पौडेलका आधा दर्जन कृति

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक तथा समालोचक हेमनाथ पौडेल एकैसाथ आधा दर्जन कृति लिएर आएका छन् । पौडेलले समालोचना, निबन्ध, संस्मरण, समीक्षा लगायतका विधाका ७ पुस्तक निकालेका हुन् ।

प्रगतिवादी कवितासम्बन्धमा विद्यावारिधि गरेका पौडेलका हालै बजारमा आएको कृतिहरूमा ‘प्रगतिवाद र कवितामान्यता’, ‘कविता समालोचना’, ‘नेपाली प्रगतिवादी कविता : इतिहास र प्रवृत्ति’, ‘समीक्षा र भूमिका’, ‘पारिभाषिक शब्द परिचय’, ‘चिन्तन र संस्मरण’ र ‘ताप्लेजुङतिर प्रचलित लोकगीतिनृत्य धाननाच’ रहेको छन् ।

Yamaha

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रहिसकेका उनका यसअघि ‘भाषा साहित्यका दुई हस्ती’, ‘कृष्णमणि साहित्य पुरस्कारद्वारा सम्मानित स्रष्टाहरू’, ‘प्रगतिवादी दृष्टमा कवि र कविता’, ‘सन्दर्भपरक समालोचना’ तथा ‘भाषाविज्ञान र नेपालका भाषाहरू’ गरी पाँच कृति प्रकाशित भइसकेका छन् ।

नयाँ कृतिहरू पैरवी प्रकाशन, तन्नेरी प्रकानशन, विवेक सिर्जनशील प्रकाशन र नेपाल संगीत तथा नाट्य गीत प्रज्ञा–प्रतिष्ठानले छापेका हुन् । त्रिभुवन विश्वविद्यालयमा तीन दशक लामो प्राध्यापन अनुभव संगालेका पौडेलले त्रिविका साथै विभिन्न तहका पाठ्क्रमको निर्माण र पाठ्यपुस्तक लेखनसमेत गरेका छन् ।

हाल उनी त्रिविअन्तर्गत अनिवार्य नेपाली विषय समितिको अध्यक्षसमेत हुन् । ‘कृति विभिन्न समयमा लेखिएको हो,’ उनले भने, ‘तर, प्रकाशनको संयोगचाहिँ एउटै पटक हुनपुग्यो ।’

प्रकाशित : मंसिर २०, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्म योन्जन थिए नारायणगोपालका लमी

“गोपालका मीत भएकाले उहाँ मेरो मीतभाइ हुनुहुन्थ्यो । ‘दाजु गार्जियन बनिदिनुपर्‍यो’ भन्दै मकहाँ आउनुभएको थियो । अनि हामी दार्जिलिङको सुक्यापोखरी गएका थियौं, केटी माग्न ।”
कान्तिपुर संवाददाता

काठमाडौँ — सांगीतिक योगदानका लागि जनस्तरबाटै ‘स्वरसम्राट’ को उपाधि पाएका हुन् नारायणगोपालले । उनै ‘स्वरसम्राट’ को २८ औं स्मृति दिवस मनाउने क्रममा बुधबार स्रष्टाहरूले उनीसँगको संगत स्मरण गरे । नारायणगोपालका मीत गोपाल योञ्जनका दाजु कर्मले मीतभाइको बिहेमा आफू अभिभावक बनेको क्षण साझा गरे ।

नारायणगोपाल संगीत कोषले महाराजगन्जस्थित कोष परिसरमा आयोजना गरेको स्मृति दिवसमा गीत प्रस्तुत गर्दै गायक मदन गोपाल ।

‘गोपालका मीत भएकाले उहाँ मेरो मीतभाइ हुनुहुन्थ्यो,’ कर्मले भने, “दाजु गार्जियन बनिदिनुपर्‍यो’ भन्दै मकहाँ आउनुभएको थियो । अनि हामी दार्जिलिङको सुक्यापोखरी गएका थियौं, केटी माग्न ।”
सुक्यापोखरीमा बिहेको धुमधाम तयारी भएको कर्मले देखे । त्यसअघि पनि नारायणगोपाल र पेमलाले पोखरीकै किनारामा बसेर बिहेको योजना बनाएको कर्मले सम्झिए । ‘उहाँहरूलाई एक्लै छोडेर हामीचाहिँ अर्को किनारामा बसेका थियौं,’ कर्मले भने, ‘त्यही बेला प्लान बनेछ । मचाहिँ उहाँहरूको बिहेमा गार्जियन बनेको थिएँ ।’

उनै कर्मलाई स्वरसम्राटको स्मृति दिवसमा नारायणगोपाल संगीतकोषले ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान गर्‍यो ।

महाराजगन्जस्थित कोषको प्रांगणमा आयोजित कार्यक्रममा पाँच गीतकारलाई उक्त सम्मान दिइयो । ताम्रपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेमा दिनेश अधिकारी, दीर्घसिंह बम, नीर शाह, राजेन्द्र रिजाल र विश्वम्भर प्याकुरेल थिए । गीतकार बमले नारायणगोपाललाई राष्ट्रले उच्च सम्मान दिनुपर्ने बताए । ‘श्रोतालाई शब्दको गहिराइमाभुलाइदिने गायक हो उहाँ,’ उनले भने, ‘उहाँको स्वर सम्पूर्ण मानवका लागि कर्णप्रिय छ ।’

गीतकार शाहले चाहिँ स्वरसम्राटको वास्तविक सम्मानका लागि अहिलेका संगीतकर्मीले उनको अध्ययनशील बानीको अनुसरण गर्नु अत्यावश्यक रहेको औंल्याए । ‘उहाँ मोजार्ट र बिथोभेनलाई पढ्नुहुन्थ्यो,’ शाहले भने, ‘तिनका नोटेसन भावी पुस्ताले सुनून् भन्ने चाहनुहुन्थ्यो । उहाँ संगीत सिर्जना गर्नुभन्दा तीन गुणा बढी संगीत अध्ययन गर्नुहुन्थ्यो । उहाँ अध्येता हुनुहुन्थ्यो । उहाँको जस्तै अध्ययनशील बानी अहिलेका संगीतकर्मीमा पटक्कै छैन ।’

गीतकार शाहले नारायणगोपालको घर आउनु आफ्ना लागि दु:खद हुने बताए । हाल कोष रहेको भवनको प्रत्येक झयाल–ढोका र कोठा–चोटाले आफूलाई विगत स्मरण गराउने भएकाले मन भारी हुने उनको भनाइ थियो । ‘एक दिन उहाँले मलाई यहाँ ल्याउनुभएको थियो,’ शाहले भने, ‘अहिले सालिक भएको ठाउँमा बाइक पार्क गरेर यो घर भएको जग्गा देखाउनुभयो । अहिले सोच्छु, यो घर एउटा अध्यायको साक्षी बनेर
उभिने रहेछ । म यहाँ आउँदा नोस्टाल्जिक बन्छु ।’

समारोहमा युवा गायकगायिकाले नारायणगोपालका गीतहरू प्रस्तुत गरेका थिए । मदन गोपालले ‘बिर्सेर जाऊँ कसरी...’ सुनाए भने अमला महर्जनले ‘कहिलेकाहीँ...’ प्रस्तुत गरिन् । शिशिर योगीले ‘सागर सरी...’ गाएपछि शृंखला जोशीले ‘पोखिएर घामको झुल्का...’ सुनाइन् ।

नरेन्द्र प्यासी, बीबी अनुरागी, मौसम खरेल, शर्मिला आचार्य, सरला बीसी, देवेन्द्रमान सिंह, उत्सव नेपाल, शिव काफ्ले, लालकाजी श्रेष्ठ,चिरीमाया महर्जन, नवीन न्यौपाने लगायतले पनि स्वरसम्राटलाई उनकै गीतमार्फत सम्झिए ।

संगीतकर्मीहरू कोषको कार्यक्रम सकिनासाथ जमलको सांस्कृतिक संस्थान (नाचघर) तिर लागे । त्यहाँ पनि स्वरसम्राटको सम्झनामा स्मृतिसभा आयोजना गरिएको थियो । कार्यक्रममा संस्थानकै कलाकारले नारायणगोपालका करिब एक दर्जन गीत गाए । ‘कस्तूरी हे बास आउँछ...’, ‘तिमीले पनि मजस्तै...’, ‘तान चलाउनु...’, ‘कसरी म भुलेँ...’, ‘मलाई नसोध...’, ‘जता हिँड्यो उतै तान्ने...’, ‘पर्खिबसेँ...’, ‘पहाडको माथि...’, ‘मेरो सानो संसार...’, ‘तिम्रोजस्तो मुटु...’ लगायत गीत कार्यक्रममा सुनाइए ।

‘नारायणगोपालका गीत गाउँदा आनन्द आउँछ,’ गायिका शिला विष्टले भनिन्, ‘उहाँकै गीतहरू सुन्दै/सिक्दै यहाँसम्म आइपुगेकी छु । उहाँका गीत रियाजका लागि उत्तम छन् ।’ शिलाले कार्यक्रममा ‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ र ‘पहाडको माथि माथि...’ गाएकी थिइन् ।

गायक शैलेश सिंहले पनि नारायणगोपाल आफ्नो अदृश्य गुरु भएको बताए । उनका गीतमा डुब्नेले मात्र त्यसको मिठास बुझ्न सक्ने शैलेशको भनाइ थियो । नेपाली आधुनिक संगीतमा नारायणगोपालको योगदान अतुलनीय रहेकाले संस्थानले हरेक वर्ष स्मृतिसभा गर्दै आएको महानिर्देशक राजेश थापाले जनाए ।

नारायणगोपालका कार्यक्रममा सधैं उपस्थित हुने केही स्रष्टा भने यसपालि काठमाडौंमा देखिएनन् । गीतकार दिनेश अधिकारी, संगीतकार दीपक जंगमलगायत सर्जक झापाको बिर्तामोड पुगेका थिए । त्यहाँ पनि स्वरसम्राटका नाममा सरगम संगीतालयले कार्यक्रम गरेको थियो । ‘मैले यहाँ आउने प्रतिबद्धता जनाइसकेकाले त्यताका कार्यक्रममा छुटेँ,’ गीतकार अधिकारीले फोनमा भने, ‘यस्ता कार्यक्रम
काठमाडौंबाहिर हुनु झनै महत्त्वपूर्णकुरा हो ।’

प्रकाशित : मंसिर २०, २०७५ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT