३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मञ्जुलका सशक्त सिर्जना

काठमाडौँ — कवि मञ्जुलका थुपै व्यक्तित्व छन् । कुनै समय उनी गायक थिए । निबन्धदेखि उपन्याससम्म कलम चलाएका छन् । बीसको दशकमा पञ्चायत विरोधी राल्फा अभियानका उनी एक अभियन्ता हुन् ।

मञ्जुलका सशक्त सिर्जना

तिनताक जनताका गीत गाउँदै गाउँ बस्ती डुलेका उनी सार्थक गीत, संगीत र साहित्यको वकालत गर्छन् । उनै मञ्जुल शुक्रबार राजधानीमा एकल प्रस्तुतिमा उत्रिए । जनसाहित्यिक मञ्चले गर्दै आएको नियमित रचना वाचन श्रृंखला ‘अविरल जनसाहित्य यात्रा’ को ५१ औं संस्करणमा उनी प्रस्तुत भएका हुन् ।


शृंखलामा कवि मञ्जुलका कविता ‘गाउँको गोरेटो’, ‘तिमी फूल हौ हजुरबाको’, ‘शान्ति एक’, ‘म तिमीलाई अंकमाल गर्न चाहन्छु’, ‘पाइलाहरू’, ‘प्रकृति लेख्छिन् कविता’, ‘पहाडी खोला’, ‘चोकटी’, ‘जातपात’, ‘खोपी’, ‘मलाई फागु पूर्णिमा मन पर्छ’ लगायतका कविता सुनाइयो ।


आधा दर्जन कविता मञ्जुल स्वयंले सुनाए भने वाचनका लागि अनिल पौडेल, सुलोचना मानन्धर, मोहन दुवाल, सरोज धिताल र फूलमान वलले सघाए । लामो समयपछि कविता वाचनमा प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको कवि मञ्जुलले बताए । समालोचक अमर गिरीले मञ्जुल सधंै जडताको विरुद्ध जीवनको पक्षमा उभिएको दाबी गरे ।


‘पञ्चायतकालमा उहाँका ‘गायक यात्रा’, ‘मञ्जुलका नयाँ कविताहरू’ जस्ता पुस्तक निकै प्रभावशाली लाग्थ्यो । उहाँका रचनाबाट म स्वयं पनि प्रभावित थिएँ,’ उनले भने, ‘उहाँ सधैं यान्त्रिकताको विपक्षमा उभिनु भयो, परिवर्तन र समानवताको वकालत गर्नुभयो ।’


मञ्जुलका कवितामा सरलतासँगै गम्भीरता र नयाँपन पाइने बताउँदै गिरीले क्राफ्टको पक्षबाट पनि मञ्जुलका कविता अब्बल रहेको बताए । लेखक तथा नेता रघु पन्तले मञ्जुलको रचनामा आगो, पानी र शीतलता जस्ता तत्त्वहरू पाइने दाबी गर्दै मनमा चट्याङ पार्न सक्ने शक्ति मञ्जुलका कवितामा पाइने बताए । कार्यक्रममा मञ्जुलको व्यक्तित्वमाथि कवि बिन्दु शर्माले प्रकाश पारेकी थिइन् ।

प्रकाशित : मंसिर १६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?