कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाल लिटरेचर फेस्टिभल–‘कायर भयौं र कविता लेख्यौं’

दीपक परियार

लेखनाथ — प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै आइसके, अझै पनि प्रतिरोधी विषयमा कलम चलाइरहनुपर्ने अवस्था सिर्जना भएको हो ?

नेपाल लिटरेचर फेस्टिभल–‘कायर भयौं र कविता लेख्यौं’

पत्रकार बसन्त बस्नेतको प्रश्न भुइँमा खस्न नपाउँदै कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ ले भने, ‘व्यवस्था परिवर्तन भयो, संविधान परिवर्तन भयो तर हाम्रो मूल प्रवृत्ति, मनोविज्ञान अहिले पनि यथावत् नै रहिरहेको छ । पञ्चायतको बेला जति प्रतिरोधको आवश्यकता थियो अहिले पनि उत्ति नै छ ।’


नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन वात्स्यायनसहित कविहरू कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग ‘प्रतिरोध’ सेसनमा बस्नेतले विचार बुझे । ‘लेखकको काम लेखेरै प्रतिरोध गर्ने हो । कलाकारले कलाबाटै प्रतिरोध गर्ने हो । ढुंगामुडा अरूले गर्छन्,’ उनले सोधे, ‘एउटा सर्जकले प्रतिरोधका लागि सडकमा आउन जरुरी छ ?’


तीनै जनाको मत मिल्यो— परिआउँदा सडकमा पनि उत्रनुपर्छ । शर्माले भनिन्, ‘ध्यानाकर्षण गराउने विभिन्न चरण हुन्छन् । सरकारलाई ध्यानाकर्षण गराउन आवश्यकता अनुसार सडकमा आउनुपर्छ ।’ वात्स्यायनले केही सीप नलागे सडकमा आउनुपर्ने अन्तिम बाध्यता भएको बताए । सुब्बाले त्यसभन्दा एक पाइला अघि पुगेर बोले, ‘सिर्जनामा झोंक नमर्दो रहेछ । त्यहाँदेखि पर्तिर पनि आँट आउँछ ।’


पहिचानको पक्षमा सिर्जनशील अराजकतावादी आन्दोलनलाई अघि बढाउनेमध्येका सुब्बालाई बस्नेतले खेद्न छोडेनन् । अराजकतावादी आन्दोलन नारावादी, विखण्डनवादी, समाजलाई टुक्रयाउने किसिमको भएको आरोप लगाउँदा सुब्बा जबाफिए, ‘खासमा बन्दुक नै बोक्नुपर्ने हो, बम नै हान्नुपर्ने हो, तर कस्तो भयो भने हामी कायरहरू कविता लेख्न थाल्यौं, बाँसुरी फुक्न थाल्यौं । समस्या यहाँ भएको हो ।’ उनले आफ्ना सिर्जनामा सधैं सीमान्तीकृत र विभेदका कुरा गरिराख्नु रहर नभई बाध्यता भएको बताए ।


आफ्नो चर्चित कविता ‘पोथी बास्नु हुँदैन’ को प्रसंग उप्किँदा शर्माले त्यो अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताइन् । ‘अहिले बासेका पोथीहरू पनि भालेकै अन्डरमा छन्,’ उनले भनिन्, ‘जताततै महिला उपप्रमुख छन्, सभामुख छैनन्, राष्ट्रपति पनि कार्यकारी होइनन् । कहाँनिर महिलाहरूको नेतृत्व स्वीकार गरिएको छ ? पोथीहरूलाई अण्डैदेखि चिनेर विनाश गर्न थालिएको छ ।’ उनले जेनेटिक सेन्टरमार्फत दक्षिण एसियामा मात्रै १ करोड महिला भ्रुण नस्ट गरिएको तथ्यांक प्रस्तुत गरिन् । ‘जेनेटिक सेन्टरको प्रकोपमा परेको भए म पनि त्यतिखेरै सिध्याइन्थेँ,’ उनले भनिन्, महिलाहरू अहिले पनि खतरामुक्त छैनन् ।’


‘संस्मरणले सत्य बोल्नुपर्छ’

तेस्रो दिनको दोस्रो सेसन थियो, ‘संस्मरण विस्मरण’ । यो सेसनमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग अन्तरसंवाद गरे । उक्त अवसरमा कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवं यथार्थलाई ढाकछोप गरी आफूलाई हिरो देखाउने गरेको विषयमा समेत व्यंग्य गरे ।


उनीहरूले नेपालमा आत्मकथा लेखनको शैली एवं आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याए । साथै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गरे । थापा र ब्रजेशले आफूले लेखेका पुस्तकका विषयवस्तु र लेख्नुका कारण पनि प्रस्टयाए ।


पत्रकारदेखि पत्रकारसम्म

बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले गरेको फेस्टिभलमा सोमबार पत्रकार हाबी भए । विजयकुमारदेखि वसन्त थापासम्म, कनकमणिदेखि युवराज घिमिरेसम्म, प्राय: सेसनमा पत्रकार भेटिए । फेस्टिभलअन्तर्गत सोमबारको पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’ ।


यो सेसनमा विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरे । पहिलो सेसनमा पत्रकारद्वयले पत्रकारिता, साहित्य, संगीत, बेथिति एवं जीवनजगत्बारे छलफल गरे । सँगै राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत उनीहरूले आलोचना गरे । र राजनीतिक नेतृत्वको अहिलेको प्रवृत्तिमा कतै न कतै जनताको पनि भूमिका रहेको विजय कुमारले बताए ।


फेस्टिभलमा ‘मुक्त मुक्तक’ शीर्षक सेसनमा मुक्तक मञ्च पोखरासँग सम्बद्ध १५ मुक्तककारले मुक्तक सुनाए । ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्ज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गरिन् । उक्त अवसरमा उनीहरूले लेखनशैलीबारे चर्चा–

परिचर्चा गरे ।


चौथो सेसन थियो, ‘प्रजातन्त्र र पुस्तक’ । यो सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन् । पुस्तकले कसरी प्रजातन्त्रीकरणमा मद्दत गर्छ र बजारीकरणसँग पुस्तकको कन्टेन्टको सम्बन्ध के हुन्छ भन्नेबारे चर्चा भएको थियो । सिके लालले पुस्तकको बजारीकरण र लेखनमा को संग्लन छ भन्नेले कस्तो पुस्तक उत्पादन भइरहेछ भन्ने प्रश्न उठ्ने गरेको बताए ।


उनले पछिल्लो समयमा सजिलोसँग लेख्न सकिने र सजिलै बेच्न सकिने आत्मकथाका पुस्तकको प्रकाशन बढेको भन्दै यस्तै अवस्था सधैं नरहने दाबी गरे । उक्त समयमा ‘कविताको परिधि’ शीर्षकमा कवीन्द्रपुर समूहले प्रस्तुति दिए ।


पाँचौं सेसन ‘जर्नालिज्म अन्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरिन् । उनीहरूले पत्रकारिताका जोखिमका विषयमा आफ्ना अभिव्यक्ति दिए । त्यसका विविध पक्षमाथि पनि छलफल चलाए ।


‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुबिन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाइन् । उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श भयो ।


छैटौं सेसन थियो, ‘फूलको आँखा’ । यो सेसनमा पत्रकार दिलभूषण पाठकले गायिका आनी छोइङ डोल्मासँग जीवन र जगत्लाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गरे ।


तेस्रो दिनको अन्तिम सेसन ‘बितेका कुरा’ शीर्षकमा दीप श्रेष्ठ र वसन्त थापा रसिक मुडमा देखिए । गायक श्रेष्ठ र लेखक थापाले समय बिते पनि संगीत बित्दैन भन्ने विषयमा आधारित अन्तरसंवाद गरे ।


साथै आआफ्ना विगतलाई रोचक किसिमले प्रस्तुत गरे । श्रेष्ठले ‘मेरो आँखा..’, ‘बितेका कुराले...’ गीत अनप्लग्ड भर्सनमा गाउँदै फेवाताल किनारको सिरेटोले चिसो बनाएको मौसमलाई गर्माए ।

प्रकाशित : पुस १०, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?