'अक्षर सिम्फोनी’मा विमल

कान्तिपुर संवाददाता

सुनसरी — इलामका कवि विमल वैद्यको ४३ कविता संग्रहित पुस्तक ‘अक्षर सिम्फोनी’ माथि धरानस्थित कवि विमल स्मृति पुस्तकालयमा शनिबार परिचर्चा गरिएको छ ।

कविवैद्यसँग पाठक अन्तक्र्रिया समेत गरिएको परिचर्चामा सुनसरीका अग्रज कवि वम देवानले कृतिबारे समालोचना गरेका थिए ।

Yamaha

‘मलाई इलाम र कवि विमलको सिर्जना उस्तै लाग्छ, उनका कविता प्राय: प्रेमिल हुन्छन्,’ देवानले विमललाई शालीन विद्रोह गर्न मन पराउने कविका रूपमा व्याख्या गर्दै भने, ‘कवितामा आफू बाँचिरहेको समयको प्रेमको कविता लेख्न माहिर देखिन्छन् । तिनै कविताहरू उनले ‘अक्षर सिम्फोनी’ मा समेटेका छन् ।’

झापा, मोरङ, सुनसरी, धनकुटा र पाँचथरका साहित्यप्रेमीमाझ कवि विमलले आफूले प्रेमिल कविता लेख्नुको अर्थबारे प्रस्टीकरणमा भने, ‘४० को दशकदेखि कविता लेखन थालेको हुँ । त्यतिबेला
प्रेमको अनुभव भने हुनैपाएन । बरु पञ्चायत हामीबीच ठिंग उभियो ।’

कविता लेख्न सुरु गरेको त्यस बेला पञ्चायतविरोधी भावनाले आफूलाई पनि प्रभावित बनाएको उनले बताए । वैद्यले भने, ‘त्यसपछि त व्यक्तिगत प्रेम भन्दा पनि राष्ट्रियता, प्रजातन्त्र, स्वतन्त्रता, नागरिकजस्ता विषयलाई समेटेर पो कविता लेख्न थालियो । ती पनि त देश प्रेमकै कविता हुन् ।’

‘आकाश छुन खोज्ने मनहरू’ र ‘समय र सपना’ पछि उनको ‘अक्षर सिम्फोनी’ तेस्रो कृति हो । ‘अक्षर सिम्फोनी’ मा घरको देवता, छुटिरहने साथहरू, घाइते मुस्कान, बूढो चियाबारी र सत्ता, घामको उपद्रो, शीतको प्रेमिल पीडा, मन चोर्ने मान्छे, प्रेमको लय, टेबलमा उदाउने नयाँघाम, साँझ शब्दचित्र लगायत कविता छन् ।

वैद्यले आफ्ना केही कविता वाचन गरेपछि चेवन राईले सहजीकरण गरेको परिचर्चामा कवि मनु मञ्जिल, राज माङ्लाक, हेमन यात्री, बद्रीभिखारी, देवान किराती, सुदीप पािख्रन लगायतले ‘अक्षर सिम्फोनी’ प्रति आफ्नो जिज्ञासा राखेका थिए ।

प्रकाशित : मंसिर १६, २०७५ ०८:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चकटीमा ‘योगमाया’

कान्तिपुर संवाददाता

काठमाडौँ — जहानियाँ राणा शासनको समय । भोजपुरको नेपालेडाँडामा जन्मिएकी योगमाया न्यौपाने आम महिलाभन्दा फरक देखिइन् । निरंकुश राणाशासनविरुद्ध उनी सामाजिक विद्रोहमा उत्रिइन् ।

उनकाले त्यति बेला चालेको कदम शासकहरूले भरसक लुकाउन खोजे, तर सकेन । विभिन्न समयमा योगमायाबारे खोजी गरिए । अशिक्षित नेपाली नारीहरूलाई संगठित गरेर त्यति बेलाको पुरातन समाज र सत्तालाई धक्का दिएकी योगमायाबारे नीलम कार्की निहारिकाले लेखेको उपन्यास ‘योगमाया’ ले यस वर्षको मदन पुरस्कार नै पायो ।

नीलमको यही उपन्यासमाथि शनिबार बुकाहोलिक्सले चकटी बहस चलायो । बहसको ५८ औं शृंखलामा सहभागी थिए, योगमायाकै चौथो पुस्ताका डा. दिपेश न्यौपाने । योगमायाको साधनाभन्दा पनि नीलमले सत्याग्रहको पाटोलाई धेरै महत्त्वका साथ प्रस्तुत गरी ऐतिहासिक उपन्यास लेखेको उनले दाबी गरे । नीलमले उपन्यासमा पात्रका रूपमा दिपेशलाई पनि उभ्याएका छन् ।

दिपेशका अनुसार योगमायाले क्रान्तिका लागि हतियार नभई भक्ति मार्ग अपनाइन् । ‘एक अक्षर नपढेपनि उनमा आध्यात्मिक वेद र गीताको ज्ञान थियो । तत्कालीन समयमा भक्ति मार्ग नै उपयुक्त भएको टिप्पणी योगमायाका श्लोक र कविताहरूमा पनि भेटिन्छ,’ उनले भने, ‘उनका श्लोक, कवितामा चेतना, चिन्तन र चमत्कारको फयुजन भेटिन्छ ।’ भक्ति मार्गको अन्तिम बिन्दुको रूपमा योगमायाले ६८ जनासहित जल समाधि लिएको दिपेशले बताए ।

समाजमा क्रान्ति गर्न कागजमा मात्रै क्रान्ति लेखेर नहुने, यसका लागि मानिसको चेतना र चिन्तनमा क्रान्ति गर्नुपर्छ भन्ने सन्देश योगमायाले दिएर गएको पनि दिपेशले थपे । ‘हामीसित दाइजो, छुवाछूत गर्नुहुन्न भन्ने कानुन छ तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘नेपालमा धेरै राजनीतिक परिवर्तनहरू भए, तर सामाजिक परिवर्तन भएन । त्यसैले क्रान्ति मानिसको चेतना र चिन्तनबाट सुरु गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।’ विसं १९३० को दशकमा योगमायाले समाजका सम्पूर्ण जातजातिलाई सँगै राखेर भजनकीर्तन गर्ने, प्रसाद खाने, जातभातविरुद्ध कदम उठाउनेजस्ता कार्यसमेत गरिन् । ‘जुद्धशमशेरको समयमा यो कदमलाई ठूलै क्रान्तिकारी मान्न सकिन्छ,’ उनले भने ।

नीलमको उपन्यासको भाषा सरल भए पनि एकदमै लामो भएकाले पाठक बिच्किने डर हुने पनि दिपेशले टिप्पणी गरे । इतिहास र तथ्य मिसाएर कथात्मक रूपमा छोटो मीठो लेख्दा पाठक आकर्षित हुन सक्ने उनको सुझाव थियो । दिपेशले विद्यावारिधि पनि योगमायामाथि नै गरेका छन् । उनको योगमायाबारे ‘अमरज्योति योगमाया’ नामक पुस्तक पनि प्रकाशित छ ।

प्रकाशित : मंसिर १६, २०७५ ०८:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT