कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

क्याप्टेन थापाको उडान कथा

काठमाडौँ — उनको बाल्यकाल संघर्षपूर्ण रहयो । काभ्रेको कुशादेवीबाट काठमाडौं पसेर पनि थुप्रै दु:ख भोगे । जसै हेलिकप्टरमा उडान भर्दै मुलुकको द्वन्द्वग्रस्त क्षेत्र पुगे, उद्धारका लागि जुटे, उनको जीवनले पनि भिन्नै उडान भर्‍यो ।

क्याप्टेन थापाको उडान कथा

क्याप्टेन एवं सञ्चार उद्योगी रामेश्वर थापाले भरेको यस्तै उडानका कथाव्यथा समेटिएको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उडदा’ शनिबार राजधानीमा सार्वजनिक गरियो । क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापा र मानवअधिकार आयोगका अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले पुस्तक लोकार्पण गरेका हुन् ।


अध्यक्ष शर्माले ‘द्वन्द्वकालका घटनाको वास्तविक चित्रण र क्याप्टेन थापाको जीवन भोगाइको सम्मिश्रण पुस्तकमा रहेको’ बताए । पुस्तकमा द्वन्द्वकालको चित्र मात्रै नभई मुलुकको संक्रमणकालीन राजनीतिमा अर्थ राख्ने १६ बुँदे सम्झौताका लागि क्याप्टेन थापाले निभाएको भूमिकाको सन्दर्भसमेत रहेको शर्माले बताए ।


पुस्तकका माथि टिप्पणी गर्दै नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले थापाको जीवन नै उडानको दस्तावेज भएको दाबी गरे । ‘मारवाडीकोमा काम गरेको सन्दर्भदेखि अदालतमा मुखियाको जागिरे हुँदै उडान क्षेत्रमा आबद्ध हुँदाका उचार चढाव मनछुने रहेको उनले बताए ।


पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालले थापालाई मृत्यु जित्ने मानिसको संज्ञा दिए । अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सम्पादक विजय कुमारले पुस्तकमा युद्धको व्याख्यासँगै ‘जनयुद्ध’ को समयमा देखेको र भोगेको सन्दर्भहरू समेटिएको बताए ।


एउटा सफल व्यवसायीको संघर्षपूर्ण बाल्यकालबाट आफू भावुक भएको बताउँदै उनले ‘क्याप्टेन थापाले युद्धको बेला आफूलाई जोखिममा राखेर भए पनि घाइतेलाई बचाएको’ बताए । ‘यो निकै अब्बल मनुष्यत्व हो,’ उनले भने ।


आफ्नो उडान करिअरमा नौ हजार घण्टाभन्दा बढी समय आकाशमा बिताएका क्याप्टेन थापाको पुस्तकमा रामेछापको बेथानदेखि सिन्धुलीको भिमान, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तत्कालीन अवस्था र उद्धारको रोचक वर्णनसमेत समेटिएको छ ।


बुकहिल पब्लिकेसनले छापेको पुस्तकको सम्पादन सञ्चारकर्मी राजाराम गौतमले गरेका हुन् । कार्यक्रममा क्याप्टेन थापाले पुस्तकको रोयल्टीबापतको रकम क्यान्सर केयरलाई प्रदान गर्ने घोषणा गरे । थापाले ‘जनयुद्ध’ को समयमा आफ्नो सुरक्षार्थ खटिएकै अवस्थामा मारिएका रविन साहकी श्रीमती बिना साहलाई प्रारम्भिक दुई लाख सहयोग हस्तान्तरण पनि गरे ।


यो रकम छोरीको शिक्षाका लागि दिएको उनले बताए । सुरक्षाकै क्रममा मारिएका अर्का सुरक्षाकर्मी मेघराज पौडेलको परिवारलाई भने अहिलेसम्म फेला नपारिएको थापाले बताए ।

प्रकाशित : पुस २२, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?