कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्थलगत पेन्टिङ 

काठमाडौँ — प्रकृति परिवर्तनशील छ । छिनछिनमा यसले रंग फेरिरहेको हुन्छ । प्रकाश परिवर्तन भएसँगै एउटै दृश्य फरक रूपमा देखिन थाल्छ । त्यसैले चित्रकारहरू कोठामा बसेर पेन्टिङ बनाउनुभन्दा बाहिर प्रकृतिको काखमा बसेर पेन्टिङ गर्नु चुनौतीपूर्ण रहेको बताउँछन् ।

स्थलगत पेन्टिङ 

छिटछिटो हात चलाएर पेन्टिङ सक्नुपर्ने बाध्यता चित्रकारमा हुन्छ । पहिले एक्लै वा सानो समूहमा चित्रकारहरू स्थलगत पेन्टिङ गर्न निस्कन्थे । तर चार महिनाअघि फेसबुकबाट जोडिएको चित्रकारको समूहले नेपालमा औपचारिक रूपमा स्थलगत चित्रकला कार्यशाला सुरु गर्‍यो ।


हरेक शनिबार विभिन्न क्षेत्रमा गई पेन्टिङमा तिनलाई उतारे । तिनै पेन्टिङहरूको मंगलबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘शनिबारे स्थलगत चित्रकला प्रदर्शनी’ सुरु भएको छ । चित्रकारहरूले हनुमानढोका, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, थिमि, स्वयम्भू, चाँगुनारायण, टेकु, चापागाउँको बज्रबाराही, खोकना, नयाँ र पुरानो गुहयेश्वरी, बौद्ध, बुङमति, चोभार र शंखमूल पुगेर बनाएका पेन्टिङहरू प्रदर्शनीमा राखिएका छन् ।


प्रदर्शनीको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपत्यकाको कलात्मक जीवनलाई अझै कलात्मक रूपमा चित्रकारहरूले जोगाउने बताए । तर जति मात्रामा यिनको विकासमा राज्यले ध्यान दिनुपर्ने हो, त्यति दिन नसकेको पनि उनले स्विकारे । ‘नकुँदिएको हीरा हो नेपाल । कुँद्यौं भने बहुमूल्य देशको रूपमा नेपालको निर्माण हुन सक्छ,’ उनले भने, ‘यसमा कलाकार नै दृढतापूर्वक लाग्नुपर्छ ।’ चित्रकारहरूले सभ्यता, संस्कृतिसँगै देशले विभिन्न समयमा पार गरेका परिवर्तनका पहाडहरूलाई महत्त्वका साथ पेन्टिङमा उतार्न जरुरी रहेको नि उनले बताए ।


२००७ सालको क्रान्तिपछि परिकल्पना अनुसारको समाज निर्माण हुन सकेन । २०१७ पछि निरंकुश वातावरण आयो । २०४६ पछि केही सहज वातावरण बन्यो ।


त्यो उदार समाजले कला संस्कृतिलाई तीव्रता प्रदान गर्‍यो । फेरि अन्तद्र्वन्द्वमा फस्यो । २०६२/०६३ मा जनक्रान्ति राष्ट्रव्यापी रूपमा क्रान्ति भयो । ‘तर ती क्रान्तिको परिकल्पना र त्यसका आरोह अवरोहहरू मैले कलाकारका पेन्टिङहरूमा देख्दिनँ,’ उनले भने, ‘काठमाडौंको रिङरोडमा मात्रै २० लाख मानिस आएका थिए । जुन ठाउँमा उभिए पनि मानिस टनाटन थिए । ठूलो जमघट थियो । त्यस्तो पहिले कहिल्यै भएको थिएन । यस्ता घटनाक्रमहरू पनि कलासाहित्यमा आउनुपर्छ ।’ राज्य एकिकरणको अभियानलाई प्रतिविम्बित गर्ने सिर्जना आउन जरुरी रहेको उनले बताए ।


चित्रकारहरू दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, केशवराज खनाल, रामकृष्ण थापा लगायतका चित्रकारहरूको समूहले ४ महिनाअघि फेसबुकबाट स्थलगत चित्रकला कार्यशाला सुरु गरेको थियो । अहिले १५ हप्ता सकिइसकेको छ । यो अहिले दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय काठमाडौं बाहिर पनि यो अभियानले निरन्तरता पाउन थालेको छ ।


यसमा क्रमश: कलाकारहरूको संख्या थपिँदै गएको चित्रकार एवं अभियान्ता दिवेशले बताए । यसले कलाको विकाससँगै कलाको माध्यमबाट स्थानीय क्षेत्रको प्रवद्र्धनमा समेत ठूलो सहयोग मिल्ने उनको दाबी छ ।


‘हरेक शनिबार ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका नयाँ ठाउँमा पुगेर प्रत्यक्ष रूपमा दृश्यावलोकन गर्दै चित्र उतार्दा एक त आफू पनि प्रकृतिसँग सिक्न पाइने र अर्काे नयाँ चित्र बनाउन पाइने भएकाले चित्रकारहरू यस अभियानप्रति लालायित भएका छन्,’ उनले भने, ‘पहिलेका दृश्यहरू मेटिने क्रममा छन् । आधुनिकतासँगै पुराना कुराहरू हराउने क्रम बढदो छ । त्यसलाई कलाको माध्यमबाट भए पनि जीवित राख्न पनि यो सहयोगी बन्न सक्छ ।’


यो अभियानले कलाकारलाई चित्रकलामा मात्रै सीमित गराएको छैन । स्थानीय अनुभवीहरू र पुरातत्त्वविद्समेत भेटेपछि चित्रकला गर्न सुरु गर्छन् । यो अभियानले नेपालको प्राकृतिक, सांस्कृतिक र वास्तुकलाको गौरवलाई नयाँ उचाइमा पुर्‍याउने अभियान्ताहरूको दाबी छ । प्रदर्शनी एक हप्ता चल्नेछ ।


प्रकाशित : पुस १८, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?