कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पृथ्वी जयन्तीमा महाकवि र कविशिरोमणि

काठमाडौँ — २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन तथा प्रतिमा अनावरण गरिएको छ ।

पृथ्वी जयन्तीमा महाकवि र कविशिरोमणि

प्रधानमन्त्री केपी ओलीले बिहीबार प्रतिष्ठानको पुस्तकालय भवन परिसरमा निर्माण गरिएको कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रतिमा अनावरण गरेका हुन् ।


प्रतिमा अनावरणपछि प्रवचन दिँदै प्रधानमन्त्री ओलीले पृथ्वी जयन्तीमा नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहसँगै उनलाई साथ दिएका योद्धाहरूलाई समेत सम्झिनुपर्ने बताए । ‘नायकहरू पछाडि बसेर निर्देशन दिन्छन्, योद्धाहरू अगाडि बसेर लडाइँ गर्छन्, कैयौं मर्छन् पनि,’ उनले भने, ‘पृथ्वीनारायणले थालेको एकीकरण ती वीर योद्धाबिना जित्न सम्भव हुने थिएन । त्यसैले पृथ्वी जयन्तीका दिन ती गुमनाम बलिदानी पुर्खाहरूलाई पनि सम्मान गर्नुपर्छ ।’


इतिहासका तथ्यहरू राम्रा–नराम्रा जेसुकै भए पनि ती सबै राष्ट्र निर्माण र एकीकरणका तुलनामा महत्त्वपूर्ण नभएको प्रधानमन्त्रीले बताए । पृथ्वीनारायणले त्यस बेला एकीकरण नगरेको भए उपनिवेशवाद र औपनिवेशवादले नेपाललाई स्वाधीन र स्वतन्त्र राज्यको रूपमा रहन नदिने दाबी उनले गरे । राजतन्त्र पुन:स्थापना हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘१२ पुस्ताको साइनो त साइनो नै हैन, त्यसैले पृथ्वीनारायणको नाममा फेरि राजतन्त्रको पुन:स्थापना गर्ने राजनीति गर्न पाइँदैन ।’


पृथ्वीनारायणका दिव्योपदेशहरू अहिले पनि सान्दर्भिक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए । दिव्योपदेशमा न्याय दिशा, व्यापार नीति एवं राष्ट्रिय भावनाले ओतप्रोत सन्देशहरू समावेश भएको उनले दाबी गरे ।


नेपाल प्रज्ञा प्रतिष्ठानसँगै नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा आयोजित कार्यक्रममा बटुकहरू ममता सुन्दास, सञ्जु राई, मनिता सुन्दास, सुजाता खनाल र ईश्वर पोखरेलले बाजा बजाउँदै स्वस्ति वाचन गरेका थिए । त्यस्तै कलाकारहरू उदय खनाल, मदन मण्डल, रूपा खनाल, विकासनाथ योगी, केशव सुनाम र सुरेश बज्राचार्यले नेपाल जननी वन्दे संस्कृत पद्यको सस्वर गायन गरे ।


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय स्तरमा प्राज्ञिक एवं वैचारिक रूपमा अन्तरक्रिया गर्ने दिनका हिसाबले मनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : पुस २७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?