डेढ शताब्दीअघिको स्वस्थानी

सुरुमा स्वस्थानी व्रतकथा नेपाल (नेवारी) भाषामा आएको थियो । रक्तकाली नरदेवीका राम सुवालले साढे चार सय वर्षअघि नेपाल भाषामा लेखेको कथालाई पछि नेपालीमा छोट्टयाएर उल्था गरेको देखिन्छ । –सत्यमोहन जोशी
सुनीता साखकर्मी

ललितपुर — सानो टेबलमा स्वस्थानी व्रतकथाका पुराना दुई ठेली पुस्तक छन् । काठका गाता रहेका पुस्तकभित्र नेपाली कागजका पाना बाँधिएका छैनन् । पानाभरि नेपाल भाषामा हातैले लेखिएका अक्षर छन् ।

संस्कृतिविद् सत्यमोहन जोशी ललितपुरको पाटन, बखुंबहालस्थित निवासमा बिहीबार आफ्ना बुवाले लेखेको स्वस्थानी व्रतकथाको पुस्तक प्रदर्शन गर्दै ।तस्बिर : कान्तिपुर 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक खोलेर देखाउँदै भने, ‘यसमा लेखिएको अक्षर मेरा बुवाको हस्तलिखित हो । माघ महिनाभरि म यसैको पाठ गर्छु ।’

पाटनको बखुंबहालस्थित संस्कृतिविद् जोशीको घरमा कञ्चनजङ्घा प्रसाईँ र विदुषी प्रसाईँले सम्पादन गरेको ‘श्रीस्वस्थानी व्रतकथा’ लोकार्पण गर्ने कार्यक्रममा जोशीले १९९५ सालमा बुवा शंकरदास जोशीले लेखेको नेपाल भाषाको स्वस्थानी पुस्तक देखाएका हुन् ।

उनका बुवाको हस्तलिखित पुस्तकसँगै रहेको अर्काे पुस्तक भने सत्यमोहन जोशीको ससुरालीबाट ल्याइएको थियो । त्यो पनि १ सय ५० वर्ष पुरानो भइसकेको जोशीले जनाए । जोशीका अनुसार, बजारमा पुस्तक सहजै नपाइने त्यो समय उनका बुवाले छिमेकीको घरमा रहेको स्वस्थानीको किताबबाट सारेर नयाँ पुस्तक तयार पारेका थिए ।

‘पहिले पुस्तक छपाउने चलन थिएन,’ उनले भने, ‘बुवाले सारेरै राख्नुभयो ।’ उनका बुवाले आफूलाई मात्रै नभई अन्यलाई पनि पुस्तक सारिदिएको जोशीले बताए । ‘फुर्सदको बेला पुस्तक सार्ने काम गर्नुहुन्थ्यो बुवा,’ उनले भने, ‘यो एउटा पुस्तक सक्न बुवालाई पाँच/छ महिना लागेको थियो ।’

उनका अनुसार, स्वस्थानीको पुस्तक लामो र छोटो दुवै थरी हुन्छ । उनका बुवाले लेखेको त्यही पुस्तक पौष शुक्लपूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म जोशी आफैँ पाठ गर्छन् । कथा पाठ गर्ने शैली पनि भिन्नै रहेको उनले बताए ।

संस्कृत भाषामा रहेको स्वस्थानी कथालाई रक्तकाली नरदेवीका राम सुवालले साढे चार सय वर्षअघि नेपाल भाषामा लेखेको जोशीले बताए । ‘सुरुमा स्वस्थानी नेपाल (नेवारी) भाषामा आएको थियो,’ उनले भने, ‘सुवालले नेपाल भाषामा उतारेको कथालाई छोट्टाएर पछि नेपालीमा उल्था गरेको देखिन्छ ।’

स्वस्थानी लोकसाहित्य र लोकसंस्कृतिको हिसाबमा धेरै महत्त्वपूर्ण रहेको जोशीले बताए । ‘शिवलीला, कुमार, नवराज, गणेशका कुरा पछि थपिएको र सबैभन्दा पहिलेब्रह्माण्ड, सूर्य–चन्द्र ग्रहण कसरी भयो भन्ने कुराहरू कल्पना गरेर स्वस्थानीमा लेखिएका छन्,’ उनले दाबी गरे, ‘सृष्टि कसरी भयो, हिमाल, पहाड नदी कसरी आए भन्ने कुरा लोकसंस्कृति र लोकदर्शनका रूपमा उल्लेख छ । आजको विज्ञान र समाजसित कतिपय कथाहरू मिल्दैन होलान् तर कुनै किसिमको दूरविन वा क्यामेरा नभएको त्यो बेलामा पनि पुर्खाले चुलोमा आगो फुक्ने ढुंग्रोलाई दूरविनको रूपमा प्रयोग गरेर त्यसको आधारमा सूर्य र चन्द्रग्रहण लाग्ने, खग्रास लाग्ने कस्मोलजीका कुराहरू थाहा पाएर हामीलाई सूचित गराउनु हाम्रो लागि रहस्य नै हो ।’ पुर्खाले कुनै पनि यन्त्रको प्रयोग नगरी पत्ता लगाएको ब्रह्माण्डीय विद्या स्वस्थानी पढेपछि थाहा पाइनेउनले बताए ।

अमेरिकी अनुसन्धाता लिन्डा एजटिसले सन् १९८५ मा नेपाल आई स्वस्थानी व्रतकथाबारे अध्ययन गरेको पनि जोशीले जनाए । अध्ययन पछि लिन्डाले ‘स्वस्थानी व्रत : वुमन एण्ड रिचुयल्स इन नेपाल’ शीर्षक किताब लेखिन् । उति बेला लिन्डाले दुई/तीन वर्ष नेपालीका घरघर गई अध्ययन गरेर नेपाली नारीहरूले पालना गर्ने कर्मकाण्डहरूबारे शोध गरेकी थिइन् ।

‘त्यसैका आधारमा अमेरिकाको विश्वविद्यालयबाट उनलाई विद्यावारिधि पनि प्राप्त भयो,’ जोशीले सुनाए, ‘सात समुद्रपारिबाट आई मिहिनेत गरेर पुस्तक निकालेकी रहिछन् । त्यसको एक कपी रक्तकाली नरदेवीस्थित आशा सफु गुठीमा अझै छ । हामीलाई चासो भएन, तर विदेशीले शोध ग्रन्थ तयार गरेर विश्वको अगाडि राखिदिएका छन् ।’

अहिलेका कथा र उपन्यासहरूजस्तै स्वस्थानीमा पनि कथा, जीवनी र युद्ध लेखिएको जोशीले बताए । रातो मच्छिन्द्रनाथको जात्राका बेला गाइने भजनमध्ये एउटा स्वस्थानी आधारित रहेको पनि उनले खुलाए ।

बिहीबारको कार्यक्रममा मच्छिन्द्रनाथ भजनमण्डलले स्वस्थानी शीर्षकको भजन पनि प्रस्तुत गर्‍यो । भजन मण्डलका प्रद्युम्न श्रेष्ठ, श्रीराम ताम्राकार, राम महर्जन, पद्मलाल जोशी, ज्ञानलाल महर्जन, अष्टलाल महर्जन, सिद्धिमुनि बज्राचार्यलगायतले ढलौटको झयाली, मृदङ्ग, हार्माेनियम, शंख, डमरु बजाएर स्वस्थानीको भजन गाए । उनीहरूका अनुसार, स्वस्थानी वाचन गर्ने समयमा बिहान–बेलुका यहीभजन गाइन्छ ।

‘यहाँ गाउने भजनमा नेपालभाषासँगै हिन्दी, मैथिली भाषा मिसिएको छ,’ जोशीले भने, ‘कथाको साराशं नै भजनमा पाइन्छ ।’ सोह्रौं शताब्दीको अन्त्यतिर सन् १५७३ देखि संस्कृतभाषामा स्वस्थानी व्रतकथाको थालनी भएको काशीनाथ तमोटले बताएका छन् ।

उनका अनुसार, सुरुमा स्वस्थानी व्रतकथाब्राह्मण पण्डितहरबाट मात्र वाचनगराउने परम्परा रहेकामा सन् १८०३ मा नेपाल भाषाबाट नेपालीमा अनुवाद भएपछि यो कथावाचन पण्डितस्तरबाट जनस्तरमा ओर्लियो । कार्यक्रममा कञ्चनजंघा र विदुषीद्वारा सम्पादित स्वस्थानी पुस्तक भने संस्कृतिविद् जोशीसँगै मोदनाथ प्रश्रित, दीनानाथ शर्मालगायतले लोकार्पणगरेका थिए ।

प्रकाशित : पुस २०, २०७५ ०८:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

घुम्दै फिर्दै क्यानभास

कान्तिपुर संवाददाता

काठमाडौँ — कहिले बुद्ध, कहिले हिमाली दृश्य त कहिले बस्ती–कन्दरा । चित्रकार बिके नरबहादुर हरेक वर्ष विभिन्न क्षेत्रमा गएर स्थलगत पेन्टिङ गर्ने गर्छन् । अनि एकमुस्ट रूपमा अंग्रेजी वर्षको अन्तिम दिन प्रदर्शनीमा राख्छन् ।

चित्रकार नरबहादुर बिकेको काठमाडौंको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा जारी चौधौं एकल प्रदर्शनीमा रहेका कलाकृति । 

२०१८ को अन्तिम दिन बिकेले चौधौं एकल प्रदर्शनी ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा थालेका छन् । प्रदर्शनीमासन् २००८ देखि २०१८ सम्मका कलाकृतिलाई छन् ।

घान्द्रुक, पोखरा, लुम्बिनी, परासी, चितवन, गुल्मी, दोलखा जस्ता सुगम स्थानका साथै अन्नपूर्ण सर्किट, सगरमाथा आधार शिविर जस्ता दुर्गम स्थानसम्म पुगेर बनाइएका छन् कृति हुन् ती । भारत, बंगलादेश, कोरिया, जापान, अफगानिस्तान, लिथुवानियाजस्ता देशमा गरेका स्थलगत चित्रहरू पनि प्रदर्शनीमा छन् ।

‘१० वर्षको विशेष कलात्मक सिर्जना यात्रालाई आम समुदायसमक्ष पुर्‍याउनु मेरो यस पालिको प्रदर्शनीको उद्देश्य हो,’ रङ, बु्रस लगायत छिटो चलाउने क्षमता भएका चित्रकारका रूपमा चिनिने बिकेले भने ।

बिके आफ्ना कलालाई दृश्यचित्र भन्न रुचाउँछन् । ‘फोटो हेरेर कुनै ठाउँको रहनसहन, वातावरण थाहा पाउन सकिन्न,’ उनले भने, ‘स्थलगत पेन्टिङ गर्दा निश्चित समयको भाव पनि त्यसमा झल्किन्छ ।×’
बिके २०–२५ मिनेटमै चित्र सिर्जना गरिभ्याउँछन् । दैनिक दुई–तीन वटा पेन्टिङ बनाउँछन् । कतै जाँदा झोलामा कलर र क्यानभास टुट्दैन । ‘पिकनिक गयो भने पनि प्राय: घुमेर पेन्टिङ बनाउन बसिहाल्छु,’ उनले सुनाए, ‘त्यहाँको मोमेन्ट क्याच गर्न मन लाग्छ ।’

स्थलगत पेन्टिङ गर्दा प्रकृति छिटछिटो परिवर्तन हुन्छ । यसले गर्दा कहिलेकाहीँ एक छिनअघिसम्म रातो देखिएको हिमाल रंग फिटदाफिटदै अर्कै भइसक्ने गर्छ, एकातिरका बादलहरू अर्कातिर पुगिसकेका हुन्छन् । ‘मलाई यस्तैचुनौती झेल्दै पेन्टिङ बनाउन मजा लाग्छ,’ उनले भने ।

प्रदर्शनीको उद्घाटनपछि कलाकार तथा कला समीक्षक रमेश खनालले बिकेका चित्रमा नेपालीपन रहेको बताएका थिए । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले समृद्ध नेपाल बनाउने अभियानमा कला क्षेत्रले पनि साथ दिनुपर्ने उल्लेख गर्दै कलाकारको हकहितका लागि राज्यले परिआएको सहयोग गर्ने आश्वासन दिएका थिए ।

कलाकार तथा कला लेखक केशवराज खनालले स्थलगत रूपमै कला सिर्जना गरेर प्रदर्शनी गर्ने क्षमता कमै कलाकारमा हुने र त्यस्ता प्रदर्शनी विशेष बन्ने गरेको टिप्पणी गरेका थिए । प्रदर्शनी पुस २१ सम्म चल्नेछ ।

प्रकाशित : पुस २०, २०७५ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT