कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तारकेश्वर डाँडाबाट काठमाडौं हेर्दा

काठमाडौँ — शिवपुरी जंगलभित्र भीरको काखमा रहेको तारकेश्वर मन्दिर दर्शनपछि कुना/कन्दरा च्यापेर इजेल अड्याए चित्रकारहरूले । क्यानभासको दृश्यमा भने प्लटिङ नै प्लटिङको सहरजस्तो देखियो काठमाडौं उपत्यका । उनीहरूलाई आफ्नो कम्पोजिसनभित्र हरियाली भित्र्याउन निकै मुस्किल पर्‍यो । टाढाको काठमाडौं झनै कंक्रिटको जंगलजस्तो देखिन्थ्यो ।

तारकेश्वर डाँडाबाट काठमाडौं हेर्दा

सहर नजिकैको उचाइमा छ तारकेश्वर मन्दिर । काठमाडौं उपत्यकाको उत्तरी भित्ताको यो जंगलसित स्वास्थानी कथा जोडिन्छ । सतीदेवीको दाहिने तीघ्रा पतन भएको मानिने यो थलोमा कुनै समय लक्ष्मीले तपस्या गरेपछि तारकेश्वर महादेव उत्पत्ति भएको हिन्दु मिथक प्रचलित छ ।


हाल तारकेश्वर नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने यो मन्दिर र आसपासको प्रकृतिलाई शनिबार चित्रकारहरूले क्यानभासमा कैद गरे, कविहरूले शब्दमा उतारे । बालाजु बाइपासबाट कंक्रिटको घना घरहरू छाडेर स्वच्छ हावा खोज्दै हाइकिङमा निस्केका कवि तथा चित्रकारहरूले यसपटक तारकेश्वर मन्दिरलाई आफ्नो गन्तव्य बनाएका हुन् ।


स्थानीय मौलिकता, संस्कृति र प्रकृति प्रवद्र्धनको ध्येयले चार महिनाअघि सुरु भएको थियो ‘जेसुम यात्रा’ । यसैको चौथो संस्करणअन्तर्गत साढे दुई घण्टा हाइकिङ गर्दै शिवपुरी जंगलको उक्लेका स्रष्टाहरूले क्यानभासमा स्थानीय सम्पदा, प्रकृति र त्यसको असर ल्यान्डस्केपमा समेटे । गजुरै गजुरको भुवनेश्वर मन्दिर, बौद्ध सम्प्रदायमा महत्त्वपूर्ण माने पाँचमानेको मूर्ति, राजा महेन्द्रले विसं २०१४ मा वृक्षारोपण गरेर बनाएको सल्लाघारीको सिँढी बाटो हुँदै स्रष्टाहरू अघि बढेका थिए ।


‘नेपाल भोट युद्धको बेला तिब्बती सेता यही पाँचमानेसम्म आइपुगेको इतिहास पाइन्छ,’ स्रष्टाहरूलाई साथ दिन आइपुगेका तारकेश्वर ३ का वडासदस्य हरिशरण घिमिरेले भने, ‘यहाँबाट फर्केपछि बेत्रावती सन्धि भएको थियो । अहिले यो थलो बौद्ध धर्मावलम्बीमाझ पवित्र मानिन्छ ।’ कुराकानी हुँदै गर्दा बुद्धको मसिना मूर्तिहरू राखेर बनाइएको पाँचमाने स्मारकलाई स्थानीय बिम्व र प्रतीकसहित कवितामा उतार्न भ्याइन् रोजिता बुद्धाचार्यले । रंगकर्मी र अभिनेत्रीसमेत रहेकी यिनी कलम पनि चलाउँदै आएकी छन् ।


जंगल छिचोलेर तारकेश्वरको अक्करे भीरमा पुग्दा चित्रकार र कविहरू सहरबाट हाइकिङ आउने टोलीमाझ छोपिए । भीरको काखमा रहेको मन्दिर दर्शनपछि भीरकै कुना/कन्दरा रोजेर इजेल अड्याए चित्रकार केशवराज खनालले । उनले तारकेश्वरको उचाइबाट देखेको काठमाण्डू भ्याली क्यानभासमा कैद गरे ।


‘जताजतै प्लटिङ नै प्लटिङ देख्छु त,’ उनको क्यानभास औंल्याउँदै प्राज्ञ एवं चित्रकार लालकाजी लामाले जिस्काए, ‘काठमाडौं त सकिएछ त, खै त हरियाली ?’ खनाललाई आफ्नो कम्पोजिसनभित्र हरियाली भित्र्याउन निकै मुस्किल पर्‍यो । तारकेश्वरबाट टाढाको काठमाडौं कंक्रिटको जंगल देखिन्थ्यो भने छेउछाउको काँठ क्षेत्र प्लटिङ नै प्लटिङ । लौरो टेक्दै मन्दिर छेउ पुगेका अर्का प्राज्ञ एवं पोखरेली चित्रकार बुद्धि गुरुङ पनि काठमाडौं भ्यालीको प्रदूषण देखेर निराश बने ।


निराशा चिर्ने काम भने चित्रकारहरू कान्छाकाजी भासिमा, बाबु साइँला, विक्रम प्रजापती, प्रकाश मानन्धरलगायतले गरे । उनीहरू हरियाली जंगलभित्र छिरे अनि क्यानभासमा रूख, गोरेटो बाटो, मन्दिर, बाबाको कुटी र जंगलको घनापनलाई उतारे वाटरकलरमार्फत । उनीहरूका चित्र केही शीतल देखिए ।


‘यस्तो त यहाँ पहिलो पटक भयो,’ पेसाले चित्रकार नै रहेका तारेकश्वर ५ का वडा सदस्य अनन्तमणि आचार्य छक्क परे, ‘मै ललितकलाकर्मी भएर पनि यसअघि यस्तो चाँजो मिल्न सकेको थिएन । हामी अरूको समाज, संस्कृति र ज्ञानबाट प्रभावित बन्छौं तर नजिकको तीर्थ हेला भनेजस्तै आफ्नै आँगनको सम्पदा भुल्छौं । यो मन्दिरलाई पर्यटन प्रवद्र्धनसँग पनि जोड्न सकिन्छ ।’


यही बेला मन्दिरको घण्टी बज्यो । केही स्थानीयहरूले मादल बजाएर झयाउरे गाउन थाले । जंगलमा छरिएका कविहरू सिर्जनाकर्मपछि फर्किन थाले । ढुंगाको काप चिरेर बगेको चिसो र कञ्चन पानी पिउँदै ओरालो झरेका स्रष्टाहरू एक घण्टापछि तीनपिप्ले छेवैको ‘वनजंगल’ रिसोर्टमा थकाइ मार्न आइपुग्दा असिनपसिन थिए । वन जंगलकै ओपन स्पेसमा कविहरूले सिर्जना सुनाउन थाले । कवि दीपक लोहनीले तारकेश्वरबाट खुला आकाश हेर्दाको अनूभतिलाई जोडे, प्राज्ञ शशी लुमुम्बुले ‘घामसँगको यात्रा’ लाई बिम्व बनाउँदै कविता सुनाए ।


गणेश बूढाले स्थानीय सम्पदाको महत्त्व दर्साउँदै पाँच मानेमा भएको भोट नेपाल युद्धको इतिहास सम्झाए । यात्रा संयोजकसमेत रहेकी कवि अनिता लामाले पनि स्थानीय पात्र र विषयहरू समात्दै आफ्नै बुताको समृद्धिको वकालत गरिन् । उनले धुलिखेलबाट सुरु भएको जेसुम यात्रा नगरकोट, भक्तपुर अनन्तलिंगेश्वर हुँदै तारकेश्वर आइपुगेको र यस क्रममा तारकेश्वरकै स्थानिय रामबाबु तिमिल्सिनाले पुलको काम गरेको बताइन् । कविता क्रमलाई मंगल बादे, सोम धिमाल, वीरवल तामाङ, सुजाता अधिकारी, बाबु साइँला, सपना महर्जनलगायतले जोडे ।


कविता सुन्ने पंक्तिमा थिए, तारकेश्वर ४ का वडा सचिव कमलनाथ ढकाल, काठमाडौं जिल्ला समन्वय परिषद् सदस्य रघुनाथ तिमल्सिनालगायत । औपचारिक कार्यक्रमपछि तारकेश्वरका मेयर रामेश्वर बोहराले ऐतिहासिक र सांस्कृतिक सम्पदा खोज्दै स्रष्टाहरू आफ्नो थातथलोमा आइपुगेकोमा खुसी साटे ।

प्रकाशित : पुस २९, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?