कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फुर्सदको साथी पुस्तक’ 

काठमाडौँ — छोरालाई साथ लिएर साहित्यकार कञ्चन पुडासैनी शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान पुगे । राष्ट्रिय एकता दिवसको अवसरमा प्रतिष्ठानले गरेको पुस्तक प्रदर्शनीका लागि उनी त्यहाँ पुगेका थिए ।

‘फुर्सदको साथी पुस्तक’ 

उनले एकपछि अर्काे गर्दै कविता, कथा, उपन्यास, विदेशीहरूको अनुवादका साना, ठूला पुस्तकहरू छोरालाई थमाउँदै गए । नयाँ पुराना १९ वटा पुस्तकको ३४ सय रुपैयाँ काउन्टरमा बुझाउँदै उनले भने, ‘बूढो भए पनि ज्ञान त अनेक विषयमा राख्न इच्छा लाग्छ ।’


उनी प्राय: पुस्तक प्रदर्शनी धाइरहन्छन् । उनका अनुसार एउटा पुस्तक किन्न बजारभरिका पुस्तक पसल डुल्नुभन्दा प्रदर्शनी छिरेकै आनन्द । एकै ठाउँमा भिन्न भिन्न पुस्तकहरू पाइने भएकोले यस पटक उनी छोरालाई पनि साथ लिएर प्रदर्शनी आइपुगे । यो बुढेसकालमा उनी उनको साथी नै पुस्तक बनेको छ । ‘खाली बस्न सकिँदैन । पुस्तक पढेर समय छोप्ने गर्छु,’ उनले भने ।


पुस्तककै लागि कञ्चन तीन–तीन पटक भारतको कोलकाता, पटना र दिल्ली पुगेका छन् भने एक–एक पटक आगरा र लखनउ । त्यहाँ बिहान सात/आठ बजेदेखि पुस्तक पसल छिरेका उनी १२ बजिसक्दा पनि ननिस्केपछि सँगै गएको साथीले गाली गरेको पनि सम्झना छ उनलाई । ‘पहिले पहिले नेपालमा त्यति नयाँ पुस्तकहरू किन्न पाइँदैनथ्यो,’ उनले भने, ‘त्यहाँ त पसलैभरि नयाँनयाँ किताब देखेपछि लोभ लाग्थ्यो ।’ प्रज्ञाको पुस्तक प्रदर्शनीमा पुराना साथै नयाँ पुस्तकहरू पनि पाइने भएकोले उनी यहाँ आएको उनले बताए ।


प्रदर्शनीमै भेटिए, श्रीधर सापकोटा । उनले दुइटा नेपाली शब्दकोश र नेपाली–अंग्रेजी शब्दकोशसँगै बीपी कोइरालाका पुस्तकहरू किने । सरकारी जागिरबाट निवृत्त उनी समसामयिक पुस्तक पढ्ने गर्छन् । ‘नेपाली शब्दको अर्थ नै हामीलाई थाहा भइरहेको हुन्न, त्यसैले शब्दकोश किनेको हुँ,’ उनले भने । उनलाई घर नै एक पुस्तकालय हो भन्ने लाग्छ ।


अहिलेका युवा पिँढी पुस्तक नपढी अन्य ग्याजेटहरूमा झयाम्मिने गरेकोले उनलाई चिन्ता लाग्छ । यस्ता ग्याजेटले सोच्न सक्ने क्षमतालाई ह्रास गर्ने दाबी गर्दै उनले भने, ‘ई–बुकको जमाना आइसक्यो तर इन्टरनेटमा पुस्तकका सबै ज्ञान हुन्न । त्यसैले पुस्तक नै पढ्न प्रेरित गर्नुपर्छ । त्यसका लागि लेखाइ र कन्टेन्टको फयुजन राम्रो र रोचक बनाउनुपर्छ ।’


राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको सन्दर्भमा पुस्तक प्रदर्शनी गरिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनी संयोजक सुधीर ढुंगेलका अनुसार प्रदर्शनीमा चार सय शीर्षकका पुस्तक राखिएका छन् । प्रदर्शनीमा पाठकले नेवारी–नेपाली शब्दकोश, नेपाल निरुपणलगायत पुस्तकहरू खोजिरहेको उनले जनाए ।


पुराना पुस्तकहरूको रिप्रिन्टका लागि पनि कोसिस थालेको उनले बताए । यस पटकको प्रदर्शनीमा बाल साहित्यका पुस्तकहरू समेटेका छन् । जुम्लीदेखि गुरुङ भाषासम्मका शब्दकोशहरूका साथै जातीय संस्कारहरू, दर्शनावली, भक्तिभावका पुस्तकहरूसमेत प्रदर्शनीमा छन् । यस पटकको प्रदर्शनीमा संगीत नाटय प्रज्ञा प्रतिष्ठानका पुस्तकहरूको पनि स्टल छन् । प्रदर्शनी पुस २९ गतेसम्म चल्नेछ ।

प्रकाशित : पुस २२, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?