालामा सरकारी प्रयत्न स्वरुप झमकलाई घरको प्रक्रिया अघि बढेको थियो । त्यही समय झमकलाई सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानकी आजीवन सदस्यसमेत बनाएको थियो । ‘स्रष्टाहरू मुलुकको गहना मात्रै हैनन्, सांस्कृतिक चिन्तक पनि हुन्,’ पूर्वमन्त्री पोखरेलले भने, ‘राज्यले उनीहरूलाई सम्मानपूर्वक सघाउनुपर्छ । झमकको घर एउटा अब्बल उदाहरण बन्नेछ ।’

प्रकाशित : मंसिर २, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?