चकटीमा ‘योगमाया’
काठमाडौँ — जहानियाँ राणा शासनको समय । भोजपुरको नेपालेडाँडामा जन्मिएकी योगमाया न्यौपाने आम महिलाभन्दा फरक देखिइन् । निरंकुश राणाशासनविरुद्ध उनी सामाजिक विद्रोहमा उत्रिइन् ।
उनकाले त्यति बेला चालेको कदम शासकहरूले भरसक लुकाउन खोजे, तर सकेन । विभिन्न समयमा योगमायाबारे खोजी गरिए । अशिक्षित नेपाली नारीहरूलाई संगठित गरेर त्यति बेलाको पुरातन समाज र सत्तालाई धक्का दिएकी योगमायाबारे नीलम कार्की निहारिकाले लेखेको उपन्यास ‘योगमाया’ ले यस वर्षको मदन पुरस्कार नै पायो ।
नीलमको यही उपन्यासमाथि शनिबार बुकाहोलिक्सले चकटी बहस चलायो । बहसको ५८ औं शृंखलामा सहभागी थिए, योगमायाकै चौथो पुस्ताका डा. दिपेश न्यौपाने । योगमायाको साधनाभन्दा पनि नीलमले सत्याग्रहको पाटोलाई धेरै महत्त्वका साथ प्रस्तुत गरी ऐतिहासिक उपन्यास लेखेको उनले दाबी गरे । नीलमले उपन्यासमा पात्रका रूपमा दिपेशलाई पनि उभ्याएका छन् ।
दिपेशका अनुसार योगमायाले क्रान्तिका लागि हतियार नभई भक्ति मार्ग अपनाइन् । ‘एक अक्षर नपढेपनि उनमा आध्यात्मिक वेद र गीताको ज्ञान थियो । तत्कालीन समयमा भक्ति मार्ग नै उपयुक्त भएको टिप्पणी योगमायाका श्लोक र कविताहरूमा पनि भेटिन्छ,’ उनले भने, ‘उनका श्लोक, कवितामा चेतना, चिन्तन र चमत्कारको फयुजन भेटिन्छ ।’ भक्ति मार्गको अन्तिम बिन्दुको रूपमा योगमायाले ६८ जनासहित जल समाधि लिएको दिपेशले बताए ।
समाजमा क्रान्ति गर्न कागजमा मात्रै क्रान्ति लेखेर नहुने, यसका लागि मानिसको चेतना र चिन्तनमा क्रान्ति गर्नुपर्छ भन्ने सन्देश योगमायाले दिएर गएको पनि दिपेशले थपे । ‘हामीसित दाइजो, छुवाछूत गर्नुहुन्न भन्ने कानुन छ तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘नेपालमा धेरै राजनीतिक परिवर्तनहरू भए, तर सामाजिक परिवर्तन भएन । त्यसैले क्रान्ति मानिसको चेतना र चिन्तनबाट सुरु गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।’ विसं १९३० को दशकमा योगमायाले समाजका सम्पूर्ण जातजातिलाई सँगै राखेर भजनकीर्तन गर्ने, प्रसाद खाने, जातभातविरुद्ध कदम उठाउनेजस्ता कार्यसमेत गरिन् । ‘जुद्धशमशेरको समयमा यो कदमलाई ठूलै क्रान्तिकारी मान्न सकिन्छ,’ उनले भने ।
नीलमको उपन्यासको भाषा सरल भए पनि एकदमै लामो भएकाले पाठक बिच्किने डर हुने पनि दिपेशले टिप्पणी गरे । इतिहास र तथ्य मिसाएर कथात्मक रूपमा छोटो मीठो लेख्दा पाठक आकर्षित हुन सक्ने उनको सुझाव थियो । दिपेशले विद्यावारिधि पनि योगमायामाथि नै गरेका छन् । उनको योगमायाबारे ‘अमरज्योति योगमाया’ नामक पुस्तक पनि प्रकाशित छ ।
प्रकाशित : मंसिर १६, २०७५ ०८:५४