सिमसारमा दुई देशका स्रष्टा

मोरङ — आफ्नो देश हुँदाहुँदै पनि
तिमी केले पर्‍यौ बाहिर
भाषा, भेष, कला र संस्कृति
सबै छन् उत्तिकै आखिर...

सुमित्रा पोखरेलले सुनाएको ‘सीमाबाहिरका नेपालीहरूसँग’ शीर्षकको कविताको अंश हो यो । स्रष्टा समाज बेलबारीले यहाँको बेतना सीमसार क्षेत्रमा गरेको दुईदिने साहित्यिक विवेचना र कवि गोष्ठीमा उनी नेपाल र भारतका सर्जकबीच सिर्जना सुनाइरहेकी थिइन् ।


गोष्ठीमा भारतका सिक्किम, दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडीलगायत नेपालीभाषी कवि तथा साहित्यकारका साथै काठमाडौं, पोखरा, ललितपुर, भक्तपुर, धरान, संखुवासभा, खोटाङ, इलाम, झापा, तेह्रथुम, धनकुटा र मोरङका साहित्यकारको सहभागिता छ ।


गोष्ठीमा स्रष्टा समाज बेलबारीले सुरु गरेको त्रैमासिक साहित्यिक पत्रिका ‘गाउँबेसीका फूलहरू’ प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरे । साहित्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउँदै उनले पछिल्लो समय मोफसलबाट धेरै ठूला साहित्यिक प्रयत्नहरू भएको भन्दै प्रशंसा गरे ।


‘सरकारको काममा सकारात्मक खबरदारी साहित्यकारले गर्न सक्नुपर्छ,’ उनले भने, ‘साहित्यकारले

आफ्ना सृजनामार्फत नकारात्मक कुरा मात्रै गर्दा समाजमा नकारात्मक मनोविज्ञान निर्माण हुन्छ ।’ गोष्ठीमा बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले कला साहित्य समाजको वास्तविक ऐना भएकाले साहित्यकारका कलम सुस्पष्ट र प्रभावकारी हुनुपर्ने बताए ।


साहित्यकार भीम खतिवडाले ‘नेपालमा साहित्यको वर्तमान अवस्था’ बारेमा र दार्जिलिङका मनप्रसाद सुब्बाले ‘भारतमा नेपाली साहित्यको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गरे । खतिवडाले नेपाली भाषा र साहित्यको विकासमा नयाँ पुस्तालाई आकर्षित गर्नु आवश्यक रहेको औंल्याए ।


सुब्बाले भारतमा नेपालीभाषी संख्याको हिसाबले थोरै भएकोले नेपाली भाषा साहित्यको संरक्षण सम्वद्र्धन कठिन भइरहेको बताए । अनिल पौडेल, रेखा सुवेदी, बद्री अधिकारी, जयन्ता पोखरेल, बिन्दु दाहाल ‘मुकदर्शक’, मिश्र बैजयन्त्री, सरोज दर्नाल, देवी वैरागी घिमिरे, सोम भट्टराई, यज्ञराज सुवेदी सुसेली, जयबहादुर घिमिरे, मैया रणपहेंली, उमा सिजापती, दीपक साम्चु, गोकुल राई, लक्ष्मी थापा, सुषमा आचार्य, रामजी तिमल्सिनालगायतले कविता सुनाए ।


भारतबाट मनप्रसाद सुब्बा, सुजनहाङ, राजकुमार तिम्सिना, डा. राजकुमार क्षेत्री, अमर बानियाँ, देवराज शर्मा, मेहरमान सुब्बा, रेमिका थापा, जयकुमार राई, मुक्तिनाथ शर्मा, कैलाश पाण्डेलगायतले पनि सृजना पस्के । दृष्टिबिहिन गायक कृष्णभक्त राईको सांगीतिक प्रस्तुति दिए ।


साहित्यकारहरूले पर्यटकीयस्थल बेतना सिमसार, गोकुलम, ओसियन पार्क लगायतका पर्यटकीय स्थलको अबलोकन गरी ती स्थानबारे सिर्जना समेत कोरे । स्रष्टा समाज बेलबारीका अध्यक्ष एवं पूर्व सांसद हर्कमान तामाङले कला साहित्यको जगेर्ना र दुई देशबीचको साहित्य सिर्जनाबारे जानकारी आदानप्रदानका लागि गोष्ठी गरिएको बताए ।

प्रकाशित : पुस १, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?