रहेनन् प्राध्यापक मल्ल

गणेश राई

काठमाडौँ — इतिहास, भाषाविज्ञान, नेपालभाषा, साहित्य र संस्कृतिका गहन अध्येता कमलप्रकाश मल्लको शनिबार राति निधन भएको छ ।

रहेनन् प्राध्यापक मल्ल

उनको ८३ वर्षको उमेरमा अमेरिकाको एटलान्टामा निधन भएको हो । मल्ल एक दशकदेखि पार्किन्सन रोगबाट पीडित थिए ।


मल्ल सन् २००६ देखि श्रीमती लक्ष्मीसहित अमेरिकामा बस्दै आएका थिए । ‘दुई हप्तादेखि उहाँका अंगहरूले काम गर्न छाडेपछि पिसहबमा राखिएको थियो । त्यहीं निधन भएको हो,’ उनका कान्छा भाइ तथा अधिकारकर्मी मल्ल के सुन्दरले भने, ‘पारिवारिक सल्लाहअनुसार आउने मंगलबार अमेरिकामै उहाँको अन्त्येष्टि गरिने भएको छ ।’


मल्लको जन्म १९९३ साल लक्ष्मीपूजाका दिन काठमाडौंको बाङ्गेमुढामा भएको थियो । उनी नेपालका पहिलो रजिस्टर्ड वकिल योगेन्द्रप्रकाश मल्ल र तुल्सीमाया मल्लका जेठा सन्तान थिए । उनका चार भाइ, एक दिदी र दुई बहिनी छन् ।


दरबार हाईस्कुलबाट एसएलसी, त्रिचन्द्र कलेजबाट आईए तथा अंग्रेजी साहित्यमा बीए गरेका मल्लले पटना विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरेका थिए । उनले बेलायतको लिड्स विश्वविद्यालयबाट बीए अनर्स र इडनवर्ग विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि उपाधि लिएका थिए ।


त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्राध्यापक उनी त्रिवि अंग्रेजी विभाग प्रमुख र एक कार्यकाल शिक्षाध्यक्षसमेत रहेका थिए । उनी क्यालिफोर्नियाको बर्कले युनिभर्सिटीको भिजिटिङ प्रोफेसरसमेत थिए । साथै जर्जियाको इमोरी युनिभर्सिटीअन्तर्गत तिब्बती बर्मेली शब्दकोश निर्माणमा संलग्न थिए । मल्लले पूर्वराजा ज्ञानेन्द्र र अधिराजकुमार धीरेन्द्रलाई अंग्रेजी पढाएका थिए ।


मल्लको निवास बाङ्गेमुढा क्षेत्रमा सहिद शुक्रराज शास्त्री, गंगालाल, पुष्पलालजस्ता नेताको बसोबास थियो । वामपन्थी विचारका समर्थक उनी त्रिचन्द्र कलेज पढ्ताका अखिल नेपाल विद्यार्थी फेडेरेसनका सदस्य थिए । फेडेरेसनले २०११ सालमा भूगोल पार्कमा आयोजना गरेको सभामा सत्ताविरुद्ध कडा भाषण गरेपछि उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई ९ महिना जेल हालिएको थियो ।


जेलबाट छुटेपछि उनी अध्ययन र अध्यापनमा मात्र लागेका थिए । विद्यार्थी साहित्य मण्डल स्थापना गरी युवाहरूलाई भाषा, साहित्य रचना सिर्जनामा गर्न अगुवाइ गरेका थिए । भाषा, साहित्य, संस्कृतिप्रति रुचि राख्ने मल्लले अंग्रेजी साहित्यको गहन अध्ययन गरेका थिए ।


उनी नेपालभाषालाई फराकिलो दायरामा ल्याउने व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले नेपालभाषाको ग्रन्थसूची पहिलो पटक प्रकाशनमा ल्याएका थिए ।


मल्लको नेपालभाषा, अंग्रेजी र नेपाली भाषामा शोध, अनुसन्धान, आलोचना, समालोचना कृति प्रकाशित छन् । उनका प्रकाशित दुई दर्जनभन्दा बढी कृतिमध्ये ‘द रोड टु नोहवेर’ (कहीँ नपुग्ने बाटो) पुस्तक चर्चित छ । त्यसैगरी ‘क्लासिक नेवारी लिटरेचर’ (नेपालभाषाको प्राचीन साहित्य), ‘अ क्लासिकल नेवारी डिक्सनरी’ (पाँच सय वर्ष पुरानो नेपालभाषा शब्दसहितको शब्दकोश) प्रकाशनमा ल्याएका छन् ।


यो कार्यमा उनले अन्य भाषाविद्हरूसँग समेत सहकार्य गरेका थिए । धनवज्र वज्राचार्यको सहकार्यमा ‘गोपाल राजवंशावली’को व्याख्यासहित अंग्रेजी रूपान्तरण गरेका छन् । यसैगरी ‘फ्रम लिटरेचर टु कल्चर’ (साहित्यबाट संस्कृति) तथा पञ्चायतविरुद्ध लेखिएको ‘काठमान्डु योर काठमान्डु’ (काठमान्डु तिम्रो काठमान्डु) लोकप्रिय कृतिमा पर्छन् । त्यस्तै, अंग्रेजीका प्रसिद्ध कवि टीएस इलियटका ‘वेस्टल्यान्ड’ कृतिको समालोचना ‘अन द वेस्टल्यान्ड’ कृति प्रकाशित छ ।


मल्ल नेपाली इतिहासलाई वैकल्पिक दृष्टिकोणबाट व्याख्या गर्ने चिन्तकसमेत हुन् । उनी इतिहास संशोधन मण्डललाई चुनौती दिन सक्ने एकमात्र विद्वान् मानिन्छन् । मल्लको शोध अनुसन्धानअनुसार नेपाल संवत् स्थापित भएको मानिन्छ ।


उनी पृथ्वीनारायण शाहको अति गुनगानको आलोचक थिए । ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण नभई गोरखा राज्य विस्तार’ मात्र गरेको भन्ने उनको मत थियो । ‘विद्वतापूर्ण अन्वेषण कार्य उहाँले नै सुरु गर्नुभयो,’ मल्ल के सुन्दर भन्छन्, ‘उहाँले जुन कुरा खोज गरी प्रकाशनमा ल्याउनुहुन्छ, त्यसलाई कसैले खण्डन गर्न सक्दैन ।’


नेपालसम्बन्धी अध्ययन गरेका विदेश विद्वान्हरू मेरी सल्सर, जेराल टोफा, सिल्वा लेभी, सुनीतिकुमार चाटर्जीलगायत कतिपय दाबीसमेत उनले खण्डन गरेका छन् । कमलप्रकाश मल्ल भाषाविज्ञानमा विद्यावारिधि गर्ने तेस्रो नेपाली थिए ।


उनीअघि बल्लभमणि दाहाल र शुभद्रा सुब्बाले भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए । उनै प्राध्यापकहरूको पहलमा त्रिविमा भाषाशास्त्रको पठनपाठन सुरु भएको थियो । सन् १९९६ मा त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग गठन भई वार्षिक औसत दर्जनजति विद्यार्थीले भाषाविज्ञानमा स्नातकोत्तर हासिल गर्दै आएका छन् ।


मल्ल भाषाशास्त्रीहरूको संस्था नेपाल भाषाविज्ञान समाज (सन् १९७९) का संस्थापक अध्यक्ष हुन् । त्यसैगरी नेपालभाषा प्रकाशन संस्था च्वसा पासाको अध्यक्ष, नेवा: देय दबुको संस्थापक सदस्य, आशा सफु कुथिका संस्थापक कोषाध्यक्ष थिए ।


मल्लले प्रारम्भिक जीवनमा घरायसी आर्थिक संकट टार्न अमेरिकी सहयोग नियोगमा टाइपिस्टको जागिर गरेका थिए । भाषाशास्त्री योगेन्द्रप्रसाद यादव आफ्ना गुरु कमलप्रकाशको योगदानलाई बहुआयामिक बताउँछन् । ‘उहाँ (मल्ल) मेरा गुरु हुनुहुन्थ्यो,’ यादव सम्झिन्छन्, ‘भाषा, साहित्य, संस्कृति र इतिहासको अध्ययनमा उहाँको महत्त्वपूर्ण योगदान छ ।’


प्राध्यापक अभि सुवेदी आफ्ना गुरु मल्ल धेरै नबोल्ने आफूलाई सिर्जनात्मक तुल्याउन झकझकाइरहने व्यक्तिका रूपमा सम्झन्छन् । भाषाशास्त्र र साहित्यको सम्बन्ध विस्तारबारे उनी भन्छन्, ‘नेपालभाषा, नेवार संस्कृति, सभ्यता, नेपाल मण्डलको संस्कृति बुझ्न भाषाको माध्यम महत्त्वपूर्ण हुन्छ भन्ने उहाँको ठम्याइ हो ।’


मल्ल र उनका चेलाहरूको संयुक्त पहलबाट त्रिविमा भाषाविज्ञान, संस्कृति, साहित्य, इतिहासका पक्षलाई उधिन्ने काम हुन सकेको सुवेदी उल्लेख गर्छन् ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?